माओवादी सुनसरीमा थप रडाको, प्रदेश कार्यालयमा तालाबन्दी

माओवादी केन्द्र सुनसरीमा देखिएको विवाद मिलाउन प्रदेश कमिटीले जिम्मेवारी हेरफेरपछि झन् विवाद बढेको छ । एक समूहले अर्को समूहका विरुद्ध ज्ञापनपत्र र विज्ञप्तिबाजी गरिहेको सुनसरी माओवादी अहिले तालाबन्दीको अवस्थामा पुगेको छ ।

सुनसरी माओवादी केन्द्रमा देखिएको विवाद मिलाउन प्रदेश कमिटीले शनिबार सुनसरीमा रहेका नेताहरूको जिम्मेवारी र कार्य विभाजन हेरफेर गरेको थियो । जिम्मेवारी हेरफेरपछि एउटा समूहले प्रदेश समितिको कार्यालयमा तालाबन्दी गरेको छ ।

माओवादी सुनसरीमा इन्चार्ज निर्मल बराल समूह र जिल्ला समन्वय समिति संयोजक योगेन्द्र मण्डल पप्पुको समूहबीच अहिले जुहारी चलिरहेको छ । मण्डलको समूहले निर्मल बराल समूहलाई प्रदेश समितिले साथ दिएको भन्दै तालाबन्दी गरेको हो ।

संयोजक मण्डललाई माओवादीका नेताहरू मुक्साहाङ मेन्याङबो, रामकुमारी चौधरी, सन्तोष चौधरी लगायतले साथ दिएका छन् भने बराललाई सहइन्चाज शिव डाँगी लगायतकाले साथ दिएका छन् ।

मण्डल पक्षले तालबन्दीपछि विज्ञप्ति जारी गर्दै प्रदेश कमिटीको निर्णय अवैधानिक भएको दावी गरेको छ ।

विज्ञप्तिमा नेकपा माओवादी केन्द्र १ नं. प्रदेश समितिका अध्यक्ष (कार्यालय)ले नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक क.योगेन्द्रप्रसाद मण्डललाई बिनाकारण हटाइएको उल्लेख छ ।



विज्ञप्तिमा भनिएको छ, ‘केही दिन अगाडि मात्र नेकपा एमालेका प्रदेश सदस्यमा मनोनित भएका र केही दिनपछि कुनै पार्टीमा नरहेको भनी विज्ञप्ति जारी गरेका सुरेन्द्र मेहतालाई जिल्ला संयोजक तोकेको जानकारी आउँदा सुनसरीको पार्टी आन्दोलनमा खटिरहेका नेता कार्यकर्ता आश्चर्यचकित भएका छौं । ’

विवाद मिलाउन गरिएको जिम्मेवारी हेरफेरमा प्रदेश समितिले सुरेन्द्र मेहतालाई इन्चार्ज तोकेको छ । मेहताको नाम एमालेको प्रदेश सदस्यमा समेत छ । एमालले प्रदेश सदस्य राखेपछि आफू माओवादी केन्द्रमै रहेको मेहताले बताएका थिए ।



संयोजक मण्डल र सचिव सपना परियारले जारी गरेको विज्ञप्तिमा उक्त १ नं. प्रदेश अध्यक्षको निर्णयप्रति हाम्रो गम्भीर आपत्ति रहेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सुनसरी पार्टी आन्दोलनमा निरन्तर क्रियाशील नेता कार्यकर्तालाई पाखा लगाउँदै पार्टी विधि, पद्धति कुल्चँदै गुटगत आधारमा जिम्मेवारी दिँदै सुनसरीको पार्टीलाई ध्वस्त गर्ने प्रदेश अध्यक्षको निर्णय तत्काल फिर्ता लिन माग गर्दछौं ।’

उक्त निर्णय फिर्ता नभएसम्मका लागि पार्टी कार्यालयमा तालाबन्दी गरिएको पत्रमा उल्लेख छ ।

संयोजक मण्डलले केन्द्रीय सदस्य तथा इन्चार्ज बराल, सहइन्चार्ज शिवकुमार डाँगी, प्रदेश सदस्यहरू नरेन्द्र बस्नेत, भानु मैनाली, आइन्द्रविक्रम बेघा, अनिता परियार, उमिता बराईली, जसकुमार किराँती र सुरेन्द्र मेहतासँग कुनै परामर्श नगरी बैठक राखेको र विभिन्न निर्णय गरेपछि विवाद सुरु भएको थियो ।

केन्द्रीय समितिले निर्मल बराललाई इन्चार्ज बनाएपछि सुनसरी माओवादीमा विवाद सुरु भएको थियो ।

सिनियरलाई सहइन्चार्ज र जुनियरलाई इन्चार्ज बनाएको भन्दै मुक्साहाङ, सन्तोष र रामकुमारीले संयोजक मण्डललाई जिल्लाको जिम्वेवारी र कार्यविभाजन गर्न साथ दिएका थिए ।

यस्तै सो पक्षको सहमति नलिइकन बैठक नराख्न माओवादी केन्द्र प्रदेश समितिका अध्यक्ष सुरेशकुमार राई लगायतले दिएको निर्देशन पनि मण्डलले पालना गरेका थिएनन् ।

त्यहीं बैठकपछि विवाद उत्पन्न हुँदा ९ जनाले विज्ञप्ति जारी गर्दै मण्डलको एकलौटी निर्णय सच्याउन माथिल्लो कमिटीसँग माग गरेका थिए । त्यसपछि माओवादीको प्रदेश समितिले स्पष्टीकरण माग गर्दै मण्डललाई पत्र काटेको थियो ।

पत्रको जवाफमा मण्डल आफैले प्रदेश समितिले आफूलाई स्पष्टीकरण काट्ने हैसियत नहुने भन्दै प्रतिवाद गरेका थिए ।

मण्डलको प्रतिवादपछि प्रदेश समितिको शनिबार बसेको सचिवालय बैठकले जिल्ला संयोजकबाट हटाउँदै प्रदेश समिति सदस्य सुरेन्द्र मेहतालाई संयोजकको जिम्मेवारी दिएको थियो ।

यी पनि पढ्नुहाेस् :

माओवादी केन्द्र सुनसरीको विवाद मिलाउन जिम्मेवारी हेरफेर

सुनसरी माओवादी विवाद : निर्वाचन क्षेत्र र पालिका पदाधिकारीको जिम्मेवारी खोसियो, संयोजकलाई स्पष्टीकरण

माओवादी केन्द्र सुनसरीमा चरम विवाद, एकले अर्कोलाई कारबाही गर्न प्रदेशमा सिफारिस

 

 

  • प्रकाशित मिति : असोज १८, २०७८ साेमबार १३:५५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया