मध्यरातमा नदीमा पसेर उद्धार गर्ने तीन साहसी प्रहरी सम्मानित

कैलाली प्रहरीले सशस्त्र प्रहरी बलका तीनजना गोताखोर कर्मचारीलाई सम्मान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ७ बाहिनी मुख्यालय, अत्तरिया, कैलालीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक वीरेन्द्र कार्की, जवानद्वय हरिश भट्ट र तिलक लामालाई सम्मान गरिएको हो ।

शनिबार जिल्ला प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै तीनैजनालाई कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले सम्मान स्वरूप प्रशंसा–पत्र प्रदान गरेका हुन् । 

गएको भाद्र १८ गते जिल्लाको गोदावरी नगरपालिका–१ बस्ने १० र १४ वर्षका दुई बालक बेपत्ता भएका थिए । उनीहरूको खोजतलास गर्दै जाँदा राति मनहरा नदीको किनारमा कपडा फेला परेका थिए ।

त्यसपश्चात् जिल्ला प्रहरी कार्यालय, कैलालीको अनुरोध र समन्वयमा परिचालित भई राति करिब साढे १ बजेको समयमा समेत नदीमा पसी अथक प्रयासका साथ खोजतलास गरिएको थियो । ती बालकको शव उद्धारमा प्रदर्शन गरेको साहस, कार्य दक्षता, लगनशीलता, कर्तव्य परायणता र सहयोगको उच्च सम्मान गर्दै उनीहरुलाई सम्मान गरिएको हो । 

सशस्त्र प्रहरीका तीनैजना कर्मचारीलाई उल्लेखनीय, प्रशंसनीय एवं उत्कृष्ट कार्यको कदर स्वरूप प्रशंसा–पत्र प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

जिल्लामा विपद् व्यवस्थापन तथा शान्ति सुरक्षा कायम गर्नमा सशस्त्र प्रहरी बलसँगको समन्वय र सहकार्य उल्लेखनीय एवं प्रभावकारी रहेको प्रहरी उपरीक्षक अधिकारीको भनाइ छ ।



यसका लागि सशस्त्र प्रहरी बल नेपालप्रति आभार व्यक्त गर्दै गुणस्तरीय नागरिक सेवा प्रवाहका लागि यो समन्वय र सहकार्य अझै प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे ।



  • प्रकाशित मिति : असोज १६, २०७८ शनिबार १७:४७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया