मोरङमा ११ पालिकामा कोइराला–पौडेल समूहको नेतृत्व, ४ वटामा संस्थापन विजयी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङमा संस्थापन पक्ष कमजोर र रक्षात्मक बनेको छ ।

सम्पन्न गाउँ–नगरको अधिवेशनको अन्तिम नतिजा आउदा संस्थापन पक्ष देउवा समूह रक्षात्मक अवस्थामा पुगेको हो ।

मोरङका १७ पालिकामध्ये  ११ पालिकामा कोइराला–पौडेल पक्षका उम्मेदवार निर्वाचित भएका हुन् ।  

विराटनगर महानगरको सभापतिमा संस्थापनइतर समूहबाट दीपक चापागाई निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी सन्तोष न्यौपानेलाई ४७ मत अन्तरले पराजित गर्दै नेता शेखर कोइरालानिकट चापागाई सभापतिमा निर्वाचित भएका हुन् ।

महानगर सभापतिका लागि चार जनाबीच प्रतिस्पर्धा भएको थियो । संस्थापनबाट न्यौपाने एक्ला उम्मेदवार थिए भने पौडेल–कोइराला समूहबाट तीन जना प्रतिस्पर्धी थिए ।



विराटनगर महानगरमा उपसभापतिहरुमा इन्दु सुवेदी खतिवडा र निरज कोइराला संस्थापनइतर समूहबाट निर्वाचित भएका छन् ।

सचिवमा संस्थापन समूहकी झुमा निरौला र कोइराला समूहबाट तेजिन्द्र भट्टराई निर्वाचित भएका छन् । सहसचिवमा पनि दुवै पक्षबाट जितेका छन् ।



सहसचिवमा निर्वाचित दिवश नेपाल कोइराला समूहका हुन् भने सचिन पोखरेल संस्थापन पक्षका हुन् ।

मोरङको १७ वटा स्थानीय तहमध्ये चारवटा स्थानीय तहमा सहमतिका आधारमा नेतृत्व चयन भएको थियो ।

मोरङको मिक्लाजुङ गाउँपालिका सभापतिमा बबी राई १३७ मतका साथ निर्वाचित भए ।

यस्तै कटहरी गाउँपालिकामा रामकुमार कामत ८३ मत प्राप्त गरी सभापतिमा निर्वाचित भए ।

धनपालथानमा संस्थापन समूहका दीपकवीर पाण्डे ८३ मत प्राप्त गरी सभापतिमा निर्वाचित बने ।

बेलबारी नगरपालिकाको नगर सभापतिमा पौडेल–कोइराला पक्षका छत्र लिम्बू १३६ मतका साथ विजयी बने ।

कानेपोखरी गाउँपालिकाका योगेन्द्र दाहाल ७३ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका छन् ।

मोरङको सुनवर्सी नगरपालिकामा कमल किशोर गनगाईले १०५ मत ल्याएर सभापतिमा पद जितेका छन् भने पथरीशनिश्चरे नगरपालिका सभापतिमा रुपनारायण भट्टराई ८२ मतका साथ सभापतिमा निर्वाचित बनेका छन् ।

रंगेली नगरपालिकाका नगर सभापतिमा जगरनाथ मण्डल १०६ मत प्राप्त गर्दै सभापति पदमा निर्वाचित भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी जितनारायण खवासले १०४ मत ल्याएका थिए । सुन्दरहरैंचा नगरपालिकामा भक्तिप्रसाद सिटौला १६९ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका छन् ।

सुन्दर हरैचामा प्यानलै कोइराला पक्षले जितेको छ । लेटाङ नगरपालिकाको नगर सभापतिमा ६० मत प्राप्त गरी दीपकचन्द्र राई अध्यक्ष बनेका छन् ।
 
यसैगरी ग्रामथान गाउँपालिकाको सभापतिमा ९३ मतका साथ तुलसी विश्वास निर्वाचित भए । बुढीगंगा गाउँपालिकाका जितनारायण थापा ७६ मत प्राप्त गरी अध्यक्ष बनेका छन् ।

मोरङको जहदा गाउँपालिका, केराबारी गाउँपालिका, उर्लाबारी नगरपालिका र रतुवामाई नगरपालिकामा सहमतिका आधारमा सर्वसम्मत नेतृत्व चयन भएको थियो ।
जहदा गाउँपालिकामा महेन्द्र मण्डल सभापतिमा पदमा निर्विरोध निर्वाचित भए । मण्डल संस्थापन पक्षका हुन् ।

यस्तै उर्लाबारी नगरपालिका सुरेन्द्र लिम्बू र केराबारी गाउँपालिकामा प्रकाश बस्नेत सभापतिमा पदमा निर्विरोध निर्वाचित बनेका छन् ।

यस्तै रतुवामाई नगरपालिका सभापतिमा पोष्टबहादुर बस्नेत निर्विरोध निर्वाचित भएका छन् ।

अमृत अर्याललाई धक्का

नेपाली कांग्रेसको नगर गाँउ अधिवेसनले मोरङका प्रभावशाली नेता अमृत आर्याललाई धक्का लागेको छ  । यस अधिवेसनमा पौडेल कोइराला समूह छाडेर देउवा लाइनमा गएका अर्यालले अधिवेसनमा प्रभाव देखाउन सकेनन् ।

यस्तै मोरङको सभापतिको दौडमा रहेका दिलिप गच्छदारको प्रभाव पनि देखिएन । उनको बुढीगंगा गाँउपालिकामा कोइराला पक्षको प्यानलै विजयी भएको छ ।
यसले कांग्रेसका प्रभावशाली नेता विजय गच्छदारको आगामी राजनीति समेत कमजोर बनेको छ । उनी सुनसरीमा समेत कमजोर देखिए ।

कोइराला पक्ष सधैं बलियो रहेको मोरङमा दुई कार्यकाल नेतृत्व गरेका नेता अमृतकुमार अर्याल कोइराला समूह छोडेर देउवा समूहमा गएपछि मोरङमा संस्थापन बलियो हुने अनुमान गरिएको थियो । तर, प्राप्त परिणामले अर्याल कमजोर बनेको पुष्टि भएको छ ।

अघिल्लो अधिवेशनमा अर्यालकै सहयोगमा जिल्ला सभापति बनेका डिगबहादुर लिम्बू समूह परिवर्तन गरी कोइराला क्याम्पमा पुगेका छन् ।

जसले गर्दा कोइराला क्याम्प छोडेर देउवा निकट बनेका अर्याल कमजोर हुँदा सभापति लिम्बुले जिल्लामा आफ्नो शक्ति थप सुदृढ पारेको छ ।

नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बुले जिल्लामा संस्थापन पक्ष कमजोर बनेको बताए । 

मोरङमा संस्थापनइतर समूह धेरै पालिकामा विजयी भएको छ भने संस्थापन पक्षले दुई पालिकामा मात्र जित हासिल गरेको छ । 

संस्थापन पक्षका रमेशजंग रायमाझीले भने गाँउ नगर अधिवेसनको नतिजाले संस्थापन पक्ष कमजोर भयो भन्ने नहुने बताए । उनले निर्वाचनमा कार्यकर्ताहरु यता उता हुन्छन् । यसले जिल्ला सभापतिमा खासै असर नपार्ने बताए ।

  • प्रकाशित मिति : असोज १८, २०७८ साेमबार ११:२८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया