माओवादीबाट एमालेमा गएका सुदूरपश्चिम प्रदेशका नेता–कार्यकर्ता पुनः माओवादी केन्द्रमा नै फर्किन थालेका छन् ।
सर्वोच्च अदालतको फैसलाले नेकपामा सम्मिलित दुई दललाई पुरानै अवस्थामा फर्काइदिएपछि एमाले रोजेका माओवादीका नेता–तथा कार्यकर्ता पुनः आफ्नो पुरानै घर फर्किन थालेका हुन् । सुदूरपश्चिम प्रदेशबाट नेकपा एमालेमा प्रवेश गरेका ९० प्रतिशतभन्दा बढी नेता–कार्यकर्ता माओवादीमै फर्केको दाबी गरिएको छ ।
पूर्वमन्त्री लेखराज भट्ट माओवादी केन्द्रको सुदूरपश्चिम इन्चनर्ज रहँदा उनका अत्यन्त निकट मानिएका उद्धव भट्टराई दुई दिनअघि माओवादी केन्द्रमा फर्किएका थिए । भट्ट मन्त्री हुँदा भट्टराईले स्वकीय सचिवको जिम्मेवारी समेत निर्वाह गरेका थिए । नेता भट्ट नेकपा एमालेमा प्रवेश गरेपछि भट्टराईले पनि उनलाई साथ दिएका थिए । अहिले उनी पुरानै घर फर्केका हुन् ।
नेकपा विभाजनपछि केही समय एमालेमा सक्रिय रहेका माओवादी केन्द्रका नेता ओमविक्रम भाट ‘सरल’ माओवादी केन्द्रमा फर्किएपछि भाटकै सक्रियतामा सुदूरपश्चिमका विभिन्न जिल्लामा एमालेमा रहेका माओवादी केन्द्रका पुराना नेता माओवादी केन्द्रमा फर्किने क्रम तीव्र भएको हो ।
सरल पनि नेता भट्टको अत्यन्त निकट मानिन्थे । झण्डै दुई दशक नेता भट्टसँगै रहेका सरल भट्ट मन्त्री हुँदा स्वकीय सचिव थिए ।
सरलले अधिकांश माओवादी केन्द्रका नेता तथा कार्यकर्ता एमालेबाट फर्किसकेको बताएका छन् । बाँकी रहेका नेता तथा कार्यकर्ता पनि छिट्टै माओवादी केन्द्रमा फर्किने उनले दाबी गरे ।
प्रदेशका पहाडी जिल्लामा समेत एमालेमा प्रवेश गरेका माओवादी केन्द्रका नेता पुरानै घरमा फर्किने क्रम तीव्र भएको सरलले बताए । बाजुराबाट दिनेशराज जैसी, डडेल्धुराबाट विनोदकुमार जोशी र करुणाकर ओझाको नेतृत्वमा एमालेबाट माओवादी नेता तथा कार्यकर्ता फर्किएको माओवादी केन्द्रले जनाएको छ ।
युवा संघका केन्द्रीय सदस्य योगेश साउँदको नेतृत्वमा सुवास कुवँरसहित ३६ जना केन्द्रीय सदस्य पनि माओवादीमा फर्किएको माओवादी केन्द्रले जनाएको छ । अछामबाट झपट बोहरा र खगेन्द्र रोकायालगायत केही नेता मात्र एमालेमा गएको र पुराना नेता तथा कार्यकर्ता माओवादी केन्द्रमै रहेको माओवादीको दाबी छ ।
डोटीमा कोही पनि नेता–कार्यकर्ता एमालेमा नगएको दाबी गरेको माओवादी केन्द्रले दार्चुलामा पदमराज पन्तको नेतृत्वमा एमालेबाट माओवादी नेता फर्किएको जनाएको छ । एमाले प्रवेश गरेका लालिराम लुहार भने फर्किएका छैनन् ।
बैतडीमा रमेश महराको नेतृत्वमा एमालेबाट माओवादी कार्यकर्ता आफ्नै घर फर्किएको जनाइएको छ ।
यद्यपि रमिल बम र उनकी पत्नी पुर्चौडी नगरपालिकाकी उपमेयर जयन्ती ऐर भने एमालेमै छन् । उपमेयर ऐर फर्किने विश्वासले माओवादी केन्द्रले कारबाही नगरेको जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।