कांग्रेस सभापतिको उम्मेदवारी घोषणामा पौडेलको किन अलमल ?

कांग्रेस महाधिवेशन आउन अब मात्रै ५२ दिन बाँकी छ । सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतले सभापतिमा उम्मेदवारी घोषणा गरिसक्दा वरिष्ठ नेता रामचन्द्र पौडेलले भने सभापतिको उम्मेदवार ‘म नै हुँ’ भन्न सकेका छैनन् । 

उनी दाबेदार नै नभएको भने होइन । पौडेल १३औँ महाधिवेशनमा सभापतिका लागि निर्वाचन लडेर दोस्रो चरणमा पराजित नेता हुन् । सोहीकारण १४औँ महाधिवेशनमा उनलाई सभापति पदको स्वाभाविक दाबेदार मानिन्छ ।

उनीनिकट एक नेताका अनुसार नेता पौडेल संस्थापनइतर पक्षबाट सर्वसम्मत सभापतिको उम्मेदवार बन्न चाहन्छन् । त्यसका लागि पौडेलको जोडबल छ । 

हालै पौडेलले भनेका पनि छन्, ‘अब सर्वसम्मति भनेको समय आएपछि होला । मलाई विश्वास छ, जब समय आउँछ, त्यतिखेर चाहिने सर्वसम्मति निर्णय दिन सक्छौँ ।’

सभापति हुन चाहनेमध्ये पौडेल उमेरले सबैभन्दा अग्रज नेता हुन् । उनीभन्दा कम उमेरका शेरबहादुर देउवा एकपटक पार्टी सभापति र पाँचपटक प्रधानमन्त्री भइसकेका छन् ।  

फेरि, उनै देउवा सभापतिको दौडमा निस्किसकेका छन् । 



पौडेललाई पनि सभापति हुने र प्रधानमन्त्री हुने इच्छा नभएको होइन । प्रधानमन्त्री पदमा एकै चरणमा १७ पटकसम्म र सभापति पदमा एकपटक उनी पराजित भए । दुवैमा उनलाई सफलता भने हासिल भएन ।

पौडेल निकट ती केन्द्रीय सदस्य भन्छन्, ‘उहाँ (रामचन्द्र पौडेल) यसपटकचाहिँ सर्वसम्मत भएर जित्ने सभापतिको उम्मेदवार हुन चाहनुहुन्छ र त्यहीअनुसार संस्थापनइतरका नेताहरूसँग उहाँले समन्वय गरिरहनुभएको छ ।’ 



वडा अधिवेशन सुरु हुनुभन्दा ठीक अघिल्लो दिन १७ भदौमा नेता पौडेलले विचार मिल्नेहरू निर्वाचनमा एउटै सभापतिको उम्मेदवारी दिएर प्यानलसहित अगाडि बढ्ने बताएका थिए ।
उनका अनुसार प्यानलसहित निर्वाचनमा जानेहरू पार्टीभित्र सुधारको पक्षमा रहने र पार्टीलाई जनताको भरोसाको केन्द्र बनाउने चाहनेहरू हुनेछन् ।

आसपासमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य डा. शेखर कोइरालासहितका नेताहरूलाई राखेर उनले यो अभिव्यक्ति दिएका हुन् । 

तर, २३ दिनपछि (९ असोजमा) पूर्वमहामन्त्री सिंहले सभापति पदमा उम्मेदवारी घोषणा गरे । यसपछि उनी सभापति पदको तयारीमा जुटेका छन् ।

औपचारिक रूपमा सभापतिमा उम्मेदवारी घोषणा नगरे पनि डा. शेखर त झन् सभापति पदको तयारीमा १३औँ महाधिवेशनपछि नै लागेका हुन् । 

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य कोइरालाको पक्षमा कांग्रेसभित्र जनमत पनि राम्रो तयार हुँदै गएको बताउँछन् । 
यसरी संस्थापनइतर पक्षका भनिए पनि कोइराला र सिंहले अलग–अलग भएर सभापति पदमा माहोल सिर्जना गर्न थालेकाले पौडेललाई साझा उम्मेदवार बन्न मुस्किल भएको छ ।

शशांकले पनि साथ दिने अवस्था छैन । अहिले उनको साथ इतर पक्षमा भए पनि अन्तिममा शेरबहादुर देउवालाई हुने सम्भावना छ । बिपीपुत्रसमेत रहेका उनी देउवाको भित्री सहयोगमा १३औँ महाधिवेशनबाट महामन्त्री भएका हुन् । 

यस्तो अवस्थामा संस्थापनइतरमा रहेका कोइराला र सिंहलाई मिलाएर अगाडि बढिएन भने चुनाव हारिन्छ भन्ने पौडेललाई हेक्का छ । त्यही भएर पौडेलको जोड इतर पक्ष देउवाविरुद्धको प्यानलमा उभिनुपर्छ र प्यानल एउटै हुनुपर्छ भन्नेमा छन् । 
 
फेरि, अर्कातिर पौडेलले सभापति भएर पार्टीलाई नेतृत्व दिन सक्छन् भन्ने विश्वास गरिहाल्न भने इतर पक्षका अन्य नेता तयार देखिँदैनन् । विगतमा जुन पदीय भूमिकामा पौडेल रहे, अब्बल छाप छाड्न उनी असफल भएको उनीहरूको बुझाइ छ ।

राजनीतिक विश्लेषक डा. रमेश ढुंगेल त नेता पौडेललाई सभापति पदको उम्मेदवार बनाऔँ भन्नेहरुमा नेताहरूको समूह नदेखिएको बताउँछन् । 

‘सिनियर नेता पौडेल दाइ हो भनेर उहाँलाई नै सभापति बनाऔँ भन्नेमा अर्जुननरसिंह केसीलगायत केही नेता मात्रै देख्छु, तर दाइलाई खुलेरै सभापति बनाउनुपर्छ भन्ने जत्था त देखिएन,’ ढुंगेलले फरकधारलाई बताए । 

सोही कारण पौडेलले सभापति पदमा म उम्मेदवार हुन्छु भन्न नसकेको उनको ठम्याइ छ । 

‘छोड्दिनुस्, मै हुँ सिनियर नेता, म बाहेक अरु होइन, मै हुँ कांग्रेसलाई नेतृत्व गर्ने, कसले गर्छ त ? भन्न सक्नुपर्थ्यो तर, उहाँले सक्नुभएन,’ ढुंगेल थप्छन् । 

उनका अनुसार संस्थापन इतरबाट कुनै पनि हालतमा सर्वसम्मतिमा उम्मेदवार हुँदैन । कोइरालाद्वय र सिंह सभापतिको दौडबाट पछि हट्ने देखिन्न । 

इतर पक्षकै एक नेताको भनाइ भने अलिक भिन्न छ । उनी भन्छन्, ‘रामचन्द्र दाइ सर्वसम्मति भयो भने उम्मेदवार बन्ने, नभए शेखर र शशांकमध्ये एकलाई उम्मेदवार बनाउने मुडमा हुनुहुन्छ र त्यस्तो अवस्थामा उहाँलाई राष्ट्रपति बनाउने गरी समझदारीको सम्भावना रहन सक्छ ।’

१४औँ महाधिवेशनको मिति मंसिर ९ देखि १३ गतेसम्मका लागि तय छ । त्यसअघि गर्नुपर्ने वडा अधिवेशन सकिन केही जिल्लामा बाँकी नै छ । पालिका, प्रदेश क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्लाको अधिवेशन पनि उस्तै छ । 

नेता पौडेल अधिवेशनबाट महाधिवेशन प्रतिनिधिहरू कुन पक्षका कति आउँछन् भन्ने पनि पर्खिरहेका हुन सक्छन् । आफूपक्षीय महाधिवेशन प्रतिनिधिहरू सभापति पदमा जितका लागि पर्याप्त हुने गरी आएको अवस्थामा उम्मेदवार बन्ने दाउ पौडेलको हुन सक्छ । 

सोहीकारण पौडेलले सभापति पदमा संस्थापनइतर पक्षबाट उम्मेदवारी घोषणा गर्न ढिलाइ गरेको आकलन छ । 

  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार २०:२५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया