दसैँ तिहारको पूर्व सन्ध्यामा कञ्चनपुर भीमदत्त नगरपालिका वडा नं. १ का अध्यक्ष आसेफ कुँवरले वृद्धवृद्धा तथा अपांगता भएकाहरुलाई रकम वितरण गरेका छन् ।
स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनु अगावै तलब भत्ताबापत प्राप्त रकमलाई कञ्चनपुरका वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्ने प्रतिवद्धता गरेका उनले सोमबार सो रकम वितरण गरेका हुन् ।
कुँवरले दुई बर्षमा तलब भत्ता बापत प्राप्त गरेको ३ लाख ९२ हजार रुपैंया बृद्धबृद्धा तथा अपांगता भएकाहरुलाई बितरण गरेका हुन् ।
‘जनप्रतिनिधि भएपछि आफुले पाउँदै आएको तलव भत्ता वापतको रकम वडामा रहेका बृद्धबृद्धा तथा अपांगता भएकाहरुलाई दिएको हुँ,’ वडा अध्यक्ष कुँवरले भने ।
नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष कुँवरले सोमबार बिहान वडाका १४२ जना जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दृष्टिविहीन र विपन्न परिवारलाई रकम वितरण गरेका हुन् ।
तलब लिएर वडा कार्यालय पुगेका अध्यक्ष कुवँरले ३ हजारका दरले रकम बाँडेका हुन् । ‘म निर्वाचनका बेलामा मत माग्दै गर्दादेखि निर्वाचन जितिसकेपछि पनि पाँच बर्षसम्म सरकारी सुविधा नलिने बचन दिएको थिएँ । आज त्यो पुरा गर्दै छु’ उनले भने ।
उनले कार्यकाल भरीको रकम समाजमै परोपकारी काममा लगाउने बताए । ‘हामी लोकसेवा पास गरेर तलब खान स्थानीय तहमा आएका होइनौं,’ कुवँरले भने ‘पाँच बर्षसम्म सुविधा नलिएर वडाको विकासदेखि जनताको हितका लागि काम गर्छु ।’ वडाध्यक्षको मासिक तलब २२ हजार रहेको छ ।
वडा अध्यक्षले रकम वितरण गरेपछि स्थानीय जेष्ठ नागरिकमा खुसीयाली छाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।