निरन्तर वर्षाका कारण बाली भित्र्याउन किसानलाई समस्या

कैलालीमा असोज दोस्रो सातामा मौसम सक्रिय भएपछि यहाँका किसानलाई पाकेको धान भित्र्याउन समस्या भएको छ ।

निरन्तर पानी परेपछि धान पाकेर खेतमै कुहिन्छ कि भन्ने किसानलाई चिन्ता हुन थालेको छ । यो समयमा किसान खेतमा हुनुपर्ने भए पनि मौसममा सुधार नभएका कारण किसानलाई समस्या भएको भजनीका नगरपालिकाका रामबहादुर चौधरीले बताए । 

‘मैले १० बिघामा धानखेती गरेका छ, मौसमले साथ नदिँदा धान भित्र्याउन समस्या भएको छ,’ उनले भने । कैलालीका अधिकांश क्षेत्रमा धानको खेती हुन्छ । हिउँदे खेती कम हुने भए पनि बर्खेखेती प्रायः सबै किसानले गर्ने गरेका छन् । 

अहिले दैनिकजसो वर्षा हुने गरेकोले वर्षासँगैको हावाहुरीका कारण धान खेतमै ढल्ने र पानीले तल्लो भाग गलेर पराल पनि काम नलाग्ने भएको छ ।

टीकापुर नगरपालिकाका रतिराम विकले पाँच बिघा जमिनमा धानखेती गरेका छन् । दिनमा मौसम सफा भएपछि उनले धान काटे तर राति परेको झरीले सबै काटेको धान भिजाउँदा अहिले धान र पराल कामै नलाग्ने अवस्थामा पुगेको उनी बताउँछन् ।

‘दिनमा घाम लाग्छ सुक्छ । राति पानी आउँछ फेरि भिजाउँछ’, रतिराम भने, ‘काटेको धान खेतमै सड्ने भयो, नकाटेको झरेर सकिने भयो। मौसम सफा हुने कुनै छाँटकाँट छैन ।’ 





  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १९:१४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया