किशोर र बालबालिकाको निद्रा खोस्दै छ इलेक्ट्रोनिक मिडिया

थुप्रै अध्ययनको हालै गरिएको समीक्षाले इलेक्ट्रोनिक मिडिया र उपकरणको प्रयोग (खासगरी ६ देखि १५ वर्ष उमेरका बालबालिका)ले ढिलो सुत्ने आदत तथा गुणस्तरहीन निद्राको अवस्था सिर्जना गरिदिएको देखाएको छ । युनिभर्सिटी अफ साउथ डेनमार्कका शोधकर्ताले यस्तो तथ्य पत्ता लगाएका हुन् ।

पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको सन्दर्भमा मिडियाको उपयोग र कम निद्रा आउने समस्या टेलिभिजन तथा ट्याब्लेटको उपयोगसँग जोडिएको थियो । र, ६ देखि १५ वर्षका बालबालिकाले कयौं प्रकारका इलेक्ट्रोनिक मिडिया जस्तै: सेलफोन, कम्प्युटर, विभिन्न उपकरणमा अनलाइन बस्नु र निरन्तर भिडियो गेम खेल्नाले निद्रा बिथोलिएको शोधबाट पत्ता लागेको थियो ।

१३ देखि १५ वर्ष उमेर समूहका किशोरमा पनि इलेक्ट्रोनिक उपकरणको प्रयोग र निद्रामा पारेको असर एकअर्कासँग जोडिएको पाइएको थियो । ६ देखि १२ वर्षका बालबालिकाले अबेरसम्म टेलिभिजन हेर्नाले ढिला सुत्ने आदत लागेको र त्यसका कारण स्तरीय निद्रा नआएको देखिएको थियो । 

यस्तो निष्कर्ष २००९ देखि २०१९ का बीच प्रकाशित ४९ यस्ता अध्ययनहरूको समीक्षाबाट निकालिएको हो, जसमा उच्च आययुक्त देशका ३,६९,००० भन्दा बढी बालबालिका सहभागी थिए । यसको परिणाम यसै साता ‘बिएमसी पब्लिक हेल्थ जर्नल’मा प्रकाशित भएको छ । इलेक्ट्रोनिक उपकरणले निद्रालाई कसरी प्रभाव पार्छ भन्ने कुराको निर्क्याैल गर्न र समीक्षा गर्नका निम्ति सुत्ने समय, निद्रा आउने समय, निद्राको स्तर, निद्राको अवधि र दिउँसो सुत्ने अवधिजस्ता मापदण्डमा ध्यान दिइएको थियो । यो समीक्षा अनुसार, पाँच या त्योभन्दा कम उमेरका बालबालिकाको सन्दर्भमा इलेक्ट्रोनिक मिडियाको उपयोग विशेष गरी टेलिभिजन र ट्याब्लेटको माध्यमबाट भएको देखिएको छ ।

१२ वर्षभन्दा कम उमेरका बालबालिकाले आफ्नो सुत्ने समयमा ढिलाइ गरेको वा तिनको निद्राको स्तर खराब हुनुमा अधिक टेलिभिजन हेरेको पाइएको थियो । थुप्रै किशोरहरूले भने टेलिभिजन बढी हेर्ने गरेको वा दिउँसोको समयमा हल्का सुत्ने गरेको देखिएको थियो । समीक्षाले टेलिभिजनको उपयोगले निद्रामा खासै प्रभाव पारेको नपाइएको देखाएको थियो ।

१३ देखि १५ वर्ष उमेर समूहका किशारेमा मुख्य रूपमा सोसल मिडियाको अत्यधिक उपयोगले निद्रामा असर पारेको पाइएको थियो । शोधकर्ताहरूका अनुसार, इन्टरएक्टिभ मिडिया निकै उत्तेजक हुनुका साथै उपकरणबाट निस्कने निलो उज्यालोले निद्रा लगाउने हार्मोन मेलाटोनिनको उत्पादनलाई कम गरिदिन्छ ।



मिडियाले निद्रासँग जोडिएका आदतमा हस्तक्षेप गर्दै ‘टाइम रिप्लेसमेन्ट’ गरिदिन्छ, जसले गर्दा सुत्ने समय स्क्रिनमा बित्न जान्छ र सुत्ने रुटिन नै बदलिदिन्छ । निरन्तर फेरिइने रुटिनले अघिल्लो दिनको निद्राको पूर्ति गर्न सक्दैन । 

अध्ययनको निष्कर्षले के भन्छ भने, इन्टरनेट र सोसल मिडियाजस्ता इलेक्ट्रोनिक मिडियाको इन्टरएक्टिभ स्वरूपले निद्राको स्तर र सुत्ने क्षमतामा जति नोक्सान गर्छ त्यसको तुलनामा टेलिभिजनले गर्दैन । 



त्यसो त अधिकांश अध्ययनहरूका आफ्नै सीमा हुन्छन् । यो अध्ययनमा पनि इलेक्ट्रोनिक मिडिया उपयोग गरेर निद्रामा मद्दत पुगेको समूहलाई सहभागी गराइएको छैन । साथै, किशोरहरूको निद्राबारे पनि तिनका अभिभावक र उनीहरू स्वयमले दिने जानकारी कतिपय अवस्थामा मिल्दैन।     

  • प्रकाशित मिति : असोज २३, २०७८ शनिबार ८:४०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया