मिटू अभियान
रेखा थापाको ब्लग: आउनुहोस् मिटू अभियानमा जुटौँ

हाम्रो समाजको स्वरुप अचम्मको छ । हाम्रो मात्र होइन, पुरुषको पक्षमा विश्वकै समाज अडिएको अहिले आभास हुन थालेको छ । विडम्बना ! ती पुरुषहरु पुरुषमात्र रहेछन्, मानिस रहेनछन् । त्यसैले पनि अहिले विश्वमै भलाद्मी भनिएकाहरुको नकाव खोलिँदै छ, खुल्दै गएको छ ।

यसरी भलाद्मीपनाको नकाव खोलेर मानिसको असली चेहेरा देखाउने काम गरेको छ मिटू अभियानले । यसले पुरुषको वास्तविक चरित्रलाई बाहिर ल्याउन सहयोग गरेको छ । र, अब संसारलाई थाहा भएको छ, हाम्रा छोरीचेलीहरु निकै धेरै शोषणमा परेका रहेछन् । विश्वमा नै कथित् भलाद्मीहरुको बाहुल्यता भएको कुरा अब आश्चर्यमा मात्र सिमित रहेन ।

अब यसलाई खुसीका रुपमा लिनुपर्छ कि नेपालमा पनि मिटू अभियानमा महिलाहरु सहभागि हुन थालेका छन् । यो सकारात्मक पक्ष हो । अझ दुव्र्यवहार, यौन दुव्र्यवहार भोगेकाहरु, शोषणको शिकार भएकाहरु सबैले साहस जुटाएर यो अभियानमा सहभागि हुनुपर्छ । र, दीर्घकालीन रुपमा यस्ता अन्यायबाट हामीले छुटकारा पाउने योजना बनाउनु पर्छ, कोही पनि अन्यायमा बसिरहनु हुँदैन ।

यो अभियानलाई कति प्रभावकारी बनाउनु जरुरी छ भने यसअघि शोषण गरेकाहरुले सजाय पाउनुपर्छ, अब कसैले शोषण गर्ने मात्र सोच्यो भने पनि उनीहरुले सय पटक त्यसबारे सोच्नु पर्ने बनोस् र त्यस्ता कुकृत्यबाट उनीहरु अलग रहुन् । एउटा किशोरी, महिला अर्थात् युवतीलाई कसैले पनि नराम्रो नजरले हेर्न नसक्ने समाज हाम्रो बनोस्, हाम्रा छोरी, नातिनीहरुले दुव्र्यवहारको सामना गर्नै नपरोस् ।

अहिले पीडितहरुले बोलिदिएको खण्डमा मात्र भोलिको पुस्ताले राम्रोसँग आफूलाई समाजमा उभ्याउन सक्छ । अन्यथा भोलि पनि अपराधका घटना बढिरहेका हुनेछन्, भोलि पनि अपराधले प्रश्रय पाइरहेको हुनेछ । 

जो हामी पीडामा परेका थियौँ, हामी चुपचाप बस्नु भनेको अपराध गर्नेलाई हौसला दिनु हो । अपराधीलाई हौसला दिनु वा सचेत गराउन नसक्नु हाम्रो कमजोरी ठहरिनेछ । यसको अर्थ हिजो हामी पीडामा परे पनि अहिले अपराधीलाई सजाय दिँदैनौँ भने हामी पनि अपराधीसरह हुने छौँ । त्यसैले नबोल्नु अहिलेको समाधान होइन, नबोल्दा नै हामीले आफूमाथिको अत्याचारलाई प्रोत्साहन गरिरहेका हुन्छौँ । त्यसो नगर्नु नै समुन्नत समाजको निर्माणमा लाग्नु हो ।



पितृसत्तात्मक हाम्रो समाजमा महिलाहरु शोषित भएको कुरा कसैबाट छिपेको छैन । जहाँ शोषण छ, त्यहाँ आवाज उठाउनु पर्छ । आवाज उठाएमात्र भइरहेको विभेदबाट मानिस बाहिर निस्कन सक्छ, आवाज उठाएमात्र अन्याय हट्न सक्छ र हामीले न्याय पाउन सक्छौँ । अन्यायलाई विस्थापन गर्न पनि हामीले धेरै काम गर्नु पर्ने हुन्छ । अन्याय जहाँ हुन्छ, त्यहाँ विकास सम्भव हुँदैन ।

त्यसैले हामीले सोच्नु पर्ने हुन्छ, दुव्र्यवहार वा अन्यायविरुद्ध बोल्दा हामीलाई कसैले जित्न सक्दैन, हामीलाई कसैले कमजोर सोच्न सक्दैन । आखिर हामीले पढ्दै आएका छौँ, सत्यको सधैं जित हुन्छ । त्यही जितका लागि भए पनि हामीले अगाडि बढेर आफूमाथिका अन्यायविरुद्ध आवाज उठाउनु पर्छ ।



यसका लागि सबैले आआफ्नो क्षेत्रबाट काम गर्नु पर्ने हुन्छ । मैले अहिलेसम्म निर्माण, अभिनय तथा निर्देशन गरेका फिल्महरुमा महिलाको दबिएको आवाजलाई बाहिर ल्याउने प्रयास गरिरहेकी छु । अब केही समयपछि प्रदर्शन आउने मेरो फिल्म ‘मालिका’मा पनि मैले यही विषयलाई उठाएकी छु । हाम्रो समाजमा महिलामाथि भइरहेका हिंसालाई अन्त्य गर्ने आवाजलाई मूल कथा बनाएर नै ‘मालिका’ तयार भएको हो ।

‘मालिका’मा महिलामाथि हुने शारीरिक, मानसिक र यौनजन्य हिंसाको विषय उठान भएपनि विषयवस्तु र परिवेश निकै सशक्त छ । मैले ‘मालिका’मा सबै महिलालाई ‘विगतलाइ सम्झेर नबाँच, विगतमा भएका अप्रिय घटनाले मान्छेलाई निरास मात्र बनाउँछ, आफूसँग भएका दुःखको कथा दुनियाँलाई सुनाइदेउ ताकि तिम्रो कथा सुनेर मान्छेहरुले सिक्न सकून्, डरमा नबाँच,’ भन्ने विषयलाई प्रस्तुत गरेकी छु ।

यतिमात्र होइन, ‘छोरी प्राथमिक कुरा होइन । प्राथमिक कुरा त तिमी मान्छे भएर जन्मनु हो । एउटी महिलालाई यो पृथ्वीमा बाँच्न पाउने अधिकार त्यति नै छ जति एउटा पुरुषलाई छ ।’ भन्ने विषयले पनि ‘मालिका’मा प्राथमिकता पाएको छ ।

‘मालिका’ हेरेपछि कुनै पनि किसिमको दुव्र्यवहार र विभेदमा परेकी एउटी नारी ‘मिटू अभियान’मा सहभागि हुने साहस बटुल्नेमा म विश्वस्त छु ।

एकातिर हिंसा, अन्याय र विभेद तथा दुव्र्यवहारविरुद्ध आवाज उठाउनु पर्ने यो सही समय भएको छ भने अर्कोतिर यो अभियानलाई केही मानिसहरुले नकारात्मक टिकाटिप्पणी पनि गरिरहेका छन् । मलाई यस्ता नकारात्मक टिप्पणी गर्नेहरुमाथि दया लागेर आउँछ । के उनीहरु अझै पनि महिलामाथि हिंसा हुनु पर्छ भन्ने पक्षमा छन् ?

अभियानका विरोधी तथा आलोचकहरुले यो प्रश्नको उत्तर दिनु पर्छ ।

अन्यथा सबैजना ‘मिटू’ अभियानमा सहभागि हुनुपर्छ, सबैले यो मौकालाई सदुपयोग गर्नुपर्छ । म त अनुरोध गर्न चाहन्छु– आउनुहोस् मिटू अभियानमा जुटौँ ।

  • प्रकाशित मिति : कात्तिक १०, २०७५ शनिबार १०:२४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया