कालीकोटको शुभकालिका गाउँपालिका–३ भर्ताको मदाने क्षेत्रमा रहेको बहुमूल्य धातु काइनाइट अवैध उत्खनन् भइरहेको छ । भर्ताको बुकीमालिका सामुदायिक वनमा रहेको खानीबाट ठूलो परिणाममा अवैध रूपमा काइनाइट उत्खनन गरेर भारत निकासी भइरहेको हो ।
गाउँपालिका, वडापालिका, जिल्ला समन्वय समितिको अनुमतिविना नै अवैध रूपमा राजश्व छलेर निकासी भइरहेको छ । राजश्व छलेर रातारात अवैध निकासी गरिहेको शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईंले बताए । ‘काइनाइट उत्खननका नाममा २० मिटरका बंंङ्कर वनाएर सयौं रुख नष्ट गरिएका छन्,’ उनले भने, ‘ठाउँठाउँमा पहिरो गइरहेको अवस्था छ ।’
स्थानीयसँगको मिलेमतोमा बहुमूल्य ढुङ्ंगा भारततिर अवैध निकासी गरिरहेको शुभकालिका गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष धनराज शाही बताए ।
‘सरोकारवालाहरूले चासो नदिँदा यस प्रदेशकै आर्थिक सम्भावना बोकेको यो खानी नष्ट भइरहेको छ,’ उनले भने, ‘हामीले धेरै प्रयास गरे पनि अझैँ रोक्न सकिएको छैन ।’
विपिन एण्ड अभि खनिज उद्योग प्रालिले ०५९ असारमा खानी तथा भूगर्भ विभागवाट उत्खनन् इजाजत पत्र लिएको थियो । ठेकेदारले डेढ दशकसम्म राजस्व तिरेका छैनन् ।
खानी उत्खननका लागि जंगलभित्र कामदारलाई बस्नका लागि टहरासमेत बनाइएका छ । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि तत्कालका लागि उत्खनन् कार्य रोक्न लगाइए पनि फेरि रातारात अवैध उत्खनन् जारी रहेको गाउँपालिका अध्यक्ष चौलागाईंले बताए । ‘अवैध रूपमा निकासी भएको राजश्व तिरेका छैनन्,’ उनले भने, ‘कुनै निकायमा पहल गर्दा पनि अवैध खानी उत्खनन् रोक्न सकिएको छैन ।’
वडापालिकाको बैठकले पुराना चौकीदार हटाएर नयाँ ६ जना नियुक्त गर्ने निर्णय गरेको वडाध्यक्ष धनराज शाहीले बताए । ‘ठेकेदारहरूले रातारात गुण्डा लगाएर सार्वजनिक सामुदायिक वन कब्जा गरेर बसेका छन्,’ उनले भने, ‘स्थानीय सरकारलाई राजश्व नतिरी खनिज उत्खनन् गरी अवैध निकासी गरिरहेका छन् ।’
कालिका गाउँपालिका–३ भर्ताको ३६ सय ९९ हेक्टर क्षेत्रफलमध्ये २ हजार ७ सय ७९ हेक्टर मदाने वन क्षेत्रमा बहुमूल्य काइनाइट रहेको छ ।
खनिज उत्खनन् गर्नका लागि सयौं कामदार घर टहरा बनाएर वन क्षेत्रभित्र बस्ने गरेपछि रुख कटान गर्नुका साथै वन्यजन्तुको चोरीसिकारी समेत वढेको जिल्ला वन रक्षक वीरेन्द्रप्रसाद आचार्यले बताए ।
‘ठूलाठूला बङ्कर खनेपछि वन क्षेत्रका पानीका मुहानसमेत सुकेका छन्,’ उनले भने, ‘वन क्षेत्रमा पाइने पाँचऔले, कटुकीे, सतुवा, अत्यासीलगायत जडिबुटीको पनि अवैध निकासी भइरहेको छ ।’
खानी तथा भूगर्भ विभागको नियम २१ को उपनियम १ अनुसार गार्नेट काइनाइट प्रतिकिलो ३ रुपैयाँ औधोगिक स्तरको प्रतिटन ५० रुपैयाँ राजश्व राज्यलाई तिर्नुपर्ने खानी तथा भूगर्भ विभाग ऐनमा उल्लेख छ । तर, त्यसविपरित जिल्लामा रहेको काइनाइट खानीको अवैध उत्खन् भइरहेको छ ।
अवैध काइनाइटसहित दुईजना पक्राउ
जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट १९ किलो ४० ग्राम काइनेटिक ढुंगा बरामद गरेको छ । प्रहरी निरीक्षक कनकबहादुर शाही नेतृत्वको प्रहरीले वीरेन्द्रनगर नगरपालिका–१२ नारायण टोलबाट काइनेटिक ढुंगा बरामद गरेको हो ।
सोही टोलमा रहेको जयधनी बस्नेतको घरमा अवैध ढुंगाको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा त्यहाँ पुगेर ढुंगा बरामद गरेको प्रहरी निरीक्षक शाहीले बताए ।
प्रहरीले बस्नेतसँगै जुनीचाँदे गाउँपालिका–७ जाजरकोट घर भई वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेत बस्ने ३२ वर्षीय रामकृष्ण घर्तीलाई पनि पक्राउ गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।