कसले जित्ला चाैथाे संस्करणकाे इपिएल ?

नेपालको सबैभन्दा ठूलाे फ्रेन्चाइज क्रिकेट लिग एभरेस्ट प्रिमियर लिग (इपिएल)को चौथो संस्करण समापनतर्फ उन्मुख छ । लिग उपाधिका लागि शनिबार चितवन टाइगर्स र पोखरा राइनोज प्रतिस्पर्धा गदैछन् । यी दुई फाइनल पुगेसँगै लिगले नयाँ विजेता पाउने निश्चित भएको छ ।
 
पहिलोपटक इपिएलको फाइनल प्रवेश गरेका दुवै टोली उपाधि उचाल्ने दाउमा हुनेछन् । चितवनले पोखरामाथि समूह चरण र पहिलो क्वालिफायरमा समान ९ विकेटको जित हात पारेको थियो । उ फाइनलमा पनि यसलाई निरन्तरता दिने प्रयासमा हुनेछ ।

पोखरा पनि चितवनविरुद्ध हारको श्रृखंला अन्त्य गर्दै लिग उपाधि हात पार्न चाहन्छ । 

दुवै टोलीको हालसम्मको प्रदर्शन   

चितवन टाइगर्स

सोमपाल कामीको कप्तानीमा रहेको चितवनले लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । उसले समूह चरणमा ४ जित र १ हारको नतिजा निकाल्दै शीर्ष स्थानमा रहेर प्ले अफमा स्थान बनाएको थियो। 

समूह चरणको पहिलो खेलमा विराटनगर वारियर्सविरुद्ध २, दोस्रो खेलमा काठमाडौँ किंग्ग-११ लाई ३, तेस्रो खेलमा पोखरा राइनोज ९ र चौथो खेलमा ललितपुर प्याट्रियसलाई ५ विकेटले पराजित गरेको चितवनले पाँचौ तथा अन्तिम खेलमा भैरहवा ग्लाडियटर्ससँग ६ विकेटको हार बेहोरेको थियो ।
 
पहिलो क्वालिफायरमा चितवनले पोखरामाथि ९ विकेटको जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । चितवनले बलिङ, ब्याटिङ र फिल्डिङ तीनै पक्षमा उत्कृष्ट प्रदर्शन गरिरहेको भए पनि ओपनिङमा भने केही समस्या देखिएको थियाे ।



पोखराविरुद्ध जित निकालेपछि पोस्ट म्याच कन्फेरेन्समा पनि कप्तान सोमपाल कामीले यो कुराको स्वीकार गर्दै फाइनलमा यसलाई सुधार गर्ने बताएका थिए । 

चितवनका लागि ओपनर मोहम्मद शेहजादलाई साथ दिने अर्को खेलाडीको कमी देखिएको छ । पोखराविरुद्धको खेलमा हसिम अन्सारीले यसलाई केहि हदसम्म समाधान गरिदिएका छन् ।
  
चितवनका लागि सर्वाधिक रन प्रहार गर्ने खेलाडी माेहम्मद शेहजाद हुन् । उनले ६ खेलमा १ अर्धशतकसहित १३२.४३ स्ट्राइक रेटमका १९६ रन बनाएका छन् ।



लिगमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेका शेहजादले २५ चौका र ८ छक्का प्रहार गरेका छन् । अविजित ६३ रन बनाउनु उनको उत्कृष्ट प्रदर्शन हो ।
 
शेहजादलाई भीम सार्की, राजेश पुलामी मगरजस्ता ब्याट्म्यानको साथ रहनेछ । चितवन बलिङ पनि निकै धातक देखिएको छ । सागर ढकाल चितवनका लागि सर्वाधिक विकेट लिग बलर हुन् । उनले लिगका ६ खेलमा १३ विकेट हात पारेका छन् ।
 
५.३४ इकोनोमीमा बलिङ गरेका लेग स्पिन सागर लिगमा सर्वाधिक विकेट लिने बलर पनि  हुन् । १४ रन खर्चिएर ४ विकेट हात पार्नु उनको उत्कृष्ट प्रदर्शन हो । सागरलाई करिम जन्नत, साहब अलाम, कमलसिंह ऐरीजस्ता बलरको साथ रहेनछ । 
 
पोखरा राइनोज 

विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले लिगमा मध्यम प्रदर्शन गरिरहेको छ । समूह चरणमा ३ जित, १ हार र १ खेलमा अंक बाँडेको उसले दोस्रो स्थानमा रहेर प्ले अफमा स्थान बनाएको थियो ।  
 
समूह चरणको पहिलो खेलमा वर्षा बाधक बन्दा भैरहवा ग्लाडियटर्ससँग अंक बाँडेको पोखराले दोस्रो खेलमा ललितपुर प्याट्रियट्सलाई ९ विकेटले हराउँदा तेस्रो खेलमा चितवन टाइगर्ससँग ९ विकेटको पराजय बेहाेर्‍याे । 

चौथो खेलमा विराटनगर वारियर्सलाई ७ विकेटले पराजित गरेको पोखराले अन्तिम खेलमा डिएल पद्धतिका आधारमा काठमाडौँ किंग्स ११ माथि १४ रनको जित हात पारेको थियो । 

पहिलो क्वालिफायरमा चितवनविरुद्ध ९ विकेटको पराजय बेहोरेको पोखराले दोस्रो क्वालिफायरमा भैरहवामाथि ७ विकेटको जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । 

पोखराले बलिङ, ब्याटिङ र फिल्डिङ तीनै पक्षमा केही सुधार गर्नुपर्ने देखिन्छ । उसको ओपनिङ राम्रो हुन सकिरहेको छैन । 

पोखरा लागि रिचर्ड लेभी सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ७ खेलमा १५ं०.४८ को स्ट्राइक रेटमा १५५ रन बनाएका छन् । 

सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा चौथो स्थानमा रहेका लेभीले १६ चौका र ९ चौका प्रहार गरेका छन् । ४७ रन बनाउनु उनको उत्कृष्ट प्रदर्शन हो । लेभीलाई साहन अर्चिगे, विवेक यादव लगायतका खेलाडीले साथ दिने छन् ।
 
पोखराका बलिङ पनि त्यति घातक देखिएको छैन । विशेषगरी अन्तिम पाँच ओभरमा । नन्दन यादव उसका लागि सर्वाधिक विकेट हात पार्ने बलर हुन् । उनले ७ को खेलमा ७ विकेट हात पारेका छन्  ।

७ को इकोनोमीमा बलिङ गरेरका मध्यम गतिका बलर नन्दन सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा नवौं स्थानमा छन् । ११ रन दिएर ३ विकेट हात पार्नु उनको उत्कृष्ट प्रदर्शन हो । नन्दनलाई जितेन्द्र मुखिया, किशोर महतो लगायतका बलरको साथ रहनेछ । 

समग्रमा हेर्दा चितवन टाइगर्स बलियाे देखिन्छ । उसकाे चुनाैती पन्छाउन पाेखरा राइनाेजलाई त्यति सहज भने हुने छैन । 

  • प्रकाशित मिति : असोज २२, २०७८ शुक्रबार १४:५८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया