समय अनुसार धेरै कुरा परिवर्तन हुँदै जान्छन् । हिजो छोडिआएका स्मृतिहरु आज प्रिय लाग्छन् । आज बाँचेको जिन्दगी भोलि प्यारो लाग्ला । बाल्यकालको दसैंको रौनक अर्कै थियो । सोह्रश्राद्ध लागेपछि दसैंको काउन्टडाउन सुरु हुन्थ्यो । अब स्कुल बिदा हुन्छ भनिन्थ्यो । घाम पनि अर्कै किसिमले पारिलो भएर लाग्थ्यो ।
दसैंको सबैभन्दा सुन्दर पक्ष भनेको नयाँ लुगा र मीठो खाना हो । ५ कक्षा पढ्ने बेलासम्म दसैंमा स्कुल ड्रेस आउँथ्यो । दसैंमा किनेको नयाँ ड्रेस लगाएर दसैंपछि स्कुल जान्थ्यौँ । ५ कक्षाको सुरु भएपछि भने दसैंको लुगा र स्कुल ड्रेस फरक आउन थाल्यो । दसैंको अर्कै रौनक सुरु भयो । त्यतिबेलासम्म मलाई दसैंको लुगा भनेकै स्कुल ड्रेस हो भन्ने थियो । त्यसपछि दसैंमा झन् अर्कै किसिमको रमाईलो हुन्थ्यो । दसैंमा नयाँ लुगा आउँछ तर स्कुल ड्रेस भन्दा फरक भन्ने सम्झिँदै मन फुरुङ्ग हुन्थ्यो ।
नौरथा लाग्नुअघि नै हामीलाई दसैं लाग्थ्यो । दसैंमा खेल्ने लङ्गुरबुर्जा किन्न पैसा उठाउँथ्यौँ ।
सानैबाट क्लबमा आबद्ध थिए । त्यसैले पनि दसैंको रौनकले अलि धेरै छुन्थ्यो । क्लबले गाउँमा पिङ हाल्थ्यो । क्लबमा आवद्ध भएपछि बास काट्ने, बाबियो खोज्ने सबै काममा संलग्न भइन्थ्यो । सबैका घरमा हामी दुई/पाँच रुपैयाँ उठाउँदै हिड्थ्यौँ । आज यी दिन र साथीहरु सम्झदा पनि मनमा अर्कै किसिमको उमङ्ग छाउँछ ।
पढ्नका लागि काठमाडौं आएपछि पनि दसैंको विशेष महत्व हुन्थ्यो । दसैं आयो अब घर जाने भन्ने खालको उमङ्ग । काठमाडौं आएको लामो समय मैले खासै प्रगति गर्न सकेको थिइनँ । दसैंमा घर जाँदा एउटा झोला बोकेर मकालु बस चढेर जान्थेँ । त्यतिबेला मेरै उमेरका साथीहरुले धेरै प्रगति गरिसकेका थिए । साथीहरु कम हुँदै गए । दसैंमा जाने ठाउँहरु पनि सीमित हुन थाले । यहि बेलाबाटै दसैंको रौनक फेरिदै गयो ।
उमेर बढ्दै गयो । प्रगति हुँदै गयो । जिम्मेवारी बढ्दै गयो । जिम्मेवारीको भारीले थिचेपछि त चाड पर्वपनि गह्रौ हुँदा रहेछन् । हिजोआज दसैं सम्झदा थोरै तनाव हुन्छ । त्यो तनाव कामको तनाव हो । दसैं लक्षित थुप्रै कार्यक्रमहरु हुन्छन् । कामहरु हुन्छन् । दसैं अघि रेकर्ड गरिसक्नुपर्ने गीत हुन्छन् । संगीतकारले एउटा गीतको सुरुदेखि अन्तिमसम्म समय दिनुपर्छ । परिवारमा समय दिन भ्याइदैन । आफन्तको गुनासो बढ्छ ।
प्रोफेसनमा पनि सबैलाई यहिबेला काम चाहिन्छ । घरमा पनि यहिबेला धेरै काम गर्नु पर्ने हुन्छ । सबैतिरको जिम्मेवारी उठाउँदा उठाउँदै आफैं चाहिँ कता कता छुटिदो रहेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।