एमालेले निरन्तर संसद अवरुद्ध गर्दा अध्यादेशको सहारा लिनुपर्ने अवस्था आयोः सत्तारुढ दल

सत्तारुढ दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गरेकाले सरकारले निजामती सेवा विधेयक फिर्ता लिनु परेको बताएका छन् । 

काँग्रेस सांसद बडुले जरुरी कानुनहरु समेत पास गर्न नदिने गरी प्रमुख प्रतिपक्ष दलले गैरजिम्मेवार ढंगले संसद अवरुद्ध गरेको आरोप लगाए । 

एमालेको कारण सरकारले विधेयकहरु फिर्ता लिएर अध्यादेशको सहारा लिनुपर्ने अवस्था आएको दावी उनले गरे । 

शुक्रबार संसद बैठक पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘प्रमुख प्रतिपक्ष दलले यति ठूलो अवरोध गरिरहेको छ । संसदलाई सूचारु गर्न दिने, राज्य संचालनमा जरुरी कानुनहरु पास गर्न दिने, जनताको जल्दाबल्दा समस्यालाई जनताको माझमा पु¥याउन दिने । यसको खालको वातावरण नबनाउने । यो जनताप्रतिको, संसदप्रतिको उत्तरदायित्व बिर्सेर जसरी भएपनि गैरउत्तरदायी ढंगले प्रमुख प्रतिपक्षले जुन अवरोध खडा गरिरहेको छ । त्यसैको परिणाम हो यो ।’
त्यसैगरी सत्तासाझेदार जनता समाजवादी पार्टी (जसपा), नेपालका सांसद सरदसिंह भण्डारीले पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध पार्ने काम गरिरहेकाले कानुन बनाउने काम अघि बढन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

सांसद भण्डारीले संसदीय पद्धति, संसदीय मर्यादा र संसदीय अभ्यास विपरित प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदलाई पंगु बनाउने काम गरिरहेको आरोप समेत उनले लगाए । 

‘संसदीय पद्धति, संसदीय मर्यादा, संसदीय अभ्यासलाई भत्काउने काम सुरु भएको छ । संसदलाई पंगु बनाउने र डिफल्ट बनाउने काम सूरु भएको छ । यो असाध्यै चिन्ताको विषय हो र हामी यो विषयमा चिन्तित छौं । किन भन्नुहुन्छ भने संसद भनेकै विधान बनाउने अथवा कानुन बनाउने ठाउँ हो । तर अहिले जुन किसिमको अन्यौल र अराजकताको स्थिति आएको छ । त्यसलाई चिर्नका लागि आएका अध्यादेशहरूलाई प्रतिस्थापन गरेर संसदबाट पास गर्नुको साटो फिर्ता लिईराखेको छ । यसले मुलुकलाई अधोगतितर्फ लगि राखेको छ,’ शुक्रबार संसदबाट बाहिरिने क्रममा उहाँले सञ्चारकर्मीमाझ भन्नु भयो । 





  • प्रकाशित मिति : असोज २२, २०७८ शुक्रबार १६:१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया