मुगु बस दुर्घटनाको कारण टायर पङ्चर

मुगुमा बस दुर्घटनामा परेर ३२ जनाले ज्यान गुमाए । नेपालगञ्जबाट मुगु आउँदै गरेको बस मंगलबार दिउँसो छायाँनाथ रारा नगरपालिका—७ पिना गाउँको तपने खोलामा दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर १३ जना घाइते भए । घाइतेहरू मध्ये १२ जनाको नेपालगञ्जमा उपचार भइरहेको छ भने एक जनाको मुगुमै उपचार भइरहेको छ । 

उक्त बस दुर्घटनाको प्रमुख कारण टायर पङ्चर भई बस अनियन्त्रित हुनु रहेको पाइएको छ । चालक बस्ने साइडतिरको टायर पङ्चर भई बस अनियन्त्रित हुँदा तीन सय मिटर तल खसेको थियो । 

दुर्घटनास्थल पिना गाउँमा रहेको प्रहरी चौकीबाट नजिकैको मोडमा छ । दुर्घटना समयमा पिना चौकीको प्रहरी गस्ती घटनास्थल मुनि रहेको थियो । प्रहरी गस्तीले ठूलो आवाज आएको सुन्ने बित्तिकै बस भिरबाट खसेको देखेका र बसको अवस्था हेर्दा चालकतिरको टायर च्यातिएको देख्दा दुर्घटना अन्य कारण नभई टायर पङ्चर भएका कारण भएको अनुमान गरिएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराईले मोडमा बस अनियन्त्रित भई भिरबाट खसेको बताए । दुर्घटनामा परी मृत्यु र घाइते हुनेहरु दशैं बिदामा घर आएका काठमाडौं लगायतका अन्य शहरमा अध्ययन अधिकांश विद्यार्थी रहेका छन् । 

मृत्यु हुनेमा १८ पुरुष र ८ महिला र दुई नाबालक छन् भने चार जनाको सनाखत हुन बाँकी रहेको छ । २३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । बाँकीको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतकहरूको जिल्ला अस्पतालमा सनाखत भई शव परीक्षणपछि दाहसंस्कारका लागि घर परिवारको जिम्मा लगाउनेछ । घर परिवारले जिम्मा लिएपछि अन्तिम संस्कार गरिनेछ । 





  • प्रकाशित मिति : असोज २७, २०७८ बुधबार १७:२१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया