जसको ५० करोडभन्दा बढीको सम्पत्ति हडप्न अपहरणपछि हत्या गरियो
२ छोराको शंकास्पद मृत्युपछि न्यायका लागि लडिरहेकी निर्मलाको नै हत्या

बाँकेको नेपालगञ्च उपमहानगरपालिका–१७ की निर्मला कुर्मी २०७५ माघ २५ गतेदेखि बेपत्ता भइन् । लामो समयसम्म उनको केही पत्ता लागेन । बेपत्ता भएपछि उनको सोधीखोजी गरिदिन प्रहरी प्रशासनसँग गुहार गरियो । खोज तलास गर्नुपर्ने प्रहरी उल्टै ‘निर्मला भारतमा पोइल गईन्’ भन्न थाल्यो ।

उनको खोजीका लागि दबाब दिने पनि कोही भएनन् । किनकि उनका श्रीमानको २०६० सालमै मृत्यु भइसकेको थियो । श्रीमानको मृत्युपछि दुई नाबालक छोराको सहारामा उनी आफ्नो जीविकोपार्जन गरिरहेकी थिइन् । तर, २०६६ सालको कात्तिकको अन्तिम साता दुई छोराको पनि शंकास्पद मृत्यु भयो । 

छोराहरुको कालगतिले नभई हत्या गरिएको भन्दै उनी कानुनी लडाईमा थिइन् । कहिले प्रहरी कार्यालय त कहिले अदालत । उनको दिनचर्या त्यसरी नै बितिरहेको थियो । जसरी भएपछि छोराहरुलाई न्याय दिलाउने उनको मनसाय थियो । 

तर, अपसोच उनी आफैं अपहरणमा परिन् । जिल्ला प्रशासन कार्यालयबाट आउँदै गर्दा २०७५ माघ २५ उनी भृकुटीनगरको मेन रोडबाट अपहरणमा परिन् । बादशाह कुर्मीसहितका व्यक्तिले निर्मलालाई जबरजस्ती अपहरण गरेको प्रत्यक्षदर्शीले देखे ।

दिदीको न्यायका लागि संघर्षरत भाइ भन्छन्– प्रहरीले मृत्युलाई मजाक बनायो

अपहरणमा परेपछि उनको खोजतलासीको माग गर्दै प्रहरीमा जाहेरी पर्‍यो । तर, प्रहरीले पोइल गइन् भन्दै मतलब नै गरेन । त्यसरी अपहरणमा परेको दुई वर्षपछि अर्थात २०७७ पुस १६ गते उनको हत्या भएको खबर बाहिरियो । उनको हत्या भएको हो वा के भएको भन्ने अहिलेसम्म यथार्थ विवरण सार्वजनिक हुन सकिरहेको छैन ।  
उनको ५० करोड भन्दा बढीको जग्गा हड्प्ने गिरोहले उनको अपहरणपछि हत्या गरेको स्थानीयको भनाइ छ । 



निर्मलाले आफ्नो छोराहरूलाई विष सेवन गराएर नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य बादशाह कुर्मीले नै हत्या गरेको दाबी गर्दै आएकी थिइन् । उनको सम्पत्ति हड्प्ने उद्देश्यले यसरी योजनासहित नै हत्या गरेको उनको दाबी थियो । त्यसकै लागि उनी कानुनी लडाईमा थिइन् ।    

मृत्युपछि बादशाहले छोराहरूको पोस्टमार्टम समेत गर्न दिएनन् । छोराहरूको मुख समेत हेर्न नदिएर चौरमा लगेर जलाइदिएको भन्दै निर्मलाले न्यायका लागि ठूलो संघर्ष गरेकी थिइन् । उक्त मुद्दाको जाहेरी दर्ताका लागि संघर्ष गरिरहेकी थिइन् । 



के हो घटना ? 

श्रीमानको मृत्युपछि एकल जीवन बिताइरहेकी निर्मलाको ५ विघा भन्दा बढी जग्गा थियो । जुन उनका श्रीमान र छोराको नाममा थियो । छोराहरु सानै थिए । उक्त सम्पत्तिका लागि भारतीय नागरिक मुनिम कुर्मीले धम्की दिन थालेका थिए । 

बादशाह लगायतका व्यक्ति मिलेर उनको सम्पत्ति हत्याउने प्रयत्नमा लागे । बादशाहले एकदिन निर्मलालाई आफ्नो घरमा बोलाए । घर बोलाएर उनको नागरिकता र जग्गाको लालपूर्जा तथा नाता कायम सम्बन्धी कागजपत्र समेत जबरजस्ती लुटे ।  

साथै बादशाहले उनको घरमा भएको खाद्यान्न तथा अन्य सामान समेत जबरजस्ती लुटे । उक्त कार्यमा सन्तोष कुर्मी, अम्मरलाल कुर्मी र भारतीय नागरिक मुनिम कुर्मी समेत परिचालित भए । त्यसपछि उनी लामो समय गाउँमा लुकेर बसिन् । 

त्यसपछि उनले नेपाल मुस्लिम समाज विकास चेतना केन्द्र नेपालगञ्ज, प्रहरी तथा सरोकारवाला निकायमा उजुरी दिइन् । उजुरीपछि एकदिन जिल्ला प्रशासन कार्यालयबाट घर फर्किदै गर्दा उनी अपहरणमा परिन् । 

न्याय माग्न ५०० किलोमिटर हिँडेर काठमाडौंमा

परसपुरकी ४९ वर्षीया निर्मलाका श्रीमानको मृत्युपछि सोही ठाउँका रामफेरन धोबी उनको घरमा आउने जाने गर्न थाले । जुन कुरा निर्मलाको घरसँगै जोडिएका बादशाहले चाल पाए । 

त्यसपछि उनले अर्कै योजना बनाउन थाले । निर्मला काठमाडौं गएको बेला उनका दुई नाबालक छोरालाई २०६६ मंसिर १६ र २७ गते अचानक स्वास्थ्यमा समस्या आएको भन्दै नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको लागि ल्याएको बताए । तर, त्यही दुवै जनाको मृत्यु भयो । छोराहरुको मृत्यु हुँदा उनी काठमाडौंमै थिइन् । 

घर फर्किने बेलासम्म दुई छोराको बादशाहले अन्त्येष्टि गराइसकेका थिए । निर्मलाको लालपूर्जा राफेरन धोबीले आफ्नो घरमा राखेका थिए । जुन कुरा बादशाहले थाहा पाएपछि निर्मलाको घर जग्गाको लालपूर्जा र उनको नागरिकता धोबीको घरबाट जबरजस्ती नियन्त्रणमा लिए । 

तत्कालीन समयमा बादशाह नेपाली कांग्रेसको तर्फबाट संविधानसभा सदस्य थिए । उनले आफ्नो शक्तिको दुरुपयोग गर्दै निर्मलाको घर जग्गाको लालपूर्जाको सुरक्षाका लागि आफ्नो घरमा राखेको बताएका थिए । चर्को दबाब र आन्दोलनपछि विभिन्न संघ संस्थाको रोहबरमा लालपूर्जा र नागरिकता जिल्ला प्रशासन कार्यालयमा बुझाएका थिए । 

पछि निर्मलालाई सहयोग गर्ने भन्दै निर्मलाको नजिक भएका निजामुद्दिन दर्जीले उक्त जग्गा निर्मलाको नाममा नामसारी गराउनतिर लागे । उनले निर्मलाका श्रीमान् र छोराको नाममा रहेको ४ बिघा १० कट्ठा जग्गा निर्मलाको नाममा गराईदिने भन्दै विभिन्न व्यक्तिबाट ३० लाख ऋण लगेको कागजात बनाए । 

निजामुद्दिन र उनको समूहले जिल्ला प्रशासन कार्यालयमा राखिएको लालपूर्जा निर्मलाको नाममा नामसारी गराउने भन्दै लिए । 

उनीहरुले २०६९ असार ८ गते नेपालगञ्ज उपमहानगरपालिका १७ मा रहेको घरबासको ६३२ वर्गमिटर र अन्य ४ विघा १० कट्ठा जग्गा निर्मलाको नाममा नामसारी गराए । पछि विभिन्न जालझेल गरेर उक्त जग्गा आफ्नो नाममा गरेको देखियो । 

त्यस्तै उनको नाममा रहेको जग्गा नेपालगञ्ज धम्बोजी बस्ने पार्वती विष्टको नाममा गराइएको त्यसपछि रत्नदेबी थापाको नाममा समेत नामसारी गरिएको थियो । त्यसरी जग्गा अर्काको नाममा नामसारी गराउँदा मालपोत कार्यालयका कर्मचारीको पनि मिलोमतो रहेको देखियो । 

जग्गाका लागि धम्की आइरहेपछि निर्मला भारतमा बस्दै आएकी थिइन् । काम परेको बेला मात्र नेपाल आउने गरेकी थिइन् । त्यही मौका पारेर दलालहरुले उनको नाममा भएको उक्त जग्गा अर्कैको नाममा नामसारी गराएका थिए । 

यसरी जग्गाको लागि उनको अपहरण र हत्या भएको देखिएपछि महिला अधिकार मञ्च बाँकेले अदालतमा मुद्दा दायर गरेको थियो । निर्मलाको अपहरण गरी हत्या गरेको आरोपमा बादशाह कुर्मी, रमेश थापा, उनकी श्रीमती रत्न थापा, पार्वती बिष्ट, कृष्ण मुरारी सिंह, कुवर बब्बन सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी धिरेन्द्र सिंह लगायतका नाममा जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । 

उक्त घटनाका आरोपीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिँदा जाहेरी समेत दर्ता गर्न मानेन । त्यसपछि महिला अधिकारकर्मीसहित उक्त मानिसहरू धर्नामा बसेपछि प्रहरीले २०७८ भदौ १० गते जाहेरी दर्ता गरेको थियो । 

तर कुर्मीलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाउनुपर्नेमा त्यसो नगरी पक्राउ गरिएको भनेर झुठा कागज प्रहरीले तयार गरेर सरकारी वकिलको कार्यालयमा बयान गराएर उक्त मुद्दालाई अहिले मुल्तबीमा राखिएको राष्ट्रिय महिला अधिकार मञ्च बाँकेकी अध्यक्ष रुबी खानले बताइन् ।  

 

  • प्रकाशित मिति : असोज २५, २०७८ साेमबार १२:१२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया