थारु समुदाय जो फरक तरिकाले दशैं मनाउँछ

यतिबेला दशैंको रौनक चलिरहेको छ । कामको व्यस्ततामा रहेकाहरू पनि फुर्सद निकालेर आफ्नो गाउँघरमा दशैं मनाउन पुगिसकेका छन् । नेपालीहरूको महान पर्वका रूपमा मानिने दसैंलाई विभिन्न समूदायले फरक–फरक तरिकाले मनाउने गर्छन् । 

त्यो मध्येको एक हो पश्चिम तराईको थारु समुदाय । थारु समुदायले दशैंलाई अन्यको भन्दा भिन्नै तरिकाले मनाउँछन् । थारु समुदायमा घटस्थापनाको दिन चन्द्रमा (द्वितीया) हेरेर मात्र दशैं सुरू हुन्छ । तर, उनीहरूले जमरा भने द्वितीया हेरेको बिहान अर्थात द्वितीयाको दिन राख्ने गर्छन । घटस्थापनाको दोस्रो दिन विधिपूर्वक जमरा राख्ने प्रचलन थारु समुदायमा रहेको कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका भल्मन्सा सरोज चौधरीले बताए । 

‘हाम्रा पुर्खाहरु द्वितीया हेरेको दोस्रो दिन जमरा राख्थे, त्यहि अनुसार हामीले पनि घटस्थापनाको दोस्रो दिन मात्र जमरा राख्छौं । पूर्खाले सिकाएको परम्परालाई नै निरन्तरता दिइरहेका छौं ।’ भल्मन्सा चौधरीले भने । 

बिहान या साँझ स्नान गरी डेहुरार (देउताको कोठ) मा जमरा राखिन्छ । यस अघिका वर्षमा धुमधामसँग चाडपर्व मनाइन्थ्यो, तर यो वर्ष कोरोनाको जोखिम रहेकोले परिस्थिति हेरेर दशैं मनाउने भल्मन्सा चौधरीले बताए । 

‘दशैंमा टीकाको दिन भल्मन्साको घरमा गाउँभरिकै व्यक्तिहरु मिलेर सामुहिक रुपमा टिका लगाउने चलन छ,’ भल्मन्सा सरोजले भने, ‘यो वर्ष कोरोना संक्रमणको त्रास छ । प्रशासनले जारी गरेको स्वास्थ्य सुरक्षा अपनाइ टिका लगाउने र दशैं मनाउने कार्यक्रम तय गर्छौं ।’ कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सचेत भएर दशैं मनाउन भल्मन्साले आग्रह गरे । 



थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरी पनि प्रायः थारु समुदाय द्वितीया हेरेको दोस्रो दिन जमरा राख्ने गरेको बताए । उनले आफ्नो घरमा पनि दुतिया हेरेको बिहान जमरा राखेको बताए ।  

थारु समुदायले अष्‍टमीमा आफ्नो देउतालाई ढिक्री (पिठोबाट बनेको परिकार) ले पुज्ने गर्दछन् । यसअघि फूलपातीको दिन ढिकरहुवा तयारीका लागि पैनस्टोपी (ढिक्री बनाउन प्रयोग हुने सामग्री) धुने चलन रहेको थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य तथा थारु बुद्धिजीवी प्रभातकुमार चौधरीले बताए । 



थारु समुदायमा ढिकरहुवालाई दशैंको महत्वपूर्ण दिनका रुपमा लिन्छन् । त्यो लिन नयाँ धानको चामलबाट बनाइको ढिकरीलाई प्रसादका रुपमा दुर्गाहरूलाई चढाइन्छ । ढिकरी चढाएर पूजा पाठ गर्ने दिनलाई भव्यतापूर्वक ढिकरहुवाका रुपमा मनाउने प्रचलन रहेको चौधरीले बताए ।  

ढिकरहुवाका दिन कुनै पनि घरको घरमुली तथा कुल देउताको पूजा गरिन्छ । त्यो दिन पूजा गर्ने व्यक्ति दिनभर निराहार ब्रत बस्नुपर्छ । साँझ विधिपूर्वक पूजापाठ गरेपछि मात्र प्रसादको रूपमा ढिकरी र अन्य परिकार खानुपर्ने प्रभातकुमारले बताए ।  यो दिन पूजा गर्ने व्यत्तिले नै ढिकरी पनि बनाउनुपर्छ । विहानै उठेर स्नान गरेपछि लाठिक, बोझा, पौवा गुरुेरूवालगायत विभिन्न परिकारका ढिकरी बनाउने गर्छन् ।  

पूजा गर्ने व्यक्तिले बनबाट बेलको डाँठ, कुश, भेल पटिया जस्ता सामान ल्याउँछन । साँझ परेपछि त्यही बेलको डाँठको काँडामा ढिक्री गाँसेर विधिपूर्वक कुल देवताको पूजा गर्ने संस्कार रहेको थारु बुद्धिजीवी दिलबहादुर चौधरीले बताए । 

थारू समुदायमा ढिकरहुवापछि अर्थात् महानवमीको दिन पिट्रहुवा हुन्छ । पिट्रहुवाको दिन थारु समुदायले पिट्टर अस्राउने (सेलाउने) गर्दछन् । थारु समुदायमा पिट्रहुवाको दिन बिहानै आ–आफ्नो परम्परा अनुसार बली दिने गरिन्छ । बली दिनका लागि अष्टमीको दिन भुरु (कुपिण्डो) को भेरुवा (भेडा) बनाइन्छ । उनीहरूले भुरुको भेडा बनाएर बली दिइन्छ । कुखुराको पनि बली दिने प्रचलन छ ।  

यस्तै, दशैंको टीकाको दिन थारु समुदायले गुरू बा को घर गएर टिका लगाउँछन् । गुरू बा को घरमा जम्मा भएर गुरू बा लाई टिका लगाउने गर्दछन् । त्यो दिन नै गुरूबालाई निरन्तरता दिने वा परिवर्तन गर्ने भन्ने निर्णय पनि गर्छन् । 

टीकाको अर्को दिन बिहानै भल्मन्साकहाँ गएर टिका लगाउँछन् । थारु समुदायले टिका लगाउँदा सेतो टिका लगाउने प्रचलन छ । उनीहरूले त्यसका लागि चामल मात्र प्रयोग गर्छन् । 

  • प्रकाशित मिति : असोज २७, २०७८ बुधबार १७:६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया