जिल्ला अदालत मोरङमा गत आइतबारबाट सुरु भएको करिब ३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ ।
एक साता लामो बहस आइतबार सकिएको हो । सोमबार या मंगलबारसम्म यसबारे फैसला आइसक्ने बताइएको छ ।
०७४ साल माघ ९ गते दुबईबाट आयात भएको सुन खोज्ने क्रममा चूणामणि उप्रेती गोरेसहितको समूहको यातनाका कारण ०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका–१ का सनम शाक्यको हत्या भएको पत्ता लागेको थियो ।
०७५ वैशाख १९ गते ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दा दायर भएको थियो ।
जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा बहस सकिएको हो । प्रतिवादी तर्फका कानुन व्यवसायीको बहसपछि आइतबार नै सरकारी वकिलको कार्यालयले प्रतिउत्तर बहस गरेको थियो ।
७७ जनालाई प्रतिवादी बनाइएको सो मुद्दाका प्रतिवादीमध्ये २१ जना अझै फरार छन् । ५६ प्रतिवादीको तर्फबाट कानुन व्यावसायीले सात दिन बहस गरेका हुन् । सनम हत्याको प्रमाण र सुन तस्करीको विवरण पत्ता लागेपनि तस्करी गरिएको भनिएको सुन भने फेला पर्न सकेको छैन ।
आइतबार सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्ले र उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता ज्ञानप्रसाद भुसालले प्रतिउत्तर बहस गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।