स्केच
सम्झना छ- एक दिन
मेरो मेचमा बसीबसी
चुरोटको बट्टामा तिमीले
एक स्केच बनाएका थियौ
आएर हेर त
त्यो बिरुवामा फूल फुलेको छ !
ल्यान्डस्केप
टाढा सुनसान-पोखरी नजिक
एउटा जवान रूखसँगै
उमेरको पीडा भोगिरहेको समय
मटमैलो दोसल्ला ओढेर
बुढो पामको एक रूख
उभिइरहेको छ पहिल्यैदेखि
सयौं वर्षको एकाकीपनपछि
झुकेर भन्छ जवान रूखसँग- ‘यार !
एकाकीपन छ ! केही कुरा गर !’
एकछिन पर्ख, पर्दा नखसाऊ
अहिले पर्दा नखसाऊ, पर्ख
अझै बाँकी छ कथा
अहिले पर्दा नखसाऊ, पर्ख !
भर्खरै त फुटेको छ काँचो माटो,
अहिले त केवल शरीर ढलेको छ
अहिले त मात्र पराजित भएको छ पात्र ।
बल्ल अब सल्किन थालेका छन् मनका पीडाहरू,
बल्ल अब धड्कन थालेका छन् मनका चोटहरू
अहिले त ज्यूँदैछ संवेदना ।
जोगाऊ, यो आगो
थकित भएर जो झरेको छ भर्खरै पात्रको हातबाट
यो आगो जोगाऊ, यहीँबाट सुरू हुनेछ नयाँ यात्रा
पुनः आँधी बनेर ।
यहीँबाट उठ्नेछ फेरि कुनै पात्र यही उज्यालो बोकेर
भेटिनेछ पक्कै पनि गन्तव्य कहीँ न कहीँ
अहिले पर्दा नखसाऊ पर्ख एकछिन ।
(सन् १९३६ मा जन्मिएका गुलजार भारतका प्रसिद्ध कवि तथा गीतकार हुन् । उनका फिल्मी गीतका साथै पटकथा र निर्देशन पनि प्रख्यात छन् ।)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।