धुवाँ, जिन्दगी र चङ्गा
फरकधार / २७ असोज, २०७८

उडिरहेको चङ्गाको लयसँग मान्छेको मनलाई तुलना गर्दा उस्तैउस्तै लाग्छ मलाई । मन हरदम चञ्चल रहन्छ, तर चङ्गाको चञ्चलता हेर्न निश्चित समय आउनुपर्छ । मनको कुनै मूल्य छैन, चङ्गा मूल्यको परिधिमा कैद छ । म १० वर्षको छँदा एउटा रोज्जा चङ्गाको मूल्य ५० पैसा थियो । पाउन त एक–दुई रुपैयाँका चङ्गा पनि बजारमा पाइन्थे, तर ती निकै कम चल्थे । 



१०, १५ र २५ पैसाका चङ्गा बढी चल्थे । मेरो उमेरका बालकको खल्तीमा ५० पैसा हुनु त्यसबखत कठिन नै थियो । एउटा निश्चित समय पार गरेपछि भने त्यति पैसा मेरो खल्तीमा हुन्थ्यो । विद्यालयमा खाजा खान दिएको पैसा जोगाएर राख्थेँ र चङ्गा किन्थेँ म । 

अर्को एउटा निश्चित समय भनेको दसैँ थियो । हरेक साल हिन्दु धर्मावलम्बीका घरमा त्यो पर्व आरम्भ हुन्छ र सकिन्छ पनिनियमित ढङ्गमा । क्यालेन्डर पल्टँदै जान्छ र मध्यपृष्ठतिर सधैं दसैंले स्थान सुरक्षित गर्छ । निश्चित छ यसको आगमन, तर स्वरूप भने अनिश्चित छ । परिवर्तित स्वरूपको साक्षी बस्दै आएको मलाई केही दशकअघिका केही दसैँ सम्झेर ‘नोस्टाल्जिक’ बन्न पाउँदा मन उही चङ्गाजस्तै हुन्छ । तिनै नोस्टाल्जियाहरुका समीप रहेर दसैँ मनाउँदै आएको छु म केही वर्षदेखि । 

बाल्यकालमा मलाई दसैं तीन कारणले रमाइलो लाग्थ्यो । पहिलो, चङ्गा उडाउन पाइने । दोस्रो, नयाँ लुगा लाउन पाइने र अर्को कारण, मामाघरमा टीका लगाएर दक्षिणा पाइने । २०३०–३२ सालमा मामाघरमा टीका लगाउँदा ८–१० रुपैयाँ जम्मा हुन्थ्यो । ५–७ ठाउँमा टीका लगाउँदा त्यति पैसा हात पथ्र्यो । हामी सकेसम्म बढी घरमा टीका लगाउन पुग्थ्यौं । कोजाग्रत पूर्णिमाका दिनसम्म पनि टीका थाप्न हिँडिन्थ्यो । त्यो पैसा मलाई निकै धेरै लाग्थ्यो । 



मासुमा मलाई त्यसबेला कुनै रुचि थिएन । त्यतिखेरसम्म त म शाकाहारी थिएँ । कोटेश्वर र वरपरका काँठका अधिकांशः वासिन्दाका घरमा मासु दसैंमा मात्र पाक्थ्यो । अहिलेजसरी जहाँतहीँ मासु किन्न पनि पाइँदैनथ्यो । दसैंबाहेकको समयमा घरमा मासु खान मनलाग्यो भने किन्नका निम्ति कि त सुन्धारा, धरहरा पुग्नुपथ्र्यो कि भने मङ्गलबजार ललितपुरतिर । 

एक पटक सुन्धारमा किनेको एक किलो मासु पाक्न घण्टौं लागेको घटना अहिले पनि ताजै लाग्छ । खसी भनेर बूढी बाख्री बेच्न मासु व्यापारीले उहीबेला जानिसकेका रहेछन् । त्यसपछि भने हामी मासु किन्न सुन्धारा जान छाड्यौँ । केही समयपछि नयाँ बानेश्वर र सिनामङ्गलमा पनि पाइन थाल्यो ।

दसैंको अवधिभरि घरहरुबाट निस्कने मासुका विभिन्न प्रकारका गन्ध मलाई मन पर्दैनथ्यो । त्यो गन्धले टाउको दुख्थ्यो । अझ दसैंका निम्ति भनेर धेरै दिनअघिदेखि नै घरमा ल्याएर पालिएका खसीको आवाज दर्दनाक लाग्थ्यो । जतिजति दसैँ नजिक आउँथ्यो, त्यो चार खुट्टे जीवको आवाज थप नमिठो र हृदयविदारक लाग्थ्यो । त्यसले जीवनको भिख मागिरहेको जस्तो लाग्थ्यो मलाई । 

यस्तो मनोदशाले मलाई कैयाँैं दिन निदाउन दिँदैनथ्यो । दसैंको सबैभन्दा मन नपर्ने पक्ष नै यही लाग्थ्यो मलाई । धेरै दिनसम्म लगातार मासु खानाले मान्छेहरु विरामी परेको पनि देखिन्थ्यो । मासु खानेबाहेक दसैंका हरेक क्रियाकलाप मलाई मनपर्थ्यो। 

चङ्गा उडाउनु दसैंको सबैभन्दा मनमोहक मनोरञ्जन थियो, तासजुवा नखेल्नेका निम्ति त्यसबेला । फनफनी घुम्दै आकाशमा परपर पुग्ने चङ्गा हेरिरहन मलाई औधि मनपथ्र्यो । चङ्गा लडाउन भने उतिसारो मन पर्दैनथ्यो । किनकि, मलाई आफ्नो चङ्गा चेट भएकोमा निकै दुःख लाग्थ्यो । ठूलै कुरा गुमेको महसुस हुन्थ्यो, आफ्नो चङ्गा चेट हुँदा । एउटा चङ्गा चेट हुँदा धागोसमेत गुमाउनु पथ्र्यो । फेरि धागो र चङ्गा किन्न कुनै कुनै वर्ष त अर्को दसैं नै कुर्नु पथ्र्यो । त्यसकारण पनि चङ्गा लडाउने रुचि थिएन । 

मसँग चङ्गा लडाउन कोही प्रतिस्पर्धी आइलाग्यो भने म आफ्नो लट्टाइँ हतारहतार आफूतिर घुमाउँदै सुरक्षित पार्थें, कि त चङ्गा बसालिदिन्थेँ भुइँ वा धानखेतमा । त्यसपछि त्यो प्रतिस्पर्धी आफ्नो चङ्गालाई अन्तै मोड्थ्यो । जोरी खोज्दै जान्थ्यो अर्को चङ्गासँग । अर्काको चङ्गा चेट गर्न पाउनुलाई ठूलै जित मानिन्थ्यो । युद्ध जितेजसरी कराउँथे चङ्गाबाजहरू । हार्नेचाहिँ उँधोमुन्टो लगाएर चेट भएको आफ्नो चङ्गा हेरिरहन्थ्यो । ठूलै कुरा गुमेको अनुभूतिमा ऊ निराश बन्थ्यो । 

चेट भएको चङ्गाले कहाँ गएर विश्राम गर्छ थाहा हुँदैनथ्यो । चेट भइसकेपछि त्यो आकाशमै केहीबेर गति र लय गुमाउँदै लहराइरहन्थ्यो । र, दूर कतै अदृश्य स्थानमा पुगेर विश्राम लिन्थ्यो, चुरोटको धुवाँजस्तै । अथवा मान्छेको जिन्दगीजस्तै । चेट भएको चङ्गा र मरेको मान्छे मलाई उस्तैउस्तै लाग्छ ।

विश्रामको पत्तो नै नहुने ! न त खोजी गर्न मिल्ने न त खोजेर नै पाइने ! ‘धुवाँ’, ‘जिन्दगी’ र ‘चङ्गा चेट’ को लयात्मक साइनो खोज्न मन लाग्छ ! सायद यिनै र यस्तै मनोभावका कारण चङ्गा लडाउनुमा मलाई कहिल्यै उत्साह पलाएन । 

काठको लट्टाइँमा टन्न भरिएको धागोबाट देशी कागजले बनेको झिल्के चङ्गा उडाउने मेरो रहर निकै पछिमात्र पूरा भयो । त्यसअघि गोल्टिन (टिन) को बट्टामा धागो बेरेर लट्टाइँ बनाइन्थ्यो । चङ्गा पनि पुच्छर हालिएको हुन्थ्यो । धानका हरिया पातका पुच्छर आकाशमा उड्ने चङ्गाको सन्तुलनको आधार बन्थ्यो ।

अग्रजहरुले पुच्छरबिनाका ठूला आकारका चङ्गा काठका लट्टाइँबाट उडाएको देख्दा आफूले कहिले त्यसो गर्न पाउने होला भन्ने लाग्थ्यो । चाँडै नै ठूलो मान्छे हुने रहर पलाउँथ्यो । तिनका छेउमा बसेर कहिलेकाहीँ लट्टाइँ छुन पाउँदा पनि ठूलै आनन्द आउँथ्यो । कहिलेकाहीँ तिनका हात थाक्थे सायद, मलाई एकैछिन उडाउन दिन्थे । म पुलकित हुन्थेँ र कुनै दिन आफू पनि त्यसरी नै चङ्गा उडाउने सोच्थेँ ।

पहिलापहिला सादा चङ्गामात्र पाइन्थ्यो साना बजारमा । तर अलि ठूला बजारमा भारतीय सीमाक्षेत्रबाट नेपालभित्रने चङ्गाभने बहुरङ्गी हुन्थे । ठूला सहरबजारमा भारतबाट ल्याइएका विभिन्न आकार–प्रकारका चङ्गा मनमोहक ढङ्गमा सजाएर राखिएका देखिन्थे । त्यस्ता चङ्गामा पुच्छर पनि हाल्नु पर्दैनथ्यो । नयाँ बानेश्वरमा तराईतिरका एक जना व्यापारीको पसल थियो ।

उनलाई पर्वे व्यापारी भन्दा हुन्थ्यो । दसैंमा चङ्गा–लट्टाइँ, तिहारमा आतिसबाजी तथा रङ्गीविरङ्गी फूल, फागुपूर्णिमामा पिच्कारी, बेलुन तथा रङको व्यापार गर्थे उनी । जनै पूर्णिमा र रक्षा बन्धनमा पनि उनको पसल भरिभराउ हुन्थ्यो । केही समयपछि उनी विवाह समारोहका गाडी तथा मञ्च सजावटको काम गर्न थाले । 

म ८ कक्षामा पढ्थेँ त्यो बेला । त्यही बेला मैले अङ्ग्रेजीमा ‘लभ’ लेखेको चङ्गा पहिलो पटक उही नयाँ बानेश्वरको पसलबाट किनेर ल्याएको थिएँ । त्यसअघिसम्म कोटेश्वरमा कसैले लभ लेखेको चङ्गा उडाएको मैले देखेको थिइनँ । सुरुमा त कसैले देख्लान् कि भनेर लाज पनि लाग्यो । 

त्यस बेलासम्म ‘लभ’ उच्चारण गर्नु वा कतै त्यो शब्द लेख्नु समाजविरोधी कार्यजस्तो थियो। त्यसमाथि साना उमेरका बालबालिकाका मुखबाट उक्त शब्द निस्कनु नै अचम्मलाग्दो हुन्थ्यो । त्यसैले यस्सो कोल्टे पारेर छोपेर घरसम्म ल्याएर त्यसलाई मैले आकाशमा उडाएको थिएँ । तर त्यो चङ्गा मेरो अधीनमा लामो समयसम्म रहेन ।

मेरो हातबाट यति चाँडो त्यो गुम्यो कि त्यसपछि मैले धेरै दिनसम्म चङ्गा नै उडाइनँ । मेरो इच्छाविपरीत त्यो चङ्गासँग कोही अपरिचित चङ्गाबाजले प्रतिस्पर्धा गरिदियो । मेरो धागोमाथि उसको धागो नारिदियो । अब परेन फसाद् ! 

म नचाहेरै पनि आफ्नो चङ्गालाई त्यो विरोधी चङ्गासँग लडाउन थालेँ । केहीबेरसम्म त मेरो चङ्गाले प्रतिस्पर्धा गर्‍यो । विरोधी चङ्गा निकै ठूलो थियो । अन्ततः मेरो चङ्गाले हा¥यो । मेरो मनले हार्‍यो, म स्वयम् नै हारेँ । त्यो चङ्गासँग मेरो गम्भीर प्रेम थियो । 

सानैदेखि भावुक र लजालु स्वभावको मान्छे म, त्यो चङ्गाको मेरो लट्टाइँबाट सम्बन्धविच्छेद हुँदा कुनै प्रिय मान्छेसँग अलग्गिनु परेको अनुभूति भएको थियो । मलाई अधिक माया गर्ने मान्छेसँग छुट्टिनु परेको जस्तो महसुस भएको थियो । मेरो चङ्गा चेट भयो । चेट हुँदा आकाशमा त्यो धेरै बेर लहराइरह्यो । सुरुमा मैले लभको ‘एल’ देख्न छाडेँ । त्यसपछि पुरै चङ्गा अनन्तमा बिलाएजस्तो लाग्यो । कहाँ गएर त्यसले विश्राम लियो मलाई थाहा भएन । त्यसलाई खोज्न जाने कुरा पनि भएन !

मलाई बाल्यकालमा तासजुवा खेल्न आउँदैनथ्यो । मेरो छिमलका अन्य कतिपय साथी भने तास, ओखर, पायाँ, लङ्गुरबुर्जा खेल्थे । जुवा खेल्न मलाई डर लाग्थ्यो, अरुले खेलेको हेर्न भने खुब मन लाग्थ्यो । त्यही डरका कारण जुवा खेल्न पनि आउँदैनथ्यो, सिक्ने प्रयास भने गर्थें । लङ्गुरबुर्जाचाहिँ खेल्न आउँथ्यो । तर त्यो पनि ५–६ कक्षामा पुगेपछि मात्रै खेलेको हुँ मैले । 

३–४ कक्षामा पढ्दासम्म एक महिनाको खाजा खर्च एक रुपैयाँ पाउँथेँ मैले । नीलो रङ्गको एक रुपैयाँको त्यो कटकटे नोट हातमा पर्दा मेरो मुटु फुलेर आउँथ्यो । केही दिन त संसारको सबैभन्दा धेरै पैसा भएको मान्छे म नै हुँजस्तो लाग्थ्यो । समकालीन साथीहरूमा सबैभन्दा धनी मान्छे आफूलाई सोच्थेँ । खाजा खर्च जोगाएर धेरै दिनसम्म राख्थेँ । त्यो नोट साट्नु पर्दा नमज्जा लाग्थ्यो ।  

विद्यालयमा शुक्रबार आधा विदा हुन्थ्यो । त्यसैले २० दिनजतिमात्रै विद्यालयमा खाजा खानुपथ्र्यो । दिनको ५ पैसाका दरले घरबाट महिनाको एक रुपैयाँ दिने गरिन्थ्यो मलाई । ५ पैसामा एक ठूलो मुठ्ठी भुटेको चना वा केराउ अथवा बकुला पाइन्थ्यो । म विद्यालयमा प्रायः खाजा त्यही गेडागुडी खान्थेँ । प्रायः दसैंमा विद्यालय एक महिना विदा हुन्थ्यो । र, दसैंले आफू सबैका घरआँगनमा आउन लागेको जानकारी पनि एक महिनाअघि नै दिन्थ्यो । म दसैं जतिजति नजिक आउँथ्यो उतिउति फुर्कन थाल्थेँ । फुर्कनुको प्रमुख कारण उही ३ वटा नै हुन्थे । 

त्रिभुवन विमानस्थलसँगै जोडिएको दक्षिण–पश्चिम कुनाको कोटेश्वर सुञ्चोटारको डाँडो कुनै बेला चङ्गा उडाउनका निम्ति सबैभन्दा उपयुक्त स्थान थियो । तत्कालीन एमाओवादीले आफ्नो केन्द्रीय कार्यालय त्यहाँ राखिदिएपछि हाल त्यो डाँडो ‘पेरिस डाँडा’का नाममा चर्चित छ । पहिलापहिला चङ्गा उडाउन र उडाएको हेर्न त्यहाँ बालक र किशोरहरुको बाक्लो जमघट हुन्थ्यो । 

त्यो अग्लो स्थानमा मध्याह्नदेखि नै हावा चल्न थाल्थ्यो, त्यसैले चङ्गा उडाउन उपयुक्त थलो थियो त्यो । विशेषगरी चङ्गा लडाउनेहरुको त्यहाँ ताँती लाग्थ्यो । ललितपुरको मङ्गलबजार तथा नयाँ सडक, टुँडिखेल आसपासका क्षेत्रबाट चेट भएर आउने चङ्गाहरु प्रायः त्यही डाँडो अथवा उत्तरतर्फको वाग्मती फाँटमा आएर विश्राम लिन्थे । कुनैकुनै त विमानस्थलको बीच भागमै हवाइजहाज ल्यान्ड गरेजसरी उत्रन्थे । 

धेरै माथिबाट आएका चङ्गा पूर्वतिरको मनोहरा फाँटसम्म पनि पुग्थे । कुनै भने वाग्मती फाँटमै अड्कन्थे । खेतमा धानका बाला लहराइरहेका हुन्थे । बालक तथा किशोरहरु धान माड्दै चङ्गा छोप्न मनोहरा र वाग्मतीका खेतमा हामफाल्थे । धानखेतका मालिकहरु तिनलाई बेस्सरी गाली गर्थे । त्यो गाली पनि किशोरहरुलाई सुमधुर लाग्थ्यो सायद, गाली सुनिरहन्थे उनीहरु र धानखेतमा कुदी पनि रहन्थे । दसैंमा प्राप्त हुने कति प्राकृतिक र निश्छल मनोरञ्जन थियो त्यो ! अहिले सम्झँदा भन्न मन लाग्छ– ‘कठै कहाँ गए ती दिनहरु ?’ 

चङ्गा उडाउन छाडेको धेरै वर्षसम्म म सपनामा चङ्गा लडाएको देख्थेँ । तर, सधैं म हार्थें । सपना दोहोरिँदैन भनिन्छ, तर म चङ्गा उडाएको सपना कहिलेकाहीँ त अचेल पनि देख्छु । यद्यपि, सपनाका चङ्गाहरु फरकफरक हुन्छन् । उडाउने ठाउँ पनि फरक नै हुन्छ । तर, मलाई सपनामा चेट भएको आफ्नो चङ्गाको माया पनि उत्तिकै लाग्छ । बिउँझँदा मन नरमाइलो र एकतमासको भइरहेको हुन्छ ।   

दसैंको छेकोमा कहिले स्कुल छुट्टी होला र घर पुगेर चङ्गा उडाउन पाइएला भन्ने हतारो हुन्थ्यो । लट्टाइँले हरेक वर्ष मेरो दुवै हातका बूढी औंला र चोरी औंलाबीचको कापोमा घाउ बनाउँथ्यो । तर पनि म चङ्गा उडाउन छाड्दैनथेँ । घाउ भएको ठाउँमा कपडाले बेरेर पनि चङ्गा उडाउँथेँ । चङ्गा मेरो सर्वप्रिय मनोरञ्जन थियो । 

अहिले यो महानगरमा दसैंले आफू आउन लागेको कुनै जानकारी दिँदैन । लुसुक्क आउँछ र कुनै हल्लाखल्ला नगरिकनै विदा भएर जान्छ । एउटा परचक्रीजस्तो भएको छ अचेल दसैं । दसैंमा अचेल यहाँका किशोरहरु चङ्गा उडाउँदैनन् । ओखर, पायाँ, लङ्गुरबुर्जा खेल्दैनन् । नौरथा लागेपछि बिहानै उठेर हल्ला गर्दै पशुपति मन्दिर पनि जाँदैनन् । र, मामाघरमा टीका लगाएबापत् पाइने पैसाको यिनलाई कुनै मूल्य र महत्व पनि छैन । हुनेखानेलाई सधैं दसैं छ । नयाँ लुगा किन्न दसैं कुर्नु पर्दैन । मासु खान दसैं आउनु पर्दैन । 

किन आउँछ यो अलिनो दसैं आफ्नो अस्तित्व गुमाउँदै ? गुम्दै गएको ‘अस्तित्व’ पुनस्र्थापनाका निम्ति कतै यसले आफ्नो स्वरूपमै परिवर्तन नै पो गर्नु पर्ने हो कि !

(‘कोटेश्वरको केटो’ संस्मरणबाट)

  • प्रकाशित मिति : असोज २७, २०७८ बुधबार ९:१७:२६,   अन्तिम अपडेट : असोज २७, २०७८ बुधबार १०:८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया