प्रदेश सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन : प्रदेश प्रमुख

रुपन्देही– प्रदेश नं– ५ का प्रमुख उमाकान्त झाले कानुन निर्माण हुन नसकेका कारण प्रदेश सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् । प्रदेश सरकारमार्फत विकास निर्माणका काम तल्लो तहसम्म पुग्न नसकेको उनको टिप्पणी छ । 
 
गौतम बुद्ध सामुदायिक मुटु अस्पताल, बुटवलमा अत्याधुनिक १ सय २८ स्लाइसको सिटी स्क्यान उपकरणको उद्घाटन समारोहमा 
बोल्दै प्रदेश प्रमुख झाले प्रदेश सरकारलाई ‘फंसनल’ बनाउन संघ, प्रदेश र स्थानीय सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिए । सरकारको एकल प्रयासबाट मात्रै सबै काम सम्भव नहुने उनको तर्क थियो । 
 
अस्पतालका अध्यक्ष एजाज आलमले गुणस्तरीय स्वास्थ्य सेवाका लागि अस्पताल अग्रसर भएको उल्लेख गर्दै अस्पतालको नयाँ उपकरणका लागि रोटरी क्लबसँग मिलेर पुनः नयाँ परियोजना ल्याउन लागेको जानकारी दिए । 

अस्पतालका निर्देशक तथा मुटु रोग विशेषज्ञ डा. समीर गौतमले अत्याधुनिक सिटी स्क्यान उपकरणले जन्मजात मुटुको रोगसम्बन्धी समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास गर्दै एक्सरे भन्ने विकिरण प्रविधि नै सिटी स्क्यान उपकरण भएको बताए । 

सो कार्यक्रममा प्रदेश नं ५ का प्रदेशसभा सदस्यद्वय दधिराम न्यौपाने, विष्णु पन्थी, नेकपा रुपन्देहीका सचिव निर्मल जिसी, बुटवल उप–महानगरपालिकाका प्रमुख शिव सुवेदी, तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, पत्रकार महासंघ रुपन्देहीका कार्यबाहक अध्यक्ष दिनेश पाण्डे, नेपाली कांग्रेस बुटवलका नगर सभापति खेलराज पाण्डेले सिटी स्क्यान उपकरण बुटवल आएकोमा खुसी व्यक्त गरे । 

सात करोड रुपैयाँको लगानीमा भित्र्याइएको उक्त उपकरणबाट मुटुबाहेक, मिर्गौला, फोक्सो, टाउको, घुँडालगायतका शरीरको विभिन्न अंगको सिटी स्क्यान गर्न मिल्ने बताइएको छ । रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको सहयोगमा उपकरण भित्रिएको हो । 





  • प्रकाशित मिति : कात्तिक १०, २०७५ शनिबार १३:२३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया