काठमाडौं– शनिबार राजधानीको भृकुटीमण्डपमा आयोजित नेकपाको चियापानमा नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रह्यो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दसैँ, तिहार तथा छठ पर्वको उपलक्ष्यमा चियापान कार्यक्रमको आयोजना गरेको थियो ।
नेकपा केन्द्रीय समितिले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत उपस्थित भए । तर, नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली भने कार्यक्रममा देखिएनन् ।
चियापानमा दिउँसो ३ बजे प्रधानमन्त्री ओली सहभागी हुने भन्दै धेरैले गरेको आशा महासचिव विष्णु पौडेलले उनी अस्वस्थ रहेको भन्दै कार्यक्रममा नआउने बताएपछि निराशामा परिणत भयो । डाक्टरले आराम गर्ने सुझाब दिएकाले उनी कार्यक्रममा उपस्थित हुन नसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कार्यक्रममा नेकपाका हाई कमान्डका नेताहरू नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेल पनि उपस्थित हुन सकेनन् । श्रेठ र पोखरेल चीन भ्रमणमा रहेका कारण चियापानमा सहभागी हुन नसकेका हुन् ।
चियापानमा पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा महासचिव पौडेलले सम्पूर्ण देशवासीका लागि सकारात्मक सन्देश दिनेगरी कार्यक्रमको आयोजना गरिएको बताए । ‘यो एक सांस्कृतिक कार्यक्रम हो । देशमा मनाउने चाडको बारेमा सकारात्मक सन्देश दिने भएकाले यो कार्यक्रमको आयोजना गरिएको हो,’ पत्रकारसँगको कुराकानीमा उनले भने ।
तल्ला कमिटी एकता र पार्टीभित्र देखिएको विवादबारेको प्रश्नमा महासचिव पौडेलले सांस्कृतिक कार्यक्रम भएकाले यो पार्टीभित्रका विवाद, गुट–उपगुटबारे कुराकानी गर्ने वेला नभएको जवाफ दिए । उनले भने, ‘यो सम्पूर्ण नेपालीहरूका लागि आवश्यक सकारात्मक सन्देश दिने वेला हो । यो कार्यक्रममा पार्टीभित्रको कुरा नगरौँ ।’
नेपाल र प्रचण्डबीच के कुरामा खासखुस ?
नेकपाका तेस्रो वरीयताका नेता माधवकुमार नेपाल वेलैमा चियापान समारोहस्थल पुगेका थिए । अध्यक्ष प्रचण्डले कार्यक्रमको औपचारिक सुरुआत गर्नुअघि नै पुगेका नेपाल दिनभरजसो हँसिलो अनुहारमा थिए ।
पछिल्लो समय माधव नेपाल समूह पार्टी नेतृत्वसँग असन्तुष्ट देखिएको छ । पार्टीले आफू विदेश भ्रमणमा रहेको वेला तोकेको प्रदेश तहको अध्यक्ष र इन्चार्जको विषयलाई लिएर उनी केही समयअघिदेखि असन्तुष्ट छन् । उनै असन्तुष्ट नेपाल चियापानमा भने निकै हर्षित मुद्रामा देखिएका थिए ।
चियापान समारोहभर उनी विभिन्न नेता तथा कार्यकर्तासँगको शुभकामना आदानप्रदानमा सरिक भए ।
समारोहको अन्त्यतिर नेता नेपाल र अध्यक्ष प्रचण्डले केहीबेर कुराकानी गरेका थिए । चियापनमा उनीहरूबीच झन्डै ५ मिनेटजति कुराकानी भएको थियो । नेता नेपाल र प्रचण्डबीचको खासखुसलाई देखेर कार्यक्रममा उपस्थित धेरै कार्यकर्ताले प्रश्न नै गरे, ‘के कुराकानी भयो नेपाल र दाहालबीच ?’
पछिल्लो समय नेकपामा देखिएको आन्तरिक विवादका कारण पनि उनीहरूले गरेको कानेखुसीलाई अर्थपूर्ण रूपमा हेरिएको छ । नेकपाभित्रको आन्तरिक विवादको समयमा नेता नेपाल र अध्यक्ष दाहालले गरेको कुराकानी ‘अर्थपूर्ण’ हुन सक्ने अड्कलबाजी नेकपाभित्र हुन थालेको छ ।
कार्यक्रमस्थलमै उनीहरूले केहीबेर गरेको कुराकानी नेकपाको विवाद समाधान गर्न फलदायी होला ? प्रश्न उब्जेको छ । पछिल्लो समय नेता नेपाल र अध्यक्ष दाहालबीचको सम्बन्ध निकै राम्रो भएको पनि विश्लेषण हुने गरेको छ ।
त्यस्तै, कार्यक्रममा भारतीय कम्युनिस्ट पार्टीका महासचिव सीताराम यचुरीको सहभागितालाई पनि महत्वका साथ हेरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।