चीनमा अर्डर गरेको सामान आउन ढिलाइ, दसैंका सामान अभाव

चिनियाँ सामान बेलैमा नआउँदा व्यापारीहरु समस्यामा परेका छन् । दसैं–तिहारका लागि अर्डर गरेको सामानहरु निकै ढिलो गरी नेपाल आउँदा त्यस्तो समस्या आएको हो। चिनियाँ पक्षले नेपाली व्यापारीहरुको कुरै नसुनी सामान बोकेका कन्टेनरहरु नेपाल पठाउन निकै ढिलाइ गरेको छ । 

अहिले दैनिक सात कन्टेनर नेपाल आउन निकै ढिलो भइरहेको छ । अर्डर धेरै हुँदा पाँच सय भन्दा बढी सामान भरिएका कन्टेनर सीमानाका केरुङमै रोकिएका छन् । समयावधि नाघेर नेपाल ल्याइने सामान खेर जाने चिन्तामा व्यवसायीहरु छन् ।

समयमा सामान नआउँदा दसैं खल्लो !

कोरोना महामारीको जोखिम थोरै घटेको महसुस गर्दै यो वर्षको दसैंका लागि व्यापारीहरुले चीनका विभिन्न स्थानमा सामान अर्डर गरे । तर, लामो समयदेखि सामान उतै अड्किँदा दसै बजार नै प्रभावित बनेको व्यवसायीहरु बताउँछन् । अहिले दसैं–तिहारका लागि अर्डर गरेको लत्ताकपडा, जुत्ता, इलेक्ट्रोनिक सामानसँगै स्याउजस्ता सामान रोकिएका हुन् ।

व्यापारीहरुले गर्मी मौसमका लागि मगाएको सामान पनि लामो समयदेखि सीमापारि नै रोकिँदा खेर जाने जोखिम बढेको छ । नेपालीहरुको अर्बौं मूल्यको सामान चीनका विभिन्न स्थानमा रोकिएको हो । अहिले चीनको केरुङमा मात्रै अड्किएका पाँच सय भन्दा बढी कन्टेरमा नेपाली व्यवसायीहरुको तीन अर्बभन्दा बढी रकम लगानी भएको छ। 

चीनबाट नेपालमा सामान भित्राउने रसुवागढी र तातोपानी नाकाबाट अहिले निकै थोरै मात्रै कन्टेरनर नेपाल भित्रिने गरेका छन् । कोरोना महामारीअघि चिनियाँ नाकाबाट दैनिक ५० देखि ६० वटा मालबाहक कन्टेनर नेपाल आउने गरेका थिए । 



लामो समयसम्म सामान आउन नसक्दा बिग्रने तथा म्याद नाघ्ने मात्रै होइन, फेन्सी सामानको महत्व नै घट्ने व्यापारीहरु बताउँछन् । नेपाल–चीन चेम्बर अफ कमर्सका निरज राईले चीन सरकारले नेपालीको सामान रोक्ने नियत नै राख्दा पनि नेपाल सरकारले पहल गर्न नसकेको गुनासो गरे ।   

उनले फरकधारसँग भने, ‘सरकारले कूटनीतिक पहल गरिरहेको त बताइरहन्छ । तर, पटकपटक नेपालले पैसा तिरेर किनेको सामान रोकिँदा मुकदर्शक बनेको छ । लामो समयदेखि सामान रोकिँदा सामानको डेट एक्सपायर हुने र पूरै लगानी डुब्ने समस्या सबैभन्दा बढी छ ।’



कोरोनापछि चीनको अघोषित नाकाबन्दी ! 

चिनियाँ पक्षले नेपालको सामान रोकेर ज्यादति गर्न लागेको नयाँ घटना भने होइन । कोरोना महामारीको बहाना बनाउँदै झण्डै तीन वर्ष अघिदेखि नेपाली मालबाहक कन्टेनर रोकेको छ । यतिमात्रै होइन, चिनियाँ पक्षले निरन्तर बहाना बनाउँदै नेपाली पक्षलाई दुःख दिने गरेको भन्सार कार्यालय स्रोत बताउँछ । 

अन्तर्राष्ट्रिय पारवहन सम्झौताअनुसार व्यापार गर्ने दुई मुलुकले निर्वाध रुपमा सामानहरु जाने–आउने वातावरण बनाउनुपर्ने हो । तर, सरकारले कूटनीतिक पहल गरिरहेको बताइरहने गरे पनि चीनले हेपाहा प्रवृत्ति दोहोर्‍याइरहने गरेको भन्सारका अधिकारीहरु बताउँछन् ।  रसुवागढी भन्सार कार्यालयका एक अधिकृतले भने, ‘हामीले रकम तिरिसकेको सामान रोक्नु अन्तर्राष्ट्रिय पारवहन सम्झौता विपरीत हो, तर चिनियाँ प्रशासनले नेपालको आग्रहलाई पटकपटक बेवास्ता गर्दै चीनको हेपाहा प्रवृत्ति दोहोर्‍याइरहेको छ ।’ 

नेपालको रसुवागढीबाट २४ किलोमिटर टाढाको केरुङ नाकासम्म नेपाली व्यापारीहरु आफैं गएर सामान नेपाल ल्याउने गर्थे । तर, कोरोना महामारीपछि संक्रमणको बहानामा कोटा प्रणालीअनुसार केही कन्टेनर सामान चिनियाँ पक्षले नै मितेरी पुलमा ल्याएर छोड्न थालेका छन् । रसुवागढी भन्सार कार्यालयका अनुसार चिनियाँ पक्षको आग्रहमा मितेरी पुलबाट रसुवागढीसम्म सामान ल्याउने मजदुर र चालकहरु मितेरी पुलनजिकै होटलमा बस्ने गर्छन् । उनीहरुले सामान नेपाल ल्याउने गर्छन् ।

चीनतर्फ निर्यात ठप्प

रसुवागढी र तातोपानी नाकाबाट न्यून मात्रामा आयात भइरहे पनि पनि निर्यात भने ठप्प छ । चीनले कुनै पनि सामान नेपालबाट लैजान मानेको छैन । गत वर्षको चिनियाँ ल्होसारदेखि नै निर्यात बन्द भए पनि हालसम्म पुनः सञ्चालन हुन सकेको छैन ।
 

  • प्रकाशित मिति : असोज १८, २०७८ साेमबार १६:१४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया