सुन्दर भविष्यको आशमा बामेसर्दै नेपाली फुटसल

नेपालमा पहिलो पटक ‘ए’ डिभिजन फुटसल लिग सम्पन्न भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले यसको आयोजना गरेको थियो । 

गत शुक्रबार सम्पन्न लिगमा १० टोलीले सहभागिता जनाएका थिए । प्रतियोगितामा शंखमुललाई ४–२ ले पराजित गर्दै स्पोर्ट्स च्यासलले ‘ए’ डिभिजन फुटसल लिगको पहिलो उपाधि उचालेको थियो ।                                                                                                

पोखराको बहुउद्देश्यीय कभर्ड हलमा सम्पन्न उक्त प्रतियोगिता नेपालको लागि नौलो थियो । यसअघि नेपालमा कुनै पनि किसिमका राष्ट्रिय फुटसल लिगहरु आयोजना भएका थिएनन् । 

नेपालमा फुटबल जस्तै फुटसल पनि व्यवसायीक बनाउने हेतुले फुटसल प्रतियोगिताको आयोजना गरिएको हो । 

फुटसलको महत्व के हो ? 

पाँच/पाँच जनाको टोलीमा खेलिने यो खेलको सुरुवात शरीर फिट राख्ने उदेश्यले खेल्ने गरेको पाइन्छ । 



सबिन मेमोरियल फुटबल क्लबका म्यानेजर सञ्जय लिगलले पनि फुटबल जस्तै सोची सुरुमा शोखको रुपमा फुटसल खोलेका थिए । पछि यसको महत्व बुझ्दै गए । 
फुटसल पनि यदी राज्यले महत्व दिएको स्थानमा उत्तिकै लोकप्रिय बन्नसक्ने विश्वास लिगलको छ । 

नेपालमा फुटसलको स्थापना शारीरिक व्यायामको हिसाबले भएको थियो । शहरको विस्तारसँगै मैदानको विस्थापन भयो । फुटबलको शोख राख्नेहरूलाई फुटबल खेल्ने ठाउँको कमी भयो । भएका मैदान पनि पानी पर्दा चिसो तथा हिलो हुँदा समस्या भयो । विविध समस्या समाधानका लागि एउटा सानो मैदान बनाइयो । जसमा छत राखियो भित्र नरम किसिमको घाँसे कार्पेट हालियो । अनि त्यसमा साना साना समुह बनाइ मानिसहरु फुटबल अर्थात फुटसल खेल्न थाले । 



नेपालमा फुटसल व्यवसायीक भएको धेरै समय भएको छैन । सुरुमा व्यवसायीक रुपमा केही पैसा तिरेर शारीरिक कसरत तथा फुटबलको प्यास मेटाउने थलो बनेको थियो फुटसल । यहि क्रममा विस्तारै मानिसहरुमा अन्तराष्ट्रिय स्तरमा खेलिने फुटसलको ज्ञान हुन थाल्यो । 

फुटसल के हो भनेर बुझ्दै गएपछि लिगलले पनि आफ्नो फुटसल क्लबबाट खेलाडी उत्पादनमा जोड दिन थाले । ‘फुटसल पनि अन्य खेल जत्तिकै महत्वपूर्ण छ । यो पनि एक फरक खेल हो,’ उनले भने । 

नेपालमा अन्तराष्ट्रिय स्तरमा खेल्न सक्ने फुटसल खेलाडी उत्पादन भइ सकेका छन् । फुटसल विस्तारै व्यवसायिक बन्दै गएको उनको भनाइ छ । 

‘पहिला फुटसल क्लब खोल्दा यसको महत्व र आवश्यकता यति धेरै होला भनेर सोचेको थिइन । तर अहिले नेपालमा पनि यसको महत्व बढ्दै गएको देख्दा राम्रो कामको सुरुवात गरेको रहेछु भन्ने लाग्छ,’ उनले भने । 

उनले फुटसल अन्तर्गत आफ्ना खेलाडीहरुलाई विदेशी लिग खेलाइसकेका छन् । विदेशी लिगमा गएर राम्रो प्रदर्शन गरिसकेपछि फुटसलको विकास गर्नुपर्छ भन्ने थप प्रेरणा उनलाई मिल्यो । 

‘मेरो क्लबको खेलाडीहरु पाकिस्तान गएर खेलेका छन् । हामी त्यहाँ गएर नेपालीले पनि फुटसलमा भाग लिन सक्छ भन्ने उदाहरण बनेर आएका छौं,’ लिगलले अनुभव सुनाए ।  

त्यसो त नेपालमा भएका अन्य फुटसल क्लबका खेलाडी पनि अन्तराष्ट्रिय प्रतियोगिता नखेलेका भने होइनन् । उनको क्लब जस्तै काठमाडौं स्थित शंखमुल फुटसल क्लबका खेलाडीहरु पनि अन्तराष्ट्रिय स्तरका प्रतियोगिताहरूमा भाग लिइसकेको छ ।  

फुटबल र फुटसलमा के फरक छ ?

नेपालमा धेरै मानिसहरुलाई लाग्छ– फुटबल र फुटसल एउटै खेल हो । फुटसलमा पनि त्यस्तै बल हुन्छ जस्तो फुटबलमा । सानो टोलीमा ‘अन्डररुफ’ (छानामुनि) खेलिने खेल फुटसल हो । खुला मैदानमा ११/११ जनाको टोलीमा ९० मिनेटसम्म हुने फुटबल हो । यति मात्र होइन, फुटबल र फुटसलमा धेरै भिन्नता छ । खेलका नियमदेखि खेल्ने तरिकासम्म धेरै भिन्नता छ । 

फुटबल खेल्दा लगाउने जुत्ता र फुटसल खेल्दा लगाउने जुत्तामा निकै नै फरक हुन्छ । फुटबल खेलमा लगाउने जुत्ताको तलको सतहमा गिट्टी आकारका सतह निर्माण गरिएको हुन्छ । मैदानमा कुद्दा खेलाडी चिप्लियोस् भनेर फुटबल बुटलाई त्यस्तो रुप दिइएको हुन्छ । फुटसल खेल्दा लगाउने जुत्ता भने सामान्य स्पोर्ट्स जुत्ता जस्तै हुन्छ । चिल्लो मैदानमा खेल्ने भएकाले यसको तल्लो सतह नरम हुन्छ । 

फुटसलमा स्टामिना र ट्याक्टिकल नलेज धेरै चाहिन्छ । फुटसल खेल्न फुटबल खेलाडीलाई अलि गाह्रो हुने बताउँछन् लिगल । उनी भन्छन्, ‘फुटबल खेलाडीलाई फुटसलमा आएर प्राविधिक कुराहरु सिक्न अलि गाह्रो हुन्छ ।’ 

उनका अनुसार फुटबल खेलाडी र फुटसल खेलाडीलाई दुई अलग पाटोमा राख्नुपर्ने उनी बताउँछन् ।  

फुटबल खेल्ने खेलाडीले फुटसल तथा फुटसल खेल्ने खेलाडीले फुटबल खेल्न सक्ने कि नसक्ने भन्ने कुरामा भने खेलाडीमा भर पर्ने गर्दछ । फरक नियममा खेलिने भएकाले फुटबल र फुटसल खेलाडी र खेल फरक हो । 

खेलाडीलाई अवसर

यस प्रकारका राष्ट्रिय स्तरका प्रतियोगिताहरूले निकट भविष्यमा खेलाडीलाई अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन सहज हुने लिगलको बुझाइ छ । यस्ता प्रतियोगिताले खेलाडीलाई मैदानमा उत्रिन, टिक्न तथा खेल्ने तौरतरिकाको ज्ञान दिने उनी बताउँछन् । 

‘यस्ता लिगहरु निकै आवश्यक र महत्वपूर्ण हुन्छ । घरेलु प्रतियोगिता नखेली अन्तराष्ट्रिय प्रतियोगिता मात्र खेल्न जाँदा खेलाडी लड्ने, राम्रोसँग खेल्न नसक्ने जस्ता समस्या देखिन्छन्,’ उनले विगतको अनुभव सम्झिए । 

प्रतियोगिताले नेपालका फुटसल खेलाडीलाई अन्तराष्ट्रिय स्तरको प्रतियोगिता खेल्न बाटो समेत खोलिदिने विश्वास लिगलको छ । 

रेफ्रि विवादमा ! 

यसपटकको फुटसल प्रतियोगितामा केही विवादित देखिए । हुन त प्रतियोगितामा सहभागी हरेक रेफ्री तालिम प्राप्त थिए । तर केही खेलमा टोली प्रशिक्षक तथा म्यानेजरले रेफ्रीको निर्णयलाई सहजै स्वीकार गनेनन् । रेफ्रीको निर्णयप्रति केही खेलाडीले पनि असन्तुष्टी जनाए । 

यो कुरामा सबिन मेमोरियलका म्यानेजर लिगलको धारणा र भोगाइ पनि उस्तै छ । उनी भन्छन्, ‘रेफ्री सबै तालिम प्राप्त थिए । तर फुटसलमा उनीहरुको अनुभवको कमीले गर्दा निर्णय प्रति निकै नै टकराव परेको थियो ।’ 

रेफ्रीको निर्णय धेरै विवादित भएपछि दश वटै फुटसल क्लबले सामुहिक रुपमा असन्तुष्टी जनाउँदै एन्फाको फुटबल कमिटीका संयोजक विनोद गुरुङलाई विज्ञप्ति बुझाएका थिए ।  

संयोजक गुरुङ भन्छन्, ‘सानो असमझदारी भएको थियो । पहिलो प्रतियोगिता भएको कारण नियम नबुझेर भएको थियो । त्यो खेलको समयमा नै समाधान भइसक्यो ।’ यस्ता असमझदारी आगामी दिनमा नआउने विश्वास उनले व्यक्त गरे ।  

‘पहिलो पटक भएको कारण धेरै गल्ती रेफ्रीको तर्फबाट भए । यो कुराहरु एन्फाले सुधारेर ल्याउनु पर्छ,’ लिगलले भने । 

यसपाली गण्डकी प्रदेशबाट २ वटा टोली जसमा सबिन मेमोरियल फुटबल क्लब र स्पोर्ट्स क्यासल पोखरा , बाग्मती प्रदेशबाट ४ टोली  शंखमुल फुटसल क्लब, स्काइ गोल्स्, प्रभातफेरी युथ कलब, ढुकु फुुटसल हब, प्रदेश नम्बर १ बाट राइजिङ क्लब धरान र फुटसल  फाइभ लुम्बिनी फुटसल र झरना स्पोर्ट्स क्लब गरी १० टोली सामेल रहेका थिए । प्रदेश नम्बर २ बाट भने कुनै क्लब पनि फुटसल प्रतियोगितामा सामेल हुन आएको थिएन ।

  • प्रकाशित मिति : असोज २५, २०७८ साेमबार १६:४०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया