२ अर्ब १० करोड लगानीमा पर्यटन पूर्वाधारयुक्त बन्दीपुर केबलकार

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण भएको केबलकार आगामी वैशाख १ गतेबाट सञ्चालनमा आउने भएको छ ।  

‘पहाडकी रानी’ नामले परिचित बन्दीपुरमा घुम्न आउने पर्यटकलाई मनोरञ्जन र सुविधा प्रदान गर्ने उद्देश्यले बन्दीपुर केबलकार एण्ड टुरिजम कम्पनीले पर्यटन पूर्वाधारयुक्त बन्दीपुर केबलकार सञ्चालनमा ल्याउने भएको हो ।   

२०७५ असोजदेखि सञ्चालमा आएको उक्त केबलकारसहितको पाँच तारे होटलमा २ अर्ब १० करोड लगानी हुने कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । उक्त परियोजना दक्षिण एसियाकै प्रविधिमैत्री मात्रै नभएर नमुना हुने कम्पनीले जनाएको छ ।  

बन्दीपुर गाउँपालिका–४, ठूलोढुंगादेखि बरालथोकसम्म एक हजार ७ सय मिटरको दुरीमा केबलकार निर्माण हुने छ । बन्दीपुर केबलकारसहित पाँचतारे होटलको  कुइन टावर निर्माण अन्तिम चरणमा पुगेको कम्पनीका अध्यक्ष शर्माले बताए । डुम्रे ठूलोढुंगादेखि बन्दीपुरसम्मको बस यात्रामा एक घण्टा लाग्छ । केबलकार यात्रामा भने ७ मिनेटमा नै पुग्न सकिने छ ।

‘बन्दीपुरको पर्यटनलाई नयाँ शिराका साथ आधुनिक ढंगबाट संसारभरिका पर्यटकहरुलाई आकर्षित गर्न आधुनिक पर्यटन पूर्वाधारको आवश्यकता थियो । यही योजनासहित हाम्रो टिम लागेको छ’, अध्यक्ष शर्माले भने, ‘यो परियोजना दक्षिण एसियाकै आश्चर्यजनक पर्यटकीय पूर्वाधारको श्रेणीमा भिन्न र अनुपम छ । जबकि केबलकार सिधै तारे होटलको विशाल १६ तले ‘स्वीन टावर’ मा प्रवेश गर्दछ ।’

उनकाअनुसार विशेषत मुख्य कम्पनी आर.के.डी. होल्डिङग्स्को नेतृत्वमा अविभाज्य कम्पनी चेनको सैद्धान्तिक र व्यवस्थापकीय प्रणालीमा परियोजनाहरुको विकास र निर्माण भइरहेको छ । 



यो परियोजना स्वदेश तथा विदेशमा बस्ने नेपालीहरुको लगानी र व्यवस्थापनमा मध्यम निम्न वर्गीय तप्काले पनि कर्पोरेट संस्कृतिको जर्गेना गरी विशाल पूर्वाधार निर्माण गर्ने योजना रहेको उनको भनाई छ ।

बन्दीपुरलाई मुख्य पर्यटकीय गन्तव्य साथै धार्मिक पर्यटनका लागि खड्गदेवी मन्दिर दर्शनको एक मात्र साधनको रुपमा प्रयोगमा ल्याउने अभिप्रायका साथ परियोजना स्थापित भइरहेको शर्माको दाबी छ ।



१६ तले सुविधासम्पन्न क्वीन टावर 

कम्पनीले बन्दीपुरमा पर्यटकलाई आकर्षित गर्न १६ तले सुविधासम्पन्न आधुनिक कम्प्लेक्स निर्माण गरिरहेको छ । कम्पलेक्सभित्र रुफटपमा आधुनिक भ्यूटावर, बैंक्वेट हल निर्माण गरिनेछ । यहाँ एक सय कोठाहरू हुनेछन् । यहाँ रेष्ट्रोजोन, सपिङमल, केबलकारको स्टेशन, टिकट काउन्टर र उत्तरदक्षिण प्यासेज निर्माण गर्ने गरी काम अगाडि बढाइएको छ । पाँच रोपनी क्षेत्रफलमा सो भवन निर्माण भएको छ । 

कृत्रिम तालमा रात्रिकालीन लाइटिङ 

बन्दीपुरको पर्यटनलाई प्रवर्द्धन गर्न कृत्रिम तालमा रात्रिकालीन लाइटिङ वाटर म्युजिकल सांस्कृतिक शो देखाउन उपकरण जोड्नका लागि गाउँपालिकासँग छलफल अगाडि बढाइएको छ ।

बन्दीपुर गाउँपालिकाले बनाउन लागेको कृत्रिम ताललाई आकर्षणयुक्त बनाउन कम्पनीले त्यसमा केही उपकरण जोड्नका लागि गाउँपालिकासँग सहकार्यको प्रस्ताव गरेको छ ।

छिम्केश्वरी फेदीसम्म माउन्टेन जङ्गल

साहसिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जङ्गल सफारी समेत गरिने कम्पनीले जनाएको छ । परियोजनामा सबै क्षेत्रको लगानी सुनिश्चित गर्नका लागि निजी, सामुदायिक, सहकारी, सरकारी र संस्थागत साझेदारी एवं व्यवस्थापनको मोडेलमा पूँजी निर्माण गरिने बन्दीपुर केबलकार प्रालिका अध्यक्ष तारानाथ उपाध्यायले जानकारी दिए ।

केबलकारमा १९ वटा डिब्बा

निर्माणाधीन केबलकारमा १९ वटा डिब्बा रहने छन् । यसमा दुईवटा सामग्री बोक्ने क्याबिन, दुईवटा साहसिक पर्यटक चढ्नका लागि सिसैसिसाको क्याबिन र १५ वटामा पर्यटकहरू ओसारपसार गर्ने क्याबिन रहने छ । 

बन्दीपुर केबलकारसहितको कुइन टावरको निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ । 

ल्यान्डस्क्यापिङ र कुत्रिम झरना समेत हेर्न सकिने छ । यसमा बन्दीपुरको ऐतिहासिकता झल्कने गरी बन्दीपुर घडी, बन्दीपुर गार्डेन समेत बनाइने छ । 

यस्तै वाटर पार्क, फन–पार्क, म्युजिकल वाटर शो, जिप लाइन, सिद्ध गुफा केबलकार, परियोजना टुडिखेल वार्क भ्यु, सिसाको पुल, स्काइ साइक्लिङ÷साइकल सेवा, पहाडी जंगल, विविध साहसिक पर्यटकीय फिचरहरु रहनेछन् ।  

त्यस्तै, १६ तलाको हुने उक्त कुइन टावरमा ९ तला ढलान भइसकेको छ । 

कुइन टावरको पन्ध्रौँ तलामा दृश्यावलोकन कोठा, चौधौँ तलामा रेस्टुरेन्ट, तेह्रौँ तलामा स्विमिङ पुललगायत वाकर्स म्युजियम, गेमिङ जोनलगायतका संरचना निर्माण गरिने छ । 

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बन्दीपुर केबलकार नेपालकै नमुना प्रोजेक्ट भएको बताए । ‘यो केबलकार प्रोजेक्ट गाउँपालिकाको ड्रिम प्रोजेक्ट हो । गाउँपालिकाको पहिचानसँग जोडिएको छ’, गाउँपालिका अध्यक्ष थापाले भने, ‘यो प्रोजेक्टमा गाउँपालिकाको ठूलो सहयोग छ । कानुनीप्रक्रिया देखि आर्थिक लगानी समेत रहेको छ ।’

यहाँ आर्केडी होल्डिङ्सको ५१ प्रतिशत सेयर, पन्चासे केबलकार एन्ड टुर्स लिमिटेडको २५ प्रतिशत, टुरिजम इन्भेस्टमेन्ट फन्डको १० प्रतिशत र बन्दीपुर गाउँपालिका र स्थानीयको १४ प्रतिशत लगानी रहेको छ ।   

बन्दीपरको बसाइलाई कम्तिमा २ रात 

अहिले पनि तनहुँको प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुर घुम्नका लागि स्वदेशीसँगै विदेशीहरु आउने गरेका छन् । पछिल्लो समय कोभिडका कारण सुनसान रहेको बन्दीपुरलाई थप उर्जाको साथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धनका लागि केबलरका सञ्चालनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको छ । 

यहाँको पर्यटनमैत्री पूर्वाधारले आम पर्यटकको मन लोभ्याउने भएकाले कम्तिमा दुई दिन बन्दीपुरको बसाई हुने बन्दीपुरका स्थानीयहरुको अनुमान छ । 

कम्पनीले केबलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरणसमेत जडान गर्ने योजना थप गरेको छ ।
 

  • प्रकाशित मिति : असोज २२, २०७८ शुक्रबार २०:४६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया