विश्वकपको युरोपियन छनोट अन्तर्गत सोमबार राति भएको खेलमा नेदरल्यान्डले जिब्राल्टरमाथि ६–० को फराकिलो जित हात पारेको छ ।
घरेलु टोली नेदरल्यान्डको जितमा मेम्फिस डिपाएले दुई, कप्तान भिर्गिल भान डाइक, डेन्जेल डम्फ्राइज, अर्नौट डान्जुमा र डोनएल मालेनले एक एक गोल गरे ।
खेलको नवौं मिनेटमा भान डाइकले गोल गर्दै नेदरल्यान्डलाई अग्रता दिलाएका थिए ।
१९औं मिनेटमा डिपाए पेनाल्टीमा चुक्दा नेदरल्यान्डले अग्रता दोब्बर बनाउन सकेन तर २१ औं मिनेटमा उनैले टोलीका लागि दोस्रो गोल गरे ।
पहिलो हाफको इन्जुरी समयमा डिपाएले नै पेनाल्टीमा गोल गर्दै नेदरल्यान्डलाई ३–० ले अगाडि बढाए ।
४८औं मिनेटमा डम्फ्राइजले नेदरल्यान्ड्सका लागि चौंथो गोल गरे । ७५औं मिनेटमा डान्जुमाले गोल गर्दा नेदरल्यान्ड ५–०ले अघि रह्यो ।
खेलको ८६ औं मिनेटमा मालेनले गोल गर्दै नेदरल्यान्डलाई फराकिलो जित दिलाए ।
जितसँगै नेदरल्यान्ड ८ खेलमा १९ अङ्कका साथ समूह ‘जी’ को शीर्ष स्थानमा कायम रहँदा समान खेलबाट अङ्कबिहीन जिब्राल्टर अन्तिममा छ ।
छनोट अन्तर्गत सोमबार नै भएका अन्य खेलमा रुसले स्लोभानियामाथि २–१ र नर्वेले मोन्टेनग्रोमाथि २–० को जित निकाले ।
टर्कीले ल्याटभियालाई २–१ ले हराउँदा क्रोएसिया स्लोभाकियासँग २–२ को बारबरीमा रोकिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।