नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले इतिहासमै पहिलो पटक महिला अध्यक्ष पाएको छ । ६ जना दाबेदारमध्ये पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पञ्चा सिंहलाई अध्यक्षमा चुनेका छन् ।
राजधानीमा जारी अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनले सिंहलाई आजै अध्यक्षको घोषणा गर्दैछ । अध्यक्षमा सुरेन्द्र बस्नेत, पञ्चा सिंह, तिलकराज भण्डारी, दीपक देवकोटा, विजय गौतम, उत्तम अधिकारी र दीपेश पुनको दाबेदारी थियो ।
यी सबैलाई माओवादीका दोस्रो तहका नेताहरूको बलियो साथ थियो । नेताहरूका अनुसार सिंह अर्थमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य जनार्दन शर्मा निकट मानिन्छिन् ।
नेतृत्व छनौटमा विवाद बढ्दै गएपछि अन्ततः प्रचण्डलाई नै यसको जिम्मेवारी दिइएको थियो । प्रचण्डले सबै नेताहरूलाई खुमलटार बोलाएर एक्लाएक्लै छलफल गरेका थिए । अध्यक्षमा सिंहलाई जिम्मा दिएका प्रचण्डले अरू नेताहरूलाई पार्टी केन्द्रीय सदस्य बनाएर व्यवस्थापन गरिएको बुझिएको छ ।
को हुन् पञ्चा सिंह ?
१४ वर्षको उमेरदेखि नै माओवादी आन्दोलनमा जोडिएकी पञ्चा १७ औं सम्मेलनबाट अखिलको केन्द्रीय सदस्य बनेकी थिइन् । माओवादीसँग नारायणकाजीको एकता हुँदा उनी सचिवालय सदस्य बनेकी थिइन् ।
कालिकोटको महावैमा जन्मिएकी उनी सुरुमा माओवादीको कलाकार टिममा रहेर काम गरेकी थिइन् । २१ औं राष्ट्रिय सम्मेलनमा जनार्दन शर्मा र वर्षमान पुनको टिम बन्दा सिंह प्रभाकरको टिमबाट चुनाव लडेकी हुन् ।
पहिलो महिला नेतृत्वको दाबी गर्दैगर्दा सिंहको चर्चा ह्वात्तै उठेको थियो । पञ्चाको परिवार नै राजनीतिमा छ ।
माओवादीमा लागेको छोटो समयमा नै उनी २०५९ मा जुम्ला जिल्लाकाे कोषाध्यक्ष भएकी थिइन् । २०६२ मा कालिकोट र जुम्लाको क्रान्तिकारी अध्यक्ष बनेकी उनी २०६५ मा भेरी-कर्णालीको संयोजक बनेकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।