बाटोमै लुटिन्छन् भारतबाट फर्किने नेपाली, रित्तो हात घर फर्किन बाध्य

अहिले भारतबाट फर्किने नेपालीको सीमानाकामा घुइँचो लागेको छ । रोजगारीका लागि भारत पसेकाहरू दसैँ-तिहार मनाउन घर फर्किन थालेपछि सीमामा घुइँचो लागेको हो ।

सुदूर र मध्यपश्चिमका नागरिक रोजगारीका लागि प्रायः भारत जान्छन् । बर्षौँपछि परिवारसँग भेटघाट गर्न घर फर्किने धेरै नेपाली सीमामै लुटिने गरेका छन् । यो पटक पनि भारतीय बस स्टेसन र सीमामा स्वदेश फर्किने नेपाली लुटिरहेका घटना बाहिर आइरहेका छन् ।

धनगढी उपमहानगरपालिका-१३ का दीपक जोशी र उनका साथीहरू भारतको एक बसपार्कमा लुटिएका छन् । हिमाञ्चल प्रदेशबाट नेपाल आउनका लागि बसपार्कमा पर्खिरहेका उनीहरूमाथि भारतीय नागरिकले हतियार देखाएर लुटपाट गरेका हुन् ।

‘हामी हिमाञ्चल प्रदेशबाट नेपाल आउनका लागि बसपार्कमा प्रतीक्षा गरिरहेका थियौँ,’  जोशीले भने, ‘त्यहाँको बसपार्कमा एक्लै भएको मौका पारी तीन जनालाई खुकुरी तेर्स्याउँदै उनीहरूसँग भएको पैसा लगे, कसैलाई भने मार्ने धम्की थिए ।’

आफूहरूको समूहमा १९ जना रहेकोमा तीन जना एक्लै भएको मौका छोपी लुटेराले खुकुरी देखाउँदै १ लाख ३० हजार बढी लुटेर लगेर भागेको उनले बताए । असोज १५ गते भारतबाट आउँदा आफूहरू लुटपाटमा परेको उनले बताए ।

जोशीका अनुसार भारतकै हिमाञ्चलबाट आएका अन्य २ जना पनि नेपाली बसभित्रै लुटिएका छन्  । बसमा यात्रा गरिरहेका बेला खल्ती काटेर दुई जनाको उनीहरूको ६२ हजार भारु चोरेको उनले बताए । ‘हामीसँगै हिमाञ्चलबाट आएका दुई जना नेपालीलाई बसभित्रै खल्ती काटेर चोरले लुटे,’ उनले भने, ‘दसैँमा खर्च जुटाएर आएका उनीहरू रित्तो हात फर्किन बाध्य भए ।’



पछिल्लो समय भारतबाट नेपाल फर्कने धेरै नेपाली बाटैमा लुटिने गरेका धनगढी-३ का कपिल बोहराले बताए । दसैँमा नेपालीले पैसा बोकेर आउँछन् भन्ने थाहा पाएकाहरूले नेपालीलाई निशाना बनाउने गरेको उनले बताए ।

‘दसैँमा घर आउने नेपालीलाई ठाउँठाउँमा निसाना बनाइएको हुन्छ,’ उनले भने, ‘बसभित्रै पनि धेरैलाई लुटिन्छ, केही नेपाली आफ्नै लापरबाहीका कारण पनि लुटपाटमा पर्ने गरेका छन् ।’



धेरै नेपाली भारतबाट आउँदा सावधानी नै नअपनाएर आउने गरेका बोहराले बताए । एक्लै हिँड्ने, बाटोमै मदिरा सेवन गर्ने गरेका कारण धेरै नेपाली लुटिने गरेको उनले बताए ।

त्रिनगर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक रमेश शाहीले पनि भारतमा लुटपाट भयो भन्दै धेरै नेपालीले गुनासो गर्ने गरेका बताए । भारतमा लुटिएकाको गुनासो आए पनि आफूहरूले केही गर्नसक्ने अवस्था नरहेको उनले बताए ।

सीमामा आइपुग्नेको हुँदैन कोरोना परीक्षण  

सीमा जोडिएको गौरीफन्टा नाकाबाट बिहान र राति आउने नेपाली कोरोना परीक्षणबिना नै नेपाल आउने गरेका छन् । गौरीफन्टा​ नाका हुँदै बिहान ५ देखि राति १० बजेसम्म भारतबाट नागरिक नेपाल आउने गर्छन् । तर, सीमामा स्थापना गरिएको स्वास्थ्य परीक्षण केन्द्रमा भने बिहान ६ देखि बेलुका ६ बजेसम्म मात्रै कोरोना परीक्षण हुँदै आएको छ ।

जसकारण बिहान ६ अघि आउने र बेलुका ६ बजेपछि गौरीफन्टा​ नाका हुँदै नेपाल भित्रिने नागरिक कोरोना परीक्षणबिना नै घर जाने गरेका छन् ।  ‘स्वास्थ्य परीक्षण केन्द्र बिहान ६ देखि साँझ ८ बजेसम्म मात्रै सञ्चालन हुँदै आएको छ,’ रिक्सा व्यवसायी धीरज शर्माले भने, ‘तर, भारतबाट सीमा नाका हुँदै मानिसहरू बिहान ५ देखि राति १० बजेसम्म नेपाल भित्रिने गर्दछन्, बिहान र राति आएकाहरूको स्वाथ्य परीक्षण नै हुँदैन ।’

गौरीफन्टा​ नाकामा दिल्लीबाट दिउँसो आउने सवारी राति १० बजेसम्म पुग्ने गरेको उनले बताए । यसैगरी दिल्लीबाट बेलुका आउने सार्वजनिक बस बिहान ६ बजेअघि नै गौरीफन्टा​ नाकामा  पुग्छन् । 
 
गौरीफन्टा​ नाकामा  धनगढी उप-महानगरपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिकाको सहकार्यमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । एन्टिजेनमा कोरोना पोजिटिभ भएकालाई धनगढी-१५  बेलीमा निर्माण गरिएको आइसोलेसन सेन्टरमा राख्ने गरिएको छ । रिपोर्ट नेगेटिभ आएकाहरू भने सोझै घर जाने गरेका छन् ।

गौरीफन्टा​ नाका स्वास्थ्य परीक्षण केन्द्रका संयोजक दिनेश ठकुल्लाले भने बिहान र रातिको समयमा सीमामा आउने नागरिक स्थानीय बजारका भएको बताए । ‘उनीहरू नजिकैको बजारबाट बिहानब-बेलुका हिँड्ने गर्छन्,’ उनले भने,  ‘त्यसताको परीक्षण गर्ने गरिएको छैन, लामो दूरीबाट आएकाहरू बिहान ६ देखि बेलुका ५ बजेसम्म सीमामा प्रवेश गरिसक्छन् ।’

  • प्रकाशित मिति : असोज १९, २०७८ मंगलबार १९:२९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया