नर्भिक अस्पताल : जसमाथि मालिकलाई नै छैन विश्वास

थापाथलीमा रहेको नर्भिक अस्पताल धनाड्य तथा नेताको उपचार गर्ने थलोको रूपमा चिनिन्छ । पैसा जति भने पनि खर्च गर्न तयार हुने तर राम्रो सेवासुविधा खोज्नेहरू नर्भिकमा जान्छन् । 

कोरोना संक्रमणपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार होस् या पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल नै किन नहोस् सबैको उपचार नर्भिकमै भयो ।

यति मात्र नभएर २०७४ को मंसिरमा हृदयघातबाट निधन भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का छोरा प्रकाश दाहाललाई पनि उपचारका लागि त्यहीँ लगिएको थियो । तर, अफसोच उनको अस्पताल पुग्नु अगावै निधन भइसकेको थियो । 

यसरी देश नै विश्वास गर्ने र भरपर्ने नर्भिकका मालिक भने आफ्नो उपचार गराउन विदेश जाने गरेका छन् । बसन्त मुटुको धमनीको उपचारका लागि गर्न दुबई पुगेका हुन् । उनले दुबईको अमेरिकन अस्पतालमा उपचार गराइरहेका छन् । मुटुमा समस्या आएपछि उनले आफ्नै अस्पतालमा एन्जियोग्राफी गराएका थिए । 

एन्जियोग्राफी गर्ने क्रममा उनको मुटुको धमनीमा समस्या देखिएको थियो । त्यसपछि चौधरी विशेष डाक्टरकै सल्लाहमा थप उपचारका लागि दुबई गएका हुन् । यसरी आफ्नै अस्पताल र डाक्टरलाई विश्वास नगरेर विदेशमा उपचारका लागि गएको भन्दै उनको चर्को आलोचना भइरहेको छ । 

बसन्तले दुबई जानुको कारणबारे जानकारी दिएका छन् । यसअघि उनको परिवारले नै दुबईमा घुम्न गएको बेला मुटुमा समस्या आएपछि चेकअप गराइएको जानकारी दिएको थियो । उपचारकै लागि दुबई गएको भन्ने जानकारी दिए नर्भिक अस्पतालप्रति गलत धारणा आउने भएकाले उनको परिवारले यस्तो जानकारी दिएको थियो । 



जुन कुरा सर्वत्र चर्चामा आएपछि चौधरीले नै विज्ञप्ति जारी गरेर नर्भिक अस्पतालका विशेष डाक्टरको सल्लाहमा नै थप उपचारको लागि दुबई गएको बताएका थिए । 

आखिर मुटुकै उपचारका लागि खोलिएको अस्पतालमा उपचार नगराएर दुबई नै जानुपर्ने कस्तो खालको समस्या थियो? धेरैले चासो व्यक्त गरिरहेका छन् । यस विषयमा चौधरीले आफ्नो अस्पतालमा मुटु रोगको जाँच गर्न एफएफआर/आईबीयूएस प्रविधि नभएर दुबई गएको बताएका छन् । 



वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर हरिहर खनालका अनुसार एफएफआर/आईबीयूएस भनेको रगत नलीभित्र गएर अल्ट्रासाउण्ड गर्ने प्रविधि हो । त्यसरी अल्ट्रासाउण्ड गराउँदा रगत नलीभित्र भएको कोलेस्ट्रोल जमेको, ब्लक भएकोबारे सबै देखाउँछ । 

यो प्रविधि नेपालको शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा सुरुवात गरिएको छ । अन्य कुनै पनि मुटु रोगको उपचार गरिने अस्पतालमा यो प्रविधिको विकास भइसकेको छैन । 

रगतभित्र कोलेस्ट्रोल जमेको, ब्लक भएकोबारे जानकारी लिनका लागि आईबीयूएस नै गर्नु नपर्ने डा. खनालको भनाइ छ । ‘आईबीयूएस गर्नुपर्ने आवश्यकता नै पर्दैन । एन्जियोग्राफीबाट सबै कुरा देखाउँछ । एन्जियोग्राफी गराउँदा ब्लक कहाँ छ? कति प्रतिशत छ? भन्ने कुरा प्रष्ट देखाउँछ,’ डा. खनालले भने । 

मुटु रोगको लागि हुने अधिकांश उपचार पद्धति नेपालमा रहेको उनको भनाइ छ । जटिल खालको अप्रेशन, मुटुको प्रत्यारोपणबाहेक सबै उपचार नेपालमै भइरहेको डा. खनाल बताउँछन् । 

‘नेपालमा मुटु प्रत्यारोपण हुँदैन । जटिल १८/२० घण्टा समय लाग्ने खालका विशेष अप्रेशन हुँदैन । हामीसँग भएको अनुभवले पनि त्यत्रो ठूला र जटिल खालको अप्रेशन गर्न सकिँदैन,’ डा. खनालले भने, ‘सामान्यतयाः ९० प्रतिशत अप्रेशन नेपालमै हुन्छ । विश्वमा विकास भइरहेको प्रायः प्रविधि नेपालमा छ । तर, ठूलाबडाले हामीलाई विश्वास गर्दैनन् ।’

चिकित्सा क्षेत्रमा नेपालमा पनि विश्वमा रहेका प्रायः प्रविधि भित्रिने गरेको भन्दै उनले त्यतातिर ध्यान दिन सकेको खण्डमा विदेश गएर उपचार गर्नुपर्ने बाध्यता हट्ने बताए । 

विदेशमा उपचारको नाममा वर्षेनी अर्बौ रुपैयाँ त्यहाँका अस्पतालमा पठाउने गरेको डा. खनालले बताए । त्यसरी विदेश गएर उपचार गराउनुपर्ने र पैसा विदेशिने समस्या कम गर्नका लागि सबैभन्दा पहिला सबैले नेपाली अस्पताल र नेपाली चिकित्सकमाथि विश्वास गर्नुपर्ने उनको भनाइ छ । 

  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार १९:३८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया