नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघको चौथो वार्षिक साधारणसभा सम्पन्न

नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीबार गण्डकी प्रदेशका सासंद एवं संघका अध्यक्ष रामबहादुर गुरुङको अध्यक्षतामा नेपाली गलैँचा उद्योगको सम्वद्र्धन, प्रवद्र्धन, विस्तार तथा विकासका योजनाहरुको विषयहरुमा छलफल गर्दै साधारणसभा सम्पन्न भएको हो । 

कोभिड महामारीले निम्त्याएको प्रतिकुल अवस्थामा समेत गलैचा उद्योगहरुले आफ्नो व्यवसायिक गतिविधिलाई निरन्तरता दिई राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउन सफल भएको संघका अध्यक्ष रामबहादुर गुरुङले बताए । गलैँचा उद्योगको विकास र प्रवद्र्धनका निमित्त नेपाल सरकारले थप ध्यान दिएमा उद्योगको दीर्घकालिन विकास हुन सक्ने उनले विश्वास व्यक्त गरे । 
  
नगद अनुदानसम्बन्धी कार्यविधि २०७५ संशाेधनका आधारमा नेपाली गलैँचा व्यवसायीहरुले ५ प्रतिशत मात्र अनुदान रकम प्राप्त गर्ने गरेका छन् । तर कार्यविधिको सार अनुरुप  नेपाली गलैँचाको मूल्य अभिवृद्धि ७० प्रतिशतभन्दा बढी हुने भए तापनि नेपाली गलैँचालाई मुल्य अभिवृद्धि न्यूनतम ३० प्रतिशत हुने वस्तुहरुसँग तुलना गरी कार्यविधिको अनुसूची २ मा उल्लेख गरिएको छ । 

नेपाली गलैँचा क्षेत्रलाई मूल्य अभिवृद्धिका आधारमा थप प्राथमिकतामा राख्न निरन्तर प्रयासरत रहेको संघका महासचिव दावा शेर्पाले जानकारी गराए । नेपाली गलैँचा क्षेत्रलाई कार्यविधिको अनुसूची १ मा उल्लेख गर्न सके गलैँचा व्यवसायीहरुले प्राप्त गरिरहेको अनुदान रकममा वृद्धि हुने सक्ने उनले विश्वास व्यक्त गरे । 

“नेपाल सरकारले कृषि क्षेत्रलाई ऋण प्रदान गर्दै आइरहेको छ, सोहीअनुसार सरकारले गलैँचा क्षेत्रलाई पनि ऋण उपलब्ध गराई गलैँचा उद्योगलाई विस्तार गर्नेतर्फ ध्यान दिनुपर्छ । नेपाली गलैँचा उद्योगले मुलुकमा सिर्जना गरेको रोजगारीको तथ्याङ्क अध्ययन गरेर पनि सरकारले गलैँचा उद्योगको विस्तारको लागि ऋण उपलब्ध गराउनुपर्छ,” संघका उपाध्यक्ष समिकविक्रम शाहको जोड रहेको थियो ।  

नेपाली हस्त निर्मित गलैँचाले अन्तराष्ट्रिय बजारमा राम्रो छाप छोड्न सफल भएको छ । तर राज्यको सही सहयोग र समर्थन नपाएकोले अन्य राष्ट्र सँग प्रतिस्पर्धा गर्न सकेको छैन । नेपाली गलैँचा उद्योगले उचित फाइदा लिन नसक्दा गलैँचा उद्योगका मजदुरहरु लाभान्वित हुन सकेका छैनन् । 

विश्व बजारमा नेपाली गलैँचाको सामूहिक व्यापार चिह्न दर्ताको प्रक्रिया अगाडि बढिसकेको छ । अमेरिका, युरोपियन युनियन र युकेजस्ता राष्ट्रहरुमा नेपाली गलैँचाको सामूहिक व्यापार चिह्न दर्ता गर्ने प्रक्रिया अगाडि बढाएको संघले जनाएको छ ।





  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार २२:११:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया