माओवादी केन्द्र सुनसरीको विवाद मिलाउन जिम्मेवारी हेरफेर

माओवादी केन्द्र सुनसरीमा चरम विवाद भएपछि नेताहरूको जिम्मेवारी हेरफेर गरिएको छ ।

माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक योगेन्द्र मण्डललाई संयोजकबाट हटाएर सहइन्चार्ज बनाइएको छ भने उनको स्थानमा सुरेन्द्र मेहतालाई ल्याइएको  छ ।

मेहताले पार्टीको गतिविधि मन नपरेको भन्दै केही समयअघि पार्टीबाट राजीनामा दिएका थिए । जिल्ला समन्वय समितिको संयोजक रहेका मण्डललाई कार्यकारी पदबाट हटाएर सहइन्चार्ज बनाएकोमा केही माओवादी कार्यकर्ताले कारबाही ठानेका छन् भने कतिपयले बढुवा भएको दाबी गरेका छन् ।

पार्टी विधानविपरीत गतिविधि गरेको भन्दै प्रदेश कमिटीले मण्डललाई  ४८ घण्टे लिखित स्पष्टीकरण सोधेको  थियो । उनले प्रदेश कमिटीलाई हिजै स्पष्टीकरण बुझाएका थिए । मण्डलले स्पष्टीकरण ​ बुझाएपछि प्रदेश कमिटीले माओवादी केन्द्र सुनसरीको विवाद साम्य पार्न अन्य नेताहरूको जिम्मेवारीसमेत हेरफेर गरेको हो ।  

जुनियरलाई इन्चार्ज र आफूलाई सहइन्चार्ज बनाएकोमा असन्तुष्ट बनेका मुक्साहाङ्ग मेन्याङ्वो मुकेशलाई प्रदेश अन्तर्गत नेपाल आदिवासी जनजाति महासंघ र जनजाति संस्थाहरू  हेर्ने संयोजकको भूमिका दिइएको छ ।

यसअघि जिल्ला इन्चार्जमा निर्मल बराललाई तोकेपछि माओवादी केन्द्रमा विवाद उत्पन्न भएको थियो ।​ सिनियर नेता हुँदाहुँदै जुनियरलाई जिल्ला इन्चार्ज बनाएको भन्दै माओवादी सुनसरीमा दुई पक्ष संघर्ष सुरु भएको थियो ।



सिनियर नेता मेन्याङ्वोलाई सहइन्चार्ज र निर्मल बराललाई इन्चार्ज बनाएको भन्दै संयोजक मण्डलसहितका नेताहरूले मुक्साहाङ्गलाई केन्द्रीय सदस्य बनाउन भन्दै प्रदेश कमिटीमा ज्ञापनपत्र बुझाएका थिए ।

यति मात्रै होइन इन्चार्ज र सहइन्चार्जको उपस्थितिबिना नै मण्डलसहित ४२ जना जिल्ला समन्वय समितिका सदस्यहरूले हस्ताक्षर गरेर जिल्लामा जिम्मेवारी बाँडफाँड गरेका थिए ।



उनीहरुले क्षेत्रीय कमिटीको इन्चार्ज सहइन्चार्ज, उपमहानगर र नगरको इन्चार्ज सहइन्चार्जको जिम्मेवारी दिँदै प्रदेश कमिटीमा अनुमोदनका लागि पठाएका थिए ।

इन्चार्ज  र सहइन्चार्जबिना नै पार्टी विधानविपरीत जिम्मेवारी​ तोकेको र अराजक गतिविधि गरेको भन्दै निर्मल बरालसहितको माओवादीको समूहले  संयोजक मण्डललाई कारबाहीको माग गरेको थियो ।

कारबाहीको मागपछि प्रदेश कमिटीले मण्डललाई ४८ घण्टे लिखित स्पष्टीकरण माग गरेको थियो । यस्तै, संयोजकले बाँडफाँड गरिएको जिम्मेवारी​समेत खोसिएको थियो ।

नयाँ जिम्मेवारी​मा कसलाई  के?

प्रदेश कमिटीको बैठकले प्रतिनिधिसभा क्षेत्र नम्बर १ को इन्चार्जको जिम्मेवारी जसकुमार राई, सहइन्चार्जमा सावित्रा चौलागाईं र अशोक राईलाई दिएको छ । यस्तै, संयोजकको जिम्मेवारी भने पूर्णबहादुर भुजेललाई दिइएको छ ।

क्षेत्र नम्बर २ को इन्चार्जमा चन्द्रकुमार चौधरी  इन्चार्ज  सपना परियार र संयोजकको भूमिकामा  उमेश शाहलाई दिइएको छ । यसैगरि क्षेत्र नम्वर ३ को  इन्चार्जको जिम्मेवारी  भानु मैनाली सह इन्चार्जमा राजन काफ्ले र संयोजक  हैदर अलीलाई बनाइएको छ ।

४ नम्बर क्षेत्रमा भने नरेन्द्र बस्नेतलाई इन्चार्ज जाकिर हुसेन र राजन कटुवाल सहइन्चार्जको जिम्मेवारी दिइएको छ  । यसैगरी, प्रदेश कमिटीको बैठकले इटहरी उपमा कमिटीको इन्चार्जको जिम्मेवारी अनिता परियारलाई दिएको छ ।

योगेन्द्र मण्डलसहितको समूहले इन्चार्ज बनाएको मदन चुडाललाई सहइन्चार्जको जिम्मेवारी दिइएको छ । धरानमा पनि यसअघि इन्चार्ज बनाइएका चोत्लुंगलाई सहइन्चार्ज बनाउँदै आइन्द्र बिक्रम बेघालाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

पार्टी जिल्ला इन्चार्ज बरालले प्रदेश कमिटीले सबै नेताहरूलाई उचित जिम्मेवारी दिएकाले विवाद समाधान भएको बताए । उनले सबै नेताहरूको माग प्रदेश कमिटीले सम्बोधन गरेकाले अब पार्टी एक ढिक्का भएको प्रतिक्रिया दिए ।  

  • प्रकाशित मिति : असोज १६, २०७८ शनिबार १३:५६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया