सम्भावित मुख्यमन्त्रीको दबाबपछि मदन भण्डारी लोकमार्गमा स्ल्याब ढलानको सहमति

मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको हेटौंडा–१८, फुर्केचौर र बकैया–५ श्रीपुर सडकखण्डमा स्ल्याब ढलान गर्न सहमति भएको छ । उक्त सडक निर्माणका लागि १० दिनभित्र इस्टिमेट तयार गरी दसैँलगत्तै टेण्डर गराई सडक  ढलान गर्न सहमति भएको बकैया गाउँपालिकाका खनालले जानकारी दिए । 

बिहीबार नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ र बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले मदान भण्डारी लोकमार्गका डिभिजन निर्देशक र योजना प्रमुखलाई भेट गरेर ध्यानाकर्षण पत्र बुझाई छलफल गरेका थिए । 

बानियाँ बाग्मती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता हुन् । वर्तमान मुख्यमन्त्री एवं एमाले नेतृ अष्टलक्ष्मी शाक्य अल्पमतमा परेपछि सो प्रदेशमा विपक्षी गठबन्धनले नयाँ सरकार गठनको छलफल अघि बढाएका छन् । 

प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता बानियाँ र नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेको दाबी छ । दुई दलबीच बाँकी कार्यकाल आलोपालो गर्नेबारे छलफल चलेको छ । कांग्रेसले कम्तीमा आगामी अढाई महिना सरकारको नेतृत्व माग गरेको छ ।     

सांसद बानियाँ र बकैया गाउँपालिकाका अध्यक्षको दबाबपछि अब १० दिनभित्र इस्टिमेट तयार गरी दसैँलगत्तै टेण्डर गराई सडक स्ल्याब ढलान गर्ने सहमति भएको हो । 
  
फुर्केचौर–श्रीपुर सडकखण्डमा काठमाडौं तराई फास्टट्रयाकको काम जारी रहेकोले सडक निर्माण हुन नसकेको १२ सय मिटर सडक स्ल्याब ढलान हुने भएको हो । फास्टट्रयाक सडक खण्डमा धरान–चतरा–हेटौंडा आयोजनाले सडक निर्माण नगरेका कारण फुर्केचौर–श्रीपुर सडकखण्डमा जोखिमपूर्ण यात्रा गर्न सर्वसाधारण बाध्य छन् । 

उकालो सडकखण्ड भएकोले वर्षायाममा पानीले बाटो बिगारिदिँदा सवारीसाधन दुर्घटनामा पर्ने, मानिसहरु आवतजवात गर्न गाह्रो हुने, जोखिम हुने, सडकमा पहिरो जाने, माटो बगाउने, सडकमा खाल्डाखुल्डी हुने र पानी जम्नेजस्ता समस्या भएकोले सडक ढलानका लागि ध्यानाकर्षण पत्र बुझाइएको अध्यक्ष खनालले बताए ।



मदन भण्डारी लोकमार्गअन्तर्गत पूर्वी मकवानपुरको जनताको मुख्य समस्याको रुपमा रहेको फुर्केचौर–श्रीपुर सडकखण्डमा सडक स्लाब ढलानपछि जनताको यो समस्या हट्ने अध्यक्ष खनालको भनाइ छ । 

यो सम्झौतासँगै स्थानीयवासी हर्षित भएका छन् । पूर्वी मकवानपुरको लाइफलाइनको रुपमा रहेको सडक खण्ड बिग्रँदा भोगेको पीडा अब लामो समय भोग्न नपर्ने स्थानीय विक्रम लामाले बताए ।  



यसअघि  भदौ ३० गते  ‘फास्ट ट्रयाकले काम नगर्दा स्थानीयलाई सास्ती’ शीर्षकमा फरकधारले समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशनपछि बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले चासोको साथ हेरेको बताएका थिए ।

  • प्रकाशित मिति : असोज १६, २०७८ शनिबार २०:२७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया