साफ च्याम्पियनसिप : बंगलादेशविरुद्ध मैदान उत्रिदा नेपालको लक्ष्य फाइनल

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज हुने समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ ।

खेल मालेस्थित राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार दिउँसो पौने ५ बजे सुरु हुनेछ । बंगलादेशविरुद्ध मैदान उत्रिदा नेपाल पहिलोपटक साफ फाइनल पुग्ने लक्ष्यमा हुनेछ । 

बंगलादेशविरुद्ध बराबरी वा जितको नतिजाले नेपाल पहिलो पटक साफको फाइनल पुग्नेछ । साफमा सेमिफाइनलसम्मको यात्रा नेपालको ठूलो उपलब्धि हो ।

राउण्ड रोबिन लिगको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । नेपाल ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ । 

बंगलादेशविरुद्ध नेपाललाई जित निकाल्न त्यति सहज भने हुने छैन । तर, नेपाल  जितको योजनासहित मैदान उत्रनेछ ।

बंगलादेशलाई फाइनल पुग्न नेपाललाई हराउनै पर्ने दबाब छ । बंगलादेश ३ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा छ । 



बुधबार नै भारतले माल्दिभ्सको समना गर्नेछ । दुबै टिम जित निकाल्दै फाइनल पुग्न चाहन्छन् ।

फाइनलका लागि माल्दिभ्सलाई बराबरी नै पर्याप्त बन्नेछ तर भारतलाई जितको विकल्प छैन । पाँच राष्ट्र सहभागी प्रतियोगिताबाट श्रीलंका भने बाहिरिसकेको छ । 



यी दुईले २२ खेलमा एक अर्काको सामना गरेका छन् जसमा बंगलादेश १३ खेलमा र नेपाल ७ खेलमा विजयी हुँदा मात्र २ खेल बराबरीमा सकिएको छ ।

यी दुईले पहिलोपटक १९८३ मा एक अर्काको सामना गरेका थिए । मेर्डेका टुर्नामेन्ट अन्तर्गत भएको यो खेलमा बंगलादेश १–० ले विजयी भएको थियो ।

थ्री नेशन्स कप अन्तर्गत यसै वर्ष भएको पछिल्लो भेटमा भने नेपाल २–१ ले विजयी भएको थियो ।  


 

  • प्रकाशित मिति : असोज २७, २०७८ बुधबार ७:१४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया