फेरी हिंसाको बाटोतर्फ लम्कँदै प्रचण्ड, भने– देशैभर एमालेसँग प्रतिवाद नगरी चुनाव जितिँदैन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग प्रतिवाद गरेर अघि बढ्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । 

अध्यक्ष दाहालले एमाले नेता तथा कार्यकर्तालाई जाली र फटाहाको संज्ञा दिँदै उनीहरुको प्रतिवाद नगरी आगामी निर्वाचन जित्न नसकिने निष्कर्ष समेत सुनाए । 

पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले अवको डेढ वर्ष एमाले गणतन्त्रविरोधी, संघीयता विरोधी रहेको भन्दै जनतामा जान पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । 

गणतन्त्र र संघीयता विरोधी भन्यो भने एमालेजस्तो जाली–फटाहा भएको पार्टी थरर्र काम्ने र जनताले आफ्नो पार्टीलाई निर्वाचनमा जिताउने अध्यक्ष दाहालको दावी गरे । 
अध्यक्ष दाहालले आफ्ना पार्टीका लडाकु कार्यकर्तामाथि एमालेले आक्रमण गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसो गरियो भने आफ्नो पार्टीले एमालेविरुद्ध देशभर प्रतिवाद गर्ने चेतावनी समेत दिए । 

‘केपीको हातमा नेतृत्व छ र उनले फेरी एकचोटी माओवादीलाई सखाप गर्ने रणनीति लिएका छन् । उनले डेढ वर्ष भित्र हामी सरकारमा जान्छौ भनेका छन् । देशैभर एमालेसँग प्रतिवाद नगरी चुनाव जितिँदैन । यी जाली फटाहाहरुले अहिले हामीलाई हेप्न खोजेका छन नि । तिनको सातो खाने । पहिला आयो है माओवादी भनेपछि जाली फटाहा थरर्र हुन्थे । छाती खोलेर भन्नु हामीले ल्याएको हो गणतन्त्र । हामीले बनाएको हो संविधान । यिनीहरु विरोधी हुन भन्दै हिँड्नुहोस्,’ अध्यक्ष प्रचण्डले भने । 

अध्यक्ष दाहालले देशको रक्षा गर्न, संविधानको रक्षा गर्न र गणतन्त्र बचाउनका लागि पनि एमालेविरुद्ध सशक्त ढंगले अघि बढ्नुपर्ने तर्क राखेका थिए । उनले केपी शर्मा ओली एक्लै केही नभएको समेत बताए । 



अध्यक्ष दाहालले केपी ओलीले छलकपटको बाटो लिएपछि उनीविरुद्ध पार्टी हेर्डक्वाटरमै बमबारी गर्नु परेको दोहो¥याए । काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले धेरै दुःख गरेको बताउँदै उनले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा विजयी भएसँगै आफू खुसी भएको प्रतिक्रिया दिए । 

अध्यक्ष दाहालले एमालेसँग पार्टी एकता गर्नु सही भएको पटक पटक दोहोर्‍याएका थिए । तर ओलीको जालझेल सहन नसकेपछि आफूहरुले पार्टी भित्रैबाट विद्रोह गर्नु परेको उनले स्पष्ट पारे । 
 



  • प्रकाशित मिति : असोज १६, २०७८ शनिबार १६:१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया