फक्सवागनको टाइगुन एसयुभी सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

फक्सवागनको टाइगुन एसयुभी आइतबार भव्य कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ । नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले एसयुभीको उक्त मोडल सार्वजनिक गरेका हुन् ।  

फक्सवागनको नेपालका लागि आधिकारिक बिक्रेता पूजा इन्टरनेशनल हो । कम्पनीले तीन भेरियन्टका टाइगुन सार्वजनिक गरेको छ। फक्सवागन टाइगुनको सुरुवाती भेरियन्ट कम्फर्टलाइनको मूल्य ५० लाख ९० हजार रहेको कम्पनीले जनाएको छ । 

बाँकी दुई भेरियन्ट टाइगुन हाइलाइनको प्रारम्भिक मूल्य ६३ लाख ९० हजार र टाइगुन टपलाइनको प्रारम्भिक मूल्य ६९ लाख ९० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । 

उत्तर अमेरिकी जंगल ‘टाइगा’ बाट गाडीको नाम ‘टाइगुन’ राखिएको विज्ञप्तीमा उल्लेख छ । भारत र नेपालको स्थानीय ड्राइभिङ अवस्थालाई मध्यनजर गरी टाइगुन डिजाइन गरिएको कम्पनीको दावी छ । 

नयाँ कम्प्याक्ट एसयूभी टाइगुन विश्वस्तरीय १.० लिटर टर्बोचार्ज्ड इन्जिनबाट चल्ने कम्पनीले जनाएको छ । जसले ११४ हर्जपावर र १७८ एनएम टर्क उत्पादन गर्छ । 



अन्तर्राष्ट्रिय रूपमा प्रचलित एमक्यूबी प्लेटफर्मलाई फक्सवागनले एमक्युबी एओ आईएन प्लेटफर्ममा स्थानीयकरण गरी भारतमा यसको उत्पादन गरेको जनाएको छ। 

टाइगुन यो सेगमेन्टमा गेम चेन्जर एसयुभी हुने दाबी कम्पनीको छ। टिकाउ, वातावरणमैत्री र सुरक्षाको हिसाबले आधुनिक प्रविधि र परिवर्तन मन पराउने ग्राहकहरुका लागि यो गाडी उपयुक्त हुने कम्पनीको विश्वास छ। 



४० भन्दा बढी सुरक्षात्मक संयन्त्र

फक्सवागनको यो गाडीमा ४० भन्दा बढी सुरक्षात्मक संयन्त्रसहित फन–टु–ड्राइभ विशेषता रहेको छ । फक्सवागन टाइगुनमा भएका ४० भन्दा बढी एक्टिभ र प्यासिभ सेफ्टी फिचरले कार भित्रका यात्रु मात्र होइन, कार बाहिर वरिपरिका व्यक्तिहरुलाई समेत सुरक्षित राख्ने कम्पनीले जनाएको छ । 

पूजा इन्टरनेशनल नेपाल प्रालिका सीइओ विवेक बिजुक्छेकाअनुसार टायर प्रेसर डिफ्लेसन वार्निङ, बक्स सेन्सरसहितको रिभर्स क्यामेरा, इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन, हिल होल्ड कन्ट्रोल, थ्री रियर हेड रिस्ट्रेन्टस आदि यसमा भएका केही एक्टिभ सेफ्टी फिचर रहेका छन् । 

मल्टी–कोलिजन ब्रेक, मजबुद स्टिल स्ट्रक्चर बडी, ६ वटासम्म एयरब्याग, सबै यात्रुका लागि थ्री प्वाइन्ट सेफ्टी बेल्टलगायत अन्य धेरै प्यासिभ सेफ्टी फिचर यो गाडीमा उपलब्ध रहेको उनको भनाइ छ । 

फक्सवागनले पहिलेदेखि नै उपलब्ध गराइरहेका योभन्दा ठूला गाडी टिगुआन र ट्वारेगमा प्रयोग गरिएको ग्लोबल डिजाइन ल्यांग्वेज र लाइनेज टाइगुनमा प्रयोग गरिएको कम्पनीले जनाएको छ । सिटी, हाइवे वा अफरोड जस्तोसुकै अवस्थामा पनि बेस्ट ड्राइभिङ अनुभव चाहनेहरुका लागि टाइगुन लक्षित गरिएको छ।

फक्सवागन टाइगुनमा फ्रेस तथा भाइब्रेन्ट डिजाइनसहितको स्टाइलिस बोल्ड एक्सटेरियर छ । अघिल्लो भागमा भएको मस्कुलर ग्रीललाई एलइडी डे टाइम रनिङ हेडलाइट (डीआरएल्स) सँग पूर्ण रुपमा एकीकृत गरिएको कम्पनीले जनाएको छ। उच्च ग्राउन्ड क्लियरेन्स र लामो ह्विलबेस भएका कारण नेपाली सडकका लागि टाइगुन उपयुक्त हुने दाबी कम्पनीको छ। 

गाडीको इन्टेरियर डिजाइन फ्रेस

कम्पनीका अनुसार गाडीको इन्टेरियर डिजाइन पनि मोडर्न र फ्रेस छ। ड्युअल टोन ड्यासबोर्डले कारलाई झनै प्रिमियम लुक्स् दिएको छ। 

फक्सवागन टाइगुनले ९.१ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघण्टासम्मको गति लिन सक्ने दाबी कम्पनीको छ। यसमा १० इन्च इन्फोटेन्मेन्ट प्रणाली, फुल डिजिटल क्लस्टर, फ्रन्ट भेन्टिलेटेड सिट, हिल असिस्ट कन्ट्रोल, इलेक्ट्रिक मुनरुफ, एलईडी टेललाइटलगायतका अत्याधुनिक फिचर गाडीमा रहेको बताइएको छ। 

प्रारम्भिक समयमा एक सय ग्राहकलाई निःशुल्क एसेसरिज कम्पनीले प्रारम्भिक अवस्थामा पहिलो १०० ग्राहकलाई निःशुल्क एसेसरिज र आकर्षक नगद छुट समेत उपलब्ध गराउने जनाएको छ। पहिलो वर्ष कम्पनीले नेपालमा करिब एक हजार वटा टाइगुन बिक्री गर्ने लक्ष्य राखेको छ । 

१३ ठाउँमा डिलरसिप 

काठमाडौंमा भएका चार सोरुमबाहेक उपत्यका बाहिर पनि डिलरसिप रहेको छ । कम्पनीका अनुसार बिर्तामोड, विराटनगर, नारायणघाट, बुटवल, भैरहवा, दाङ, नेपालगञ्ज, धनगढी र पोखरालगायतका विभिन्न स्थानमा पूजा इन्टरनेसनलको डिलरसिप र सर्भिस नेटवर्क रहेको जनाएको छ।

  • प्रकाशित मिति : असोज १८, २०७८ साेमबार १४:३०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया