छठपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण हुनसक्छः कांग्रेस सह–महामन्त्री महत

सत्तारुढ दल नेपाली काँग्रेसका सह-महामन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण छठपछि हुनसक्ने बताएका छन् । 

‘नेपालीहरुको महान चाड बडा दशैँ, तिहार र छठपछि प्रधानमन्त्रीको भारत भ्रमण हुनसक्छ । नेपालले राष्ट्रियता बलियो बनाएर अघि बढ्नु पर्छ र त्यसमै भारतको हित हुन्छ । प्रधानमन्त्रीले भारतसँगको सम्बन्ध सुधारका चासो दिइरहनुभएको छ,’ भारत भ्रमणबाट फर्केका महतले आज न्यूज एजेन्सीसँग भने । 

उनले भारतसँगको सीमा समस्यालाई कुटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने बताए । भारत भ्रमणका क्रममा आफूहरुले सीमा समस्यालाई सम्वाद र कुटनीतिक रुपमा समाधान गर्ने बारेमा छलफल गरेको उनले जनाए । 

भारत भ्रमणका क्रममा व्यपार घाटाको समस्या, महाकाली तुइन प्रकरण र कोभिशिल्ड सप्लाइको बारेमा छलफल भएको समेत उनले जानकारी दिए । 

महाकालीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तुइन काटिदिँदा नदीमा बेपत्ता भएका जयसिंह धामीको बारेमा भारत सरकारले छानबिन गरेर निष्कर्षमा पुग्नुपर्ने कुरा आफूले राखेको उनले बताए । 

भारतीय विदेश मन्त्री एस जयशंकरसँगको भेटमा आफूले दुवै देशको हितका विषयमा कुरा गरेको दाबी उनले गरे । सह-महामन्त्री महतले भने, ‘हामीले भारतीय विदेश मन्त्रीसँग भेट गर्यौं, उहाँसँग मूलतः नेपालका केही मुद्दाहरूलाई हामीले प्रमुख रुपमा उठायौँ । सीमा समस्या समाधान गर्ने, वार्ता प्रक्रिया अगाडि बढाउने, व्यापार घाटाको समस्या उठाएको थिएँ ।’ 



सह महामन्त्री महतले नेपाली काँग्रेससँग भारतीय जनता पार्टी (भाजपा) ले उच्च महत्व र प्राथमिकता दिएको बताए । नेपाल सरकारका कुराहरुलाई भाजपाले उच्च चासो र समस्या समाधानका लागि गम्भीरताका साथ लिएको बताउँदै कोभिशिल्ड आपूर्ति र महाकाली तुइन प्रकरण लगायतका कुराहरूको तत्काल समस्या समाधान गर्ने जनाए ।

भारतीय पक्षले महाकाली तुइन प्रकरणमा आफूहरुको संलग्नता नरहेको बताए पनि महाकाली तुइन प्रकरण नेपाली जनतासँग जोडिएको कुरा भएकोले सरकारले नै एकपटक छानबिन गरेर  निष्कर्षमा पुग्न आग्रह गरेको उनले बताए । 



सह महामन्त्री महतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कुटनीतिक पहल नै नगरेको बताउँदै आफूले भारत सरकारसँग कुटनीतिक पहल शुरु गरेको जनाए । 

बताउनुभयो । उहाँले पूर्व सरकारले जनता तिर मात्रै फर्केर ठूलो स्वरले कराएको तर सरकारी तहमा कुनै कुटनीतिक पहल नगरेको आरोप लगाउनुभयो । उहाँले नेपाली काँग्रेस तर्क, तथ्यांक र आधारमा विश्वास राख्ने भएको बताउँदै अब कुटनीतिक पहलद्वारा समस्या समाधान हुँदै जाने बताउनुभयो । 

सह महामन्त्री महतले भन्नुभयो, ‘पछिल्लो सरकारले त ठूलो कुरा मात्रै गर्यो, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त चर्को कुरा गर्ने, उहाँले कुटनीतिक तवरमा कुनै पनि कुरा बोल्नुभएन,हामीले त पार्टी तहमा पनि कुराहरु उठाइरहेका छौँ,सरकारी तहमा पनि कुराकानी गरिरहेका छौँ, हामी गम्भीर रुपमा सम्बन्धित ठाउँमा कुरा गर्नेमा विश्वास राख्छौँ, जनतातिर फर्केर ठूलो स्वरले कराउने,तर जहाँ कुरा राख्नुपर्ने हो त्यहाँ कुरा नराख्ने,त्यो गलत हो, त्यसले नेपालको हित गर्दैन ।’ 

कतिपय सम्बन्ध नेपालले बुझाउन नसकेर पनि समस्या आएको जनाउँदै उनले भारतसँग राम्रो सम्बन्ध बनाउन सम्वाद आवश्यक रहेको औंल्याए । 

भारत भ्रमणमा सह महामन्त्री महतसहित उदय शमशेर राणा र विजय चौरसियाको टीमले भाजपाका राष्ट्रिय महासचिवहरू अरुण सिंह, राजु बिष्ट, प्रवक्ता सुधांशु त्रिवेदी, महिला मोर्चाकी राष्ट्रिय अध्यक्ष भनाथी श्रीनिवासन र विदेश विभागका प्रमुख विजय चौथाइवाल लगायतका नेताहरुसँग भेट गरेका थिए । 

  • प्रकाशित मिति : असोज २६, २०७८ मंगलबार १७:४८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया