धावक रामसुन्दर कार्की ललितपुरको गोदावरीदेखि जनकपुरसम्म दौडने भएका छन् । विगतमा पनि विभिन्न सामाजिक कार्यमा आर्थिक सहयोग जुटाउन दौडदै आएका कार्की यसपटक धार्मिक कार्यका लागि दौडन लागेका हुन् ।
कार्कीले मंसिर २० गतेदेखि दौड यात्रा प्रारम्भ गर्ने जनाएका छन् । ३ दिनमा २ सय २५ किलोमिटर दूरी पूरा गर्ने कार्कीले बताए ।
गोदावरी नगरपालिका १, गोदामचौरको कार्कीटारस्थित आफैले निर्माण गरेको हनुमान मन्दिरमा गदा स्थापनाका लागि आर्थिक सहयोग जुटाउन कार्की दौडन लागेका हुन् । उनले त्यहाँ २७ फिट अग्लो गदा निर्माण गर्न लागेका छन् ।
सो कार्यको शिलान्यास पनि भइसकेको छ । कार्कीले विगतमा विद्यालय तथा बाढी पीडितको सहयोगार्थ दौडेर आर्थिक सहायता उपलब्ध गराएको बताए ।
नेपालको सबै जिल्ला दौडेर पुगिसकेका कार्कीले काठमाडौं–दोलखा, काठमाडौं–सिन्धुली, काठमाडौं–पोखरा, काठमाडौं–लुम्बिनी दौडिसकेका छन् । उनले विभिन्न घरेलु दौड प्रतियोगितामा पनि सहभागिता जनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।