सभापतिमा उम्मेदवारी घोषणा गरेर देउवालाई धोका दिएको छैनः उपसभापति निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेर आफूले सभापति शेरबहादुर देउवालाई धोका नदिएको बताएका छन् । 

मंगलबार धनुषाको क्षेत्र नम्बर ४ स्थित महेन्द्रनगरमा विजयादशमीको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा कार्यकर्ता भेलामा बोल्दै नेता निधिले १४ औँ महाधिवेशनमा सभापतिमा लड्छु भनेर अघिल्लो अधिवेशनमै आफूले खुलेरै देउवालाई भनिसकेको जिकिर गरे । 

‘एक पटकका लागि नयाँ व्यवस्थामा प्रधानमन्त्री र एकीकृत कांग्रेसको सभापति बन्ने चाहना देउवाले व्यक्त गरेको र उनको त्यो चाहना पूरा भइसकेको छ । मैले यसपालि शेरबहादुरजीलाई धोका दिएको होइन,’ निधिले भने । 

देउवाको इच्छा पुरा भइसकेकोले अब उनले अरुलाई सहयोग गर्नुपर्ने निधिले बताए । उनले भने, ‘उहाँको दुवै चाहना पुरा भइसकेको छ । अब उहाँले भन्न सक्नु प¥यो म पार्टीप्रति इमानदार छैन् । पार्टीको लागि मैले काम गरेको छैन ।’ 

लोकतान्त्रिक प्रणालीमा चुनाव लड्ने अधिकार सबैलाई रहेको बताउँदै निधिले अन्तिम समयमा देउवाको समर्थन आफूले पाउने विश्वास समेत व्यक्त गरे । 

‘मैले उहाँलाई मनाउन धेरै प्रयास गरेको छु, साथीहरू पनि भन्नु हुन्छ शेरबहादुरजी तपाईंकै कुरा मान्नुहुन्छ । अहिलेसम्म उहाँ मान्न तयार हुनुभएको छैन । अन्तिम समयसम्म मान्नु हुन्छ भन्ने मलाई विश्वास छ । नभए चुनाव लड्ने अधिकार सबैलाई छ । कसैको अधिकारलाई कसैले रोक्न सक्दैन,’ निधिले बताए । 



मधेशमा नेपाली कांग्रेसले नजितेसम्म देशमा कांग्रेसको सरकार बन्न नसक्ने दाबी उनले गरे । देश अहिले कांग्रेस खोजिरहेको जिकिर गर्दै उपसभापति निधिले मधेशले जिताए देशले कांग्रेस पाउने समेत बताए ।  

यसैबीच, नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशनमा उपसभापति विमलेन्द्र निधिले सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेसँगै उनीसँग डाढिएर बसेका अर्का समुहका केहि नेताहरु पुनः निधिसँगै जोडिएका छन् । 



निधिले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेपछि नेपाली काँग्रेस महोत्तरीका सभापति महेन्द्र राय पार्टी सभापति शेरबहादुर देउवासँग नजिकिएका थिए । तर, निधिको जनकपुर आगमनसँगै कार्यकर्ता भेलालाई तिव्रता दिएपछि अन्ततः महेन्द्र रायसमेत उनीसँग जोडिएका छन् । मंगलबार धनुषाको क्षेत्र नम्बर ४ स्थित महेन्द्रनगरमा आयोजित एक कार्यक्रममा राय निधिसँगै देखिए ।

  • प्रकाशित मिति : असोज २६, २०७८ मंगलबार २१:२९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया