चक्रवातमा परेको संसारको अर्थतन्त्र, कता गएर ठोकिने हो भन्न सकिन्न

संसार कता जाँदै छ, यो बुझ्न निकै कठिन छ । खासगरी अर्थव्यवस्थाको दृष्टिमा । केही अघिसम्म कोरोना संकटबाट मुक्ति पाउने कोसिसमा लागिरहेको संसारको अर्थतन्त्र दोबोटोमा रहेको बताइन्थ्यो ।

एकातिर ती मानिस छन्, जो डेल्टा भेरिएन्टको असर अन्त्य भएको देख्थे र उनीहरु आर्थिक तरक्की अर्थात् जिडिपी वृद्धिले तीव्रता पाइरहेको देख्थे । अर्कोतिर ती मानिस छन्, जसका निम्ति महामारीको खास प्रभाव अझै अन्त्य भएको छैन र महामारी कमजोर नै भइसकेको भए पनि त्यसले बनाइदिएको घाउ चाँडै पुर्न मुश्किल छ ।

तर, अहिलेको अवस्था यस्तो छ कि जता हेर्‍यो उतै एकप्रकारको फरक संकेत देखिन्छ । यस्तो लाग्छ, तपाईं कुनै भुलभुलैयामा फस्नुभएको छ । हरेकतिर बाटो नै बाटो छ, तर थाहा छैन ती बाटाहरुमध्ये कुन बाटो हिँड्दा उद्देश्यमा पुगिन्छ र कुन बाटो हिँड्दा गहिरो खाडलमा परिन्छ । 

अर्थतन्त्रमा चामत्कारिक उन्नतिको कुरा गर्दा चीनबाट सुरु गर्नुपर्ने हुन्छ । कोरोनाबाट मुक्ति पाउने सवालमा चीनले सबैलाई उछिनेको कुरा पत्याए पनि नपत्याए पनि सार्वजनिक भयो । सोही क्रममा अचानक चिनियाँ दिग्गज रियल इस्टेट कम्पनी एभरग्रान्ड ऋण संकटमा परेको खबर बाहिरियो ।

करिब तीन खर्ब डलर ऋणमा डुबेको उक्त कम्पनीको बजारभाउ चीनको जिडिपीको दुई प्रतिशत बराबर छ । चीनको २८० वटा सहरमा यसका प्रोजेक्टहरु छन् । र, देशबाहिर २०० र देशभित्रै २,००० सानाठूला कम्पनीमा त्यो गु्रपको हिस्सा छ । यसमा दुई लाखभन्दा बढी मानिसले रोजगारी पाएका छन् ।

यसबाट के बुझ्नुपर्छ भने, एभरग्रान्ड डुब्ने या आर्थिक संकटमा पर्ने खबरले कति जनाको जीवनमा असर पार्छ ? भयो नै यही । केबल चीन होइन, संसारभरकै सेयरबजारमा तीव्र गिरावट आएको छ । एक दिनमै एलन मस्क, जेफ बेजोस, वारेन बफेटलगायतका धनाढ्य लगानीकर्ताले २६ अर्ब डलर गुमाएका छन् । संसारका सेयर बजारका लगानीकर्ताले २.२ लाख करोड डलर नोक्सान बेहोर्नुपर्‍यो । 



चीन सरकार यो आर्थिक संकटबाट बाहिर निस्कने कोशिस गरिहरको थियो, तर अर्को अप्ठेरो आइदियो । देशका तीन प्रान्तका दसौं लाख घरमा अन्धकार छायो, पिक डिमान्डको समयमा बिजुली कटौती गरियो । यतिमात्र होइन, चीनको पूर्वी र दक्षिणपूर्वी इलाकामा हजारौं उद्योगमा समेत बिजुली काटियो । कारखानाहरुलाई प्रदूषणको नियम लागू गरियो । यसैको नतिजास्वरुप एपल र टेस्लाजस्ता अन्तर्राष्ट्रिय कम्पनीको काम पनि रोकियो । तिनको उत्पादन ठप्प हुन पुग्यो । 

गोल्डम्यान साख्सका अनुसार, चीनको औद्योगिक उत्पादनमा यही कारणमात्रै ४४ प्रतिशत गिरावट आउन सक्छ । चीनमा यदि यो समय उत्पादन घट्यो भने युरोप र अमेरिकासमेत संसारको ठूलो हिस्सामा इलेक्ट्रोनिक ग्याजेट्सको आपूर्ति कम हुने छ । दीपावली नजिकै आइरहेको छ । यसबखत सामान आपूर्ति हुन नसक्दा बिचौलियाको बिगबिगी बढ्ने छ र बजारमा सामानको कृत्रिम अभाग देखिने छ ।



महँगी संसारभर यसरी बढेको छ कि, जर्मनीमा यसको उचाई २९ वर्षमै सर्वाधिक हुन पुगेको छ । कुरा चीनको मात्रै होइन । बेलायतमा समेत कतिपय स्थानमा बोर्ड नै टाँसेर इन्धन सकिएको जानकारी दिइएको छ । नेचुरल ग्यासको मूल्य तीव्र वृद्धि हुनाले कयौं कम्पनी मुश्किलमा परेका छन् । पेट्रोल–डिजेलको मूल्य विगत आठ वर्षमा सबैभन्दा बढी हुन पुगेको छ । भारत सरकारले सेनालाई इन्धन आपूर्तिका निम्ति तयार रहन निर्देशनसमेत दिइसकेको छ ।

संकटको दुई कारण देखिन्छ । पहिलो, मानिसहरुले सम्भावित अभाव देखेर आवश्यकताभन्दा बढी तेल खरिद गर्न थालेका छन् । अर्को, इन्धन बोक्ने ट्यांकर चलाउने चालकको अभाव छ ।

युरोपका अन्य मुलुकको अवस्था पनि बेलायतको भन्दा फरक छैन । जाडोयाम सुरु भइसकेको छ । ग्यास, बिजुली, तेल सबैको माग बढ्न थालेको छ । युरोप र अमेरिकामा जाडो मौसममा घरलाई तातो बनाइराख्न हिटिङ आयलको माग ह्वात्तै बढ्छ । युरोपको ठूलो हिस्सामा बिजुली दिने नर्वेको ग्रिड अपरेटर कम्पनीले यसपटक वितरणमा दबाब परेको चेतावनी दिइसकेको छ । बेलायत, जर्मनी र डेनमार्क नर्वेको ग्रिडमा जोडिएका छन् ।

अमेरिकामा पनि तेल र ग्यासको संकट देखिएको छ । कोरोनाकालमा उत्पादन घटाइएको थियो, अहिले काम गर्ने जनशक्ति अभाव हुन थालेको छ । डलास फेडरल बैंकले हालै एक सर्भे गरेको थियो । सर्भेमा तेल उद्योगसँग जोडिएका ५१ प्रतिशत अधिकारीले उद्योगमा काम गर्ने नयाँ जनशक्ति नपाएको बताएको उल्लेख गरिएको छ ।

सर्भेमा जोडिएका ७० प्रतिशतले भने कामदार पाए पनि पूरा काम गर्न नजान्ने समस्या रहेको बताएका थिए । २९ प्रतिशतले भने कामदारले माग गरेको तलबसुविधा दिनै नसकिने बताएका थिए ।

कोरोनाबाट मुक्ति त हुँदै छ, तर नयाँ मुश्किल पनि साथै आउँदै छ । यही कारण पनि संसारका अलगअलग एजेन्सीहरुले विकासदरको अनुमान कहिले बढाउँछन् त कहिले घटाइदिन्छन् । युरोप, अमेरिका र बेलायतजस्ता देशका व्यापारीहरुमा ‘बिजनेस कन्फिडेन्स’ मा तीव्र गिरावट आएको देखिन्छ । 

यसकारण पनि यतिखेर संसारको अर्थतन्त्र कुनै दोबाटो या चौबाटोमा होइन, ठूलो चक्रवात्मा परेको छ र यो फनफनी घुमिरहेको छ । यसको घेरा तोडेर अर्थतन्त्र कता भाग्ने हो, अहिले नै भन्न सकिन्न ।

(आलोक जोशी वरिष्ठ भारतीय पत्रकार हुन् । हिन्दुस्तान टाइम्सबाट अनूदित तथा सम्पादित ।)
  
 

  • प्रकाशित मिति : असोज १८, २०७८ साेमबार १४:३९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया