आमा भएपछि जिन्दगी सकियो भन्ने चिन्ताले खायो

पाँगा दोबाटोको भित्री भेग । कहिल्यै नहिँडेको बाटो । गुगलमा पनि नभेटिने बस्तीका नाम । बोल्न पनि निक्कै गाह्रो भएको मसिनो स्वरले फोनमा दिएको निर्देशन । पहिला त उनको घर पहिल्याउनै निक्कै गाह्रो भयो । घरभित्र पस्दा उनी भुँइमा लगाएको ओछ्यानमा पल्टिरहेकी थिइन् । ढोकाबाट पस्दापस्दै भनिन्, ‘घर पत्ता लगाउन दुःख भयो नि !’

केही महिनादेखि कलाकार पल्पसा डंगोलको दैनिकी आउने र जानेसँग यिनै संवादहरू मिसाएर ओछ्यानमा बितिरहेका छन् । कोही आउँदैछ भन्दा घर भेटेनन् भन्ने छट्पटी हुन्छ । उठेर बाटोसम्म लिन जाने तागत शरीरमा छैन । अलिअलि भएको तागत सञ्चय गरेर राखेकी छन् हप्तैपिच्छे अस्पताल जान । उनी हिजोआज हप्ताको दुई दिन मिर्गौला डायलासिस गर्न अस्पताल जान्छिन् । तिहारपछि मिर्गौला प्रत्यारोपण गर्ने तयारीमा छिन् ।
 
पल्पसाको त्यो शान्त बाल्यकाल 

किर्तिपुर पाँगा दोबाटोमा पल्पसाको बाल्यकाल बित्यो । अर्धचेनतशील समाज । पूर्ण रूपले शिक्षामा जोड दिने परिवार । त्यो समय पनि उनले बोर्डिङ स्कुल पढ्ने मौका पाइन् । घर नजिकै सरकारी स्कुल थियो । स्कुलका संस्थापक सदस्यमध्येका एक थिए- उनका हजुरबुवा । त्यही स्कुलमा उनलाई पनि भर्ना गरिएको थियो । तर, उनले म बोर्डिङ पढ्छु भनेर अड्डी कसेपछि घरभन्दा अलि टाढा बोर्डिङमा हालिएको थियो । उनले त्यहीं बोर्डिङबाट एसएलसी पास गरिन् ।
 
घरमा छोरीहरूको संख्या कम । उनका फूपु पनि थिएनन् । घरकी जेठी छोरी । उनका दुई भाइ थिए । छोरीको महत्व नमान्ने परिवेशमा पनि परिवारमा निक्कै महत्व पाइन् उनले । समाजमा रहेको विभेद परिवारमा देखिएन । त्यसैले पनि पल्पसालाई आफू सानै हुँदा छोरी मन पर्थ्याे । ठूली भएपछि सोच्थिन्, ‘म पनि छोरीकी आमा हुन पाऊँ ।’

कल्चरल डान्स सेन्टरमा अल्झिएको मन

स्कुल पढ्दा नै पल्पसाको भविष्यका खाका स्पष्ट थियो । उनलाई कलाकार बन्नु थियो । त्यो समय नाँच्ने, गाउनेलाई हेर्ने समाजको नजरिया अहिलेजस्तो बृहत थिएन । तर उनको परिवारको सोच फराकिलो । पल्पसा एसएलसीपछि डान्स सिक्न साधना कला केन्द्र पुगिन् । कल्चरल डान्समा विशेष रुचि थियो । कल्चरल डान्स सिक्न हार्दिक कल्चर सेन्टरमा भर्ना भइन् । त्यहाँ उनलाई नारायन प्रधानले डान्स सिकाउँथे । त्यहीं आउँथे प्रधानका भतिज । डान्स सिकाउने गुरुका भतिजसँग पल्पसाको मन अल्झियो ।
 
डान्स सिक्ने क्रममा नै उनीहरूको भेट भइरह्यो । यो भेट प्रेममा परिणत भयो । उनीहरूको अन्तरजातीय प्रेम थियो । त्यसैले पल्पसाले त्यति धेरै वास्ता गरेकी थिइनन् । मन मिल्दै गएपछि जातले पनि रोक्न सक्दैन रहेछ । उनीहरू वैवाहिक जीवनमा बाँधिए । 

नभएको त्यो विदेश मोह



पल्पसा कल्चरल प्रोग्राममा निक्कै हिँड्ने । केही टेलिफिल्ममा पनि अभिनय गरेकी थिइन् । बिहेको करिव ४ वर्ष पुग्दै थियो । टिमसहित कल्चरल प्रोग्राम लिएर पल्पसा युरोप पुगिन् । त्यही टिममा थिए उनका श्रीमान पनि । श्रीमानले भने, ‘पल्पसा बेल्जियम बसौं । यतै केही गरौं । हाम्रो जीवन सुखी हुन्छ ।’

‘अह म यहाँ बस्दिन । म नेपालमै गएर केही गर्ने हो ।’ पल्पसाले आफ्नो निर्णय सुनाइनन् । उनीहरू नेपाल फर्किए । पहिला देखि नै उनका श्रीमानको सपना विदेश थियो । उनको सपना देशमै केही गर्ने, आफैं जन्मेको माटोमा परिचय बनाउने थियो । 



त्यही साल उनका श्रीमानलाई अमेरिकाको डिभी चिट्ठा पर्‍याे । त्यो चिट्ठाले पल्पसाको अनुहारमा खुसी पोत्न सकेन । श्रीमती खुसी नभएपछि उनका श्रीमान पनि निरास भए । सेकेण्ड लेटरका लागि प्रोसेस गरेनन् । तत्कालका लागि अमेरिका जाने खतरा सकियो । तर, यही कुरालाई लिएर श्रीमान श्रीमतीमा सामान्य खटपट भइरहन्थ्यो । 

४ वर्षपछि बच्चाको खुसी

वैवाहिक जीवनले ४ वर्षे यात्रा तय गर्दै थियो । पल्पसा कल्चरल प्रोगाम लिएर युरोप पुगेकी थिइन् । दिनमा ३/४ वटा डान्स गर्नु पर्थ्याे । डान्स जेनतेन गरे पनि स्टेजबाट बाहिर निस्कँदा उनी निक्कै थाकेकी हुन्थिन् । ज्यान लत्रक्क गल्थ्यो । समयमा महिनावारी पनि भएन । उनले त्यही निर्क्याैल गरिन् ‘म आमा बन्दैछु ।’ कार्यक्रममा सँगै गएका श्रीमानलाई सुनाइन् । उनी निक्कै खुसी थिए । त्यो समय टिममा गएका सबैजना घुम्न निस्कन्थे । पल्पसा कतै जान सकिनन् । झण्डै २० दिनको युरोप यात्रा कहिले सकिएला भन्ने भयो । खान मन नलाग्ने, वमिट हुने सिलसिला युरोपबाटै सुरु भयो । 

पल्पसाकी आमा छोरीको बिहे भएको दोस्रो वर्षबाटै नातिनातिना हेर्न हतारिएकी थिइन् । उनी छोरीलाई सम्झाइरहन्थिन्, ‘म हुर्काइदिन्छु । एउटा बच्चा जन्माओ ।’ युरोपबाट फर्किएपछि उनले आमालाई आफू आमा बन्दै गरेको खुसी सेयर गरिन् । त्यो बेला उनकी आमाको अनुहारमा दौडिएको खुसी व्यक्त गर्ने शब्द छैन पल्पसासँग । उनलाई यति थाहा छ ‘मभन्दा धेरै मेरो आमा खुसी हुनु भएको थियो ।

घरमा सासू थिइनन् । ससुरा ओछ्यान परेका थिए । एक साइड प्यारालाइसिस भएका उनका ससुराले भित्री खुसी बाहिर देखाउनन् सकेनन् । उनी अहिले सम्झिन्छिन्, ‘त्यो बेला उहाँलाई कति गाह्रो हुन्थ्यो होला । मनमा भएको भाव बाहिर व्यक्त गर्न नसक्दा आफैंलाई मुस्किल हुँदो रहेछ ।’

१ महिनामै बान्ता

बच्चा पेटमा बसेको दिनबाट उनमा वमिटिङ सुरु भयो । अगाडि खानेकुरा देख्दा पनि डर लाग्थ्यो । उनकी आमाले भनेकी थिइन्, ‘जति बान्ता भए पनि खानु । बच्चाले तिमीले खाएको खान पाउने हो ।’ उनी जति बान्ता भए पनि खाना खान्थिन् । काम पनि छोडिनन् । त्यतिबेला उनी डान्स मास्टर भइसकेकी थिइन् । डान्स सेन्टरमा कल्चरल डान्स सिकाउँथिन् । बच्चा जन्माउने अघिल्लो दिनसम्म उनलाई केही गर्छु भन्ने हिम्मत थियो । यही हिम्मतले काम गरिरहिन् । यो समय उनलाई श्रीमानले पनि निक्कै केयर गरे ।
 
त्यो दिन पल्पसा डान्स सिकाउन स्कुल निस्कने तयारीमा थिइनन् । उनकी आमा छोरी हेर्न पुगिन् । छोरीको अनुहार हेरेर आमाले भनिन्,‘नानी तँ कहाँ जान तयारी भाकी ?’ ‘स्कुल !’ उनले छोटो जवाफ फर्काइन् । ‘तेरो आँखा झरिसक्यो । अब बच्चा जन्माउने बेला भयो स्कुल जानु हुँदैन ।’
आमाको कुरामा उनलाई विश्वास लागेन । भनिन्, ‘मलाई केही भएको छैन । स्कुल गएर आउँछु ।’  

आमाले हुँदैहुँदैन भनेर जान रोकिन् । त्यसको केही समयपछि उनलाई लेवर पेन सुरु भयो । उनी पाटन अस्पताल भर्ना भइन् । त्यो दिन दिनभरि सुत्केरी व्यथा लाग्यो । लाग्ने छोड्ने व्यथाले निक्कै सतायो । उनलाई आमाले भनेकी थिइन्, ‘एकदमै धेरै दुखेपछि मात्रै बच्चा जन्मन्छ ।’ तर, दुखाइको अन्तिम बिन्दु कहाँ हो ? केले नाप्ने ? उनी व्यथाले च्याँप्दै जाँदा सोच्थिन्, ‘मलाई अझै धेरै दुखोस् । जति धेरै दुख्यो त्यति छिटो बच्चा जन्मन्छ र मैले यो दुखाइबाट मुक्ति पाउँछु ।’ रातको दुई बजे उनले छोरीलाई नर्मल रूपमा जन्म दिइन् । छोरीले पहिलो पटक उनलाई आमाको रूपमा जन्माइन् । ‘बच्चा जन्माउनु भनेको आमा पनि जन्मनु रहेछ’ पल्पसाले त्यहीं बेला महसुस गरिन् । 

बच्चा स्पर्शको त्यो तातो जिन्दगीभर 

उनको सपना छोरीको थियो । पहिलो पटक छोरीलाई जन्म दिइन् । उनलाई लागेको थियो ‘म संसारकै भाग्यमानी आमा हुँ ।’ जब उनले पहिलो पटक आफ्नो बच्चा स्पर्स गरिने त्यो स्पर्शले प्रदान गरेको न्यानोपन आज पनि उसैगरी महसुस हुन्छ उनको छातीमा । उनको छातीमा छोरी थिइन्, डेलिभरीका क्रममा खुलेको पाठेघरको मुखमा स्टिज लगाउने काम भैरहेको थियो । त्यो दुखाइ प्रसव व्यथाकाे भन्दा पनि भयंकर थियो । त्यतिबेला उनले सोचिन्, ‘यो छोरीले पनि मैले झैं यही दुःख भोग्नु पर्छ । बरु छोरो भएको भए सुख पाउने रहेछ ।’

आमाका दुःख यही कहाँ सकिने रहेछन् र ? पहिलो पटक आमा भएकी उनलाई बच्चालाई दूध चुसाउनु थियो । जसोतसो उनले स्तन चुसाउन जानिन् । बच्चाले दुध चुस्न जानेन । स्तनबाट दुध आएन । नर्सले दूध निचर्ने हुँदा उनको स्तनको मुन्टा फुटेर रगत बग्यो । ‘त्यो दुःख पनि सामान्य लाग्दो रहेछ बच्चाको खुसीका अगाडि’ पल्पसाले सुनाइन् । 

करिअर सकियो भन्ने चिन्ता

घरकी एक्ली छोरी पल्पसा ।  माइत जाँदा सधैं एक्लै हुने । उनी भन्थिन्, ‘म ५ वटा छोरी जन्माउँछु ।’ यो त लहडको कुरा मात्रै रहेछ । पहिलो छोरी जन्मिएपछि नै उनलाई लाग्यो, ‘अब मेरो करिअर सकियो । म अब केही गर्न सक्दिनँ । मेरो जिन्दगी सकियो ।’ यही चिन्ताबाट माथि उठेर उनले निर्णय गरिन् ‘म अब केही गर्दिन । बच्चा हेर्छु ।’

यो पनि उनको सोचाइ थियो । उनले छोरी हुर्काउन करिअर छाेड्नै परेन । उनकी आमाले ‘तिमी आफ्नो करिअर अगाडि बढाउ । बच्चा म हुर्काउँछु’ भनिन् । दिनभरि उनकी आमाले नातिनीको स्याहार गर्थिन् । रातमा पनि श्रीमानले सहयोग गर्थे । छोरी सजिलै हुर्किइन् । छोरी हुर्काउँदाको दुःख महसुस नै गर्न पाइनन् ।
 
दुखाउने पहिलो विछोड

छोरी जन्मिएपछि पल्पसाको व्यस्तता झन् बढ्दै गयो । उनले छोरीलाई सानै उमेरमा मन्टेस्वरी भर्ना गरिदिइन् । पहिलो पटक छोरी मन्टेस्वरीमा छोडेर फर्किँदा उनको मन निक्कै भारी भएको थियो । मन्टेस्वरीको गेटबाट फर्किँदै हेर्दै छोरी रोइन् । फर्किएर नहेरे जसरी आमा रुँदै घर फर्किन् । त्यतिबेला पल्पसालाई लागेको थियो, ‘मेरो शिरमाथि ठूलै पहाड झरेको छ ।’ यो क्रम निक्कै दिनसम्म चल्यो । बिस्तारै छोरी मन्टेस्वरीका साथीसँग रमाउन थालिन् । छोरीले तोते बोलीमा ‘स्कुल जाने’ भन्न थालेपछि भने उनले पनि मुस्कुराउँदै छोरी छोडेर फर्किन सकिन् ।


 
५ महिनाको गर्भावस्थामा अप्रेसन

छोरी हुर्कँदै गर्दा उनलाई लाग्यो ‘यो छोरीलाई साथी चाहिन्छ ।’ प्लानिङमै उनी दोस्रो पटक गर्भवती भइन । उस्तै उस्तै सिम्टम्सहरू, अप्ठ्याराहरू आए । कसरी सामना गर्ने पहिलो पटक नै जानिसकेकी थिइन् । गर्भावस्थाको ५ महिना लाग्दै थियो एक्कासि उनको पेट दुख्यो । चेकअप गराउँदा अण्डासयमा ट्युमर देखियो । बीचमै अप्रेसन गर्नुपर्छ भनेर डाक्टरले सुझाए । उनी निक्कै डराइन् । भनिन्, ‘बच्चा जन्मने बेलानै अप्रेसन गर्दा हुँदैन ?’  डाक्टरले भने, ‘अण्डासयमा भएकाले पहिला नै अप्रेसन गर्नुपर्छ ।’

बच्चा पेटमा हुँदा सामान्य औषधि पनि सेवन नगर्नु भन्ने समाज । पेटमा ५ महिनाको बच्चा । उनी अप्रेसनको लागि तयार भएकी थिइन् । अहो ! त्यो बेलाको प्रेसर, डर । अहिले पनि आङ जिरिङ हुन्छ पल्पसाको । अप्रसेनको समयभन्दा धेरै त्योपछि बच्चा नजन्मिँदासम्मकाे समयमा भयो । उनलाई लाग्थ्यो, ‘यति धेरै औषधि खाएको छु । मेरो बच्चा कस्तो जन्मिन्छ होला ? कतै मेरो बच्चा अपांग पो हुने हो कि ?’ यस्तै डरले गर्भावस्थाका कयौं रात अनिदा बिते । तर, दोस्रो पटक पनि उनको नर्मल डेलिभरी भयो । स्वस्थ छोरी जन्मिइन् । गर्भावस्थामा औषधि नै खानु हुँदैन भन्ने समाजको भ्रम पनि सकियो । 

दोस्रो पटक पनि छोरी भएपछि परिवारका सदस्यले नाक खुम्चाएका थिए । कतिले ‘तेस्रो पटक पनि ट्राइ गर्नुपर्ने भयो’ पनि भने । पल्पसा भने दुई सन्तानमा खुसी थिइन् । उनलाई छोराछोरी बराबरी थियो । ठूली छोरीको दाँजोमा सानी छोरी हुर्काउन उनलाई अलि गाह्रो भयो । सानी छोरी बिरामी परिरहन्थिन् । अस्पताल धाइरहन पर्थ्याे । तर सन्तान हुर्काउँदा पाएको दुःख एउटी आमाका लागि सम्पत्ति हुँदो रहेछ । दुःख पनि मिठो हुँदो रहेछ । जीवनको त्यो बिन्दुमा पल्पसाले आर्जन गरेको ज्ञान यही हो । 

कान्छी छोरी ३८ दिनकी भएपछि सुरु भयो पल्पसाको हाँस्ययात्रा । उनले पहिलो पटक मेरी बास्सैमा अभिनय गर्दा उनकी छोरी ३८ दिनकी थिइन् । यही यात्राले पल्पसाको परिचयमा थपिदियो ‘चम्सुरी’ । अहिले पनि उनलाई धेरै दर्शकले ‘चम्सुरी’ भनेर चिन्दछन् ।
 
बच्चा छोडेर काममा निस्कनु पनि गाह्रो काम थियो । उनी हरेक कामको समय बिहानको ८ बजेपछि मात्रै लिन्थिन् । छोरीहरू स्कुलमा छोडेर काममा जान्थिन् । स्कुलबाट घर लैजान आफैं आइपुग्थिन् । टेलिसिरियल वृत्तमा उनका साथीहरूले हल्ला गरिदिए, ‘यो सधैं काममा ढिलो आउँछे ।’ यो हल्लाले उनलाई छुँदैनथ्यो । ‘मुख्य कुरा कामप्रतिको इमान्दारिता हो । मेरो बच्चा मेरो जीवनको प्राथमिकता हुन् । इमान्दार भएर मैले मेरो दुबै भूमिका निर्वाह गरेको हुँ ।’

छोरीहरूको एक्लो जिम्मेवारी

छोरीहरू हुर्किँदै थिए । पल्पसाको करिअरको ग्राफ उकालो लाग्ने क्रममै थियो । उनका श्रीमानलाई विदेश मोहले छोड्न सकेन । श्रीमानको विदेश यात्रापछि दुबै छोरीको सम्पूर्ण जिम्मेवारी उनी आफैंले उठाइन् । एक्लो जिम्मेवारीले पनि उनलाई गलाउन सकेन । छोरीहरू आफ्नो काखमा हुँदा सबै संघर्ष बिर्सिहाल्थिन्।
 
सानी छोरी ६ वर्ष लाग्दै थिइन ।  रोगले गाल्यो । उनलाई काम ज्वरो आउँथ्यो । आफैं ठिक हुन्थ्यो । यो क्रम निक्कै दिन चल्यो । अस्पतालमा चेकअप गराउँदा सुरुमा ‘युटिआई’ देखियो । यसपछि उनलाई प्रेसर भयो । त्यसपछि उनले डा. सुनिल चन्द्र झालाई देखाउन थालिन् । झाले चेकअपका क्रममा भने, ‘क्रेटिना अलि बेसी छ । एकपटक मिर्गौला चेकअप गराऔं ।’ डा. झाले अर्का डाक्टर महेश सिग्देललाई सिफारिस गरिदिए । मिर्गौलाको चेकअपपछि डाक्टरले भने, ‘मिर्गौलाको रोग भनेको निको हुने रोग होइन । अब यसलाई कसरी बचाउन सकिन्छ त्यहीं गर्ने मात्रै हो । आफ्नो किड्नी कति वर्ष जोगाउने तपाईंकै हातमा छ ।’ यसपछि उनलाई थाहा भयो ‘मेरा मिर्गौला बिरामी छन्।’ 

आफूभित्र आँधी बोकेर हिँड्दा

दुबै मिर्गौला आंशिक रूपमा बिरामी छन् । यो जानकारीसँगै आँखा भरिभराउ भएर आए । बुढा भएका बा-आमा । कसैलाई पनि सुनाउने हिम्मत आएन उनमा । सोचिन, ‘मलाई पीडा भयो । यसले किन अरूलाई दुःख दिनु ?’ डाक्टरले भनेका सबै नियम पालना गरिन् । नियमित चेकअप गराइन । 

आफूबाहेक कसैलाई भनिनन् आफ्नो रोगको खबर । 

कहिलेकाहीं अस्पताल भर्ना भएर बस्नु पर्थ्याे । उनी कहिले सुटिङमा भनेर त कहिले आफन्तकोमा भनेर अस्पताल भर्ना भएर बस्थिन् । अस्पतालमा उनलाई डाक्टर, नर्सले भन्थे, ‘कुरुवा नचाहिने बिरामी ।’ मरिन्छ कि भन्ने डर मनभित्र मडारिन्थ्यो । छोरीहरूका अनुहारमा हेर्थिन् । ठूली छोरीले गरेर खान सक्छे भन्ने हुन्थ्यो । म मरेँ भने सानी छोरीको हालत के होला भन्ने पीरले सताउँथ्यो । उनी रातभरि रुन्थिन् । उनका सुनिएका आँखाका डिल हेरेर छोरीहरूले प्रश्न गर्थे, ‘मामु रुनु भएको हो ?’ छोरीहरूलाई साँचो कुरा भन्ने हिम्मत आउँदैनथ्यो । झुटो जवाफ दिन्थिन् । सानी छोरीलाई काखमा लिन्थिन् । कपाल मुर्साथिन् र भन्थिन्, ‘छोरी म मरिहाले भने तिमीले पीर गर्नु हुँदैन । दिदी छ । आमा हुनुहुन्छ । राम्रोसँग पढ्नु है !’ बिचरा बालखलाई के थाहा आमाको मनको हुण्डरी । उनी रिसाउँदै भन्थिन्, ‘मर्ने कुरा नगर्नु है मामु ।’ सबैभन्दा गाह्रो त आफैंलाई सम्झाउँनु रहेछ । भित्रभित्रै भक्कानो फुटाएर आँसु झार्न नपाउँदाको पीडा कस्तो हुन्छ त्यो राम्रोसँग थाहा छ उनलाई । 

पैसाको जोहोमा आफैं

उनलाई थाहा थियो जति ख्याल गरे पनि एकदिन अप्रेसन गर्नुपर्छ । मिर्गौला प्रत्यारोपण गर्नुपर्छ । उनले सोचिन्, ‘हिम्मत हार्नु हुँदैन । अप्रेसन गर्नुपर्ने दिनका लागि मैले पैसा जम्मा गर्नुपर्छ ।’ बिरामी मिर्गौला लिएर उनले झन् धेरै काम गरिन् । उनले मुख बारेको देखेर साथीले सोध्थे, ‘के भएको छ तिमीलाई ?’ उनी जवाफ दिन्थिन्, ‘पिसाबको इन्फेक्सन, मुख बार्नु भनेको छ डाक्टरले ।’ 

छेउमा बसेर छोरीका कुरा सुनिरहेकी पल्पसाकी आमाका मन भक्कानिन्छ । उनले पनि आँसु झार्न सक्दिनन् । भक्कानिएको आवाजमा भन्छिन्, ‘सानामा यसले सानासाना कुरा पनि भन्थी । ठूली भएपछि त यति ठूलो कुरा पनि भनिन् । यतिका समय यत्रो कुरा नभनी बस्न कसरी सकेको यसले ।’ त्यसपछि कोठामा केही क्षण मौनता छाउँछ । 

कोरोनाका कारण डा. झाको निधन भयो । त्यसपछि उनलाई अस्पताल जान मन लागेन । ४ महिना उनी अस्पताल गइनन् । मिर्गौला रोगीले धेरै पानी खान नहुने  । उनमा पानीको मात्रा धेरै भएछ । निमोनिया भएको थाहा पाइनन् । सुत्न सक्दिनथिन् । तैपनि उनले कसैलाई भनिन् । १० दिनसम्म उनले ओछ्यानमा अडेस लागेर काटिन् । 

अन्ततः अस्पताल भर्ना हुनु पर्‍याे । त्यसपछि सबैलाई थाहा भयो । सबैमा सन्नाटा छायो । सबैका आँखामा आँसु थियो । सबैकाे भन्दा धेरै गाह्रो भयो उनलाई छोरीका आँखाका आँसु हेर्न । उनकी ठूली छोरी निक्कै दिन बोल्न सकिनन् । मुखमा हेर्थिन, बरर आँसु झार्थिन अनि भन्थिन्, ‘मामु पीर नगर्नु तपाईंलाई किड्नी म दिन्छु ।’ उनलाई झन् धेरै पीडा हुन्थ्यो । यसबेला भने उनलाई रुने छुट थियो । रुँन पाउँदा पनि मनको आधा बोझ हल्का हुँदो रहेछ । पल्पसाले बल्ल महसुस गरिन् । 

  • प्रकाशित मिति : असोज १६, २०७८ शनिबार ७:४३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया