पूर्वराजा ज्ञानेन्द्रले व्यक्त गरे राजतन्त्र फर्काउने चाहना, भने– राजतन्त्र बिनाको प्रजातन्त्र सान्दर्भिक हुन सक्तैन

पूर्वराजा ज्ञानेन्द्र शाहले राजतन्त्र फर्काउने आफ्ना चाहना व्यक्त गरेका छन् । विजया दशमीको अवसरमा आज एक विज्ञप्ति जारी गर्दै उनले उक्त चाहना सार्वजनिक गरेका हुन् । 

‘देशको तत्कालिन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्तैन भन्ने आवोध हामीले गरेका छौं,’ शाहले भनेका छन् । 

प्रजातान्त्रिक, प्रगतिशिल या अन्य जुनसुकै विचारप्रति आस्थावान भए पनि राष्ट्रप्रतिको श्रद्धाले सबै नेपालीलाई एउटै मालामा उन्ने विश्वास उनले व्यक्त गरेका छन् ।

‘अतीतका गौरवपूर्ण विधि व्यवस्थालाई सम्झेर विद्यमानका नमिल्दा स्थितिलाई सुधार्ने सकारात्मक र देश सुहाउँदो राजनीति, राज्य व्यवस्थाका सबै क्रियाशिल शक्तिहरूबाट सहि सोच राख्नु देश र जनताको हितमा उपयुक्त अनुभूति हो भन्ने हाम्रो धारणा छ,’ पूर्वराजा शाहले भनेका छन् । 

उनले पछिल्ला सरकारले गरेका कार्यको मात्र होइन न्यायालयको पनि आलोचना गरेका छन् । सरकारको कारण जनता निराशाको बादल छाएको दाबी उनले गरेका छन् । 

‘कुनै पनि परिवर्तनको मर्म देशसँग अन्तर सम्बन्धित हुने गर्दछ । त्यसको प्रभाव जनताले आफ्नो दैनिक जीवनमा अनुभूत गर्न सक्नु पर्दछ,’ उनले भनेका छन्, ‘दुर्भाग्यबस शिक्षा तथा स्वास्थ्यको व्यापारीकरण, विकास निर्माणका कामको भ्रष्टीकरण, प्रशासनिक र राजनीतिक पेशाले सिमित व्यक्तिलाई फाइदा पुर्याउने र न्याकि क्षेत्रमा उत्पन्न विचलनले सबैतिर निराशाको बादल छाएको छ ।’ 



उनले विज्ञप्तिमा ‘कोरोनाका महामारी, अनेक प्राकृतिक विपत्ति, वेरोजगारी, महंगी र अस्थिरताको भुमरीमा फसेका आम नेपालीले सत्य सेवा तथा लोकहितको अनुभूति गर्न पाइरहेका छन् त ?’ भनि प्रश्न समेत गरेका छन् । 



  • प्रकाशित मिति : असोज २६, २०७८ मंगलबार २१:५५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया