जसपाको भागमा भौतिक पूर्वाधारसहित चार मन्त्रालय

सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित चारवटा मन्त्रालय पाउने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ गठबन्धन दलबीच आफ्नो पार्टीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय दिने सहमति भएको औपचारिक जानकारी गराए । 

सत्तारुढ गठबन्धन दलको बैठक मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकले आफ्नो पार्टीलाई ४ वटा मन्त्रालय दिने निर्णय गरेको कुरा पार्टी संसदीय दलको नेता समेत रहेका अध्यक्ष यादवले संसदीय दलको बैठकमा जानकारी गराएको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिए । 

त्यसैगरी बैठकले पार्टीको तर्फबाट मन्त्री बन्नेको नामावली टुंगो लगाउने जिम्मेवारी अध्यक्ष यादवलाई नै दिएको छ । नेता यादवले भने, ‘आज बिहान सत्तारुढ दलको बैठकले बालुवाटारमा जुन मन्त्रालयको भागबण्डा गरेको छ । त्यसबारे अध्यक्षले बैठकलाई जानकारी गराउनुभयो । हाम्रो भागमा चारवटा मन्त्रालय आएको कुरा जानकारी गराइयो ।’ 

अध्यक्ष यादवलाई पार्टीको हितमा सबै प्रकारको क्षेत्रीयता, जातीयता, लैंगिकता, मूल्यांकन र क्षमताका आधारमा निर्णय गर्न जिम्मेवारी दिने सर्वसम्मत निर्णय गरिएको उनले बताए । 

जनता समाजवादी पार्टी, नेपालका २१ जना सांसद छन् । सरकार गठन भएको ८३ दिनपछि बल्ल सत्तारुढ गठबन्धनले मन्त्रालय भागबन्डाको विषय टुंगो लगाएको हो । अब दलहरुले मन्त्रीहरुको नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएपछि मन्त्रिपरिषदले पूर्णता पाउनेछ ।





  • प्रकाशित मिति : असोज १९, २०७८ मंगलबार १८:२१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया