नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशसँग बराबरी खेल खेलेर नेपाल पहिलो पटक फाइनलमा प्रवेश गरेको हो । बुधबार भएको खेलमा नेपाल र बंगलादेश १-१ को बराबरी खेलेका हुन् । 

१० खेलाडीमा सिमित रहेको बंगलादेशले पहिलो हाफको नवौं मिनेटमा अग्रता लिएको थियो ।  माल्दिभ्सको मालेस्थित नेशनल फुटबल मैदानमा खेलको नवौं मिनेटमा सुमन रेजाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए ।

कप्तान जमल भुयानले उपलब्ध गराएको फ्रिकिक बललाई सुमनले हेडिङ मार्फत गोलमा परिणत गरेका थिए ।  ७९ औं मिनेटमा बंगलादेश १० खेलाडीमा सिमित बन्यो । गोलरक्षक अनिसुर रहमानले डि बक्स बाहिर आएर बल रोकेपछि रेफ्री ले उनलाई सिधै रातो कार्ड देखाएका थिए । 

८८ औं मिनेटमा अन्जन विष्टले पेनाल्टी मार्र्फत गोल गर्दै नेपाललाई बराबरीमा ल्याए ।  साद उद्दिनले पेनाल्टी क्षेत्र भित्र अन्जनलाई नै लडाएपछि रेफ्रीले नेपाललाई पेनाल्टीको अवसर प्रदान गरेका थिए । 

नेपालले अब उपाधिका लागि अक्टोबर १६ मा भारत वा माल्दिभसको सामना गर्नेछ । ४ खेलपछि नेपाल ७ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । 



नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १-० ले पराजित गरेको थियो । दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले पराजित गरेको थियो । तेस्रो खेलमा भने भारतसँग १-० ले पराजित भएको थियो ।



भारतसँग पराजित भएपछि बंगलादेशमाथि बराबरी खेल खेल्नै पर्ने दबाब नेपालमाथि थियो । बंगलादेशलाई बराबरीमा रोक्न नसकेको खण्डमा नेपालको साफ यात्रा आजबाट टुंगिने थियो । प्रतियोगिताको १३ औं संस्करणसम्म आइपुग्दा नेपाल एकपटक पनि फाइनलमा पुग्न सकेको थिएन ।  

अब आजै राति हुने भारत माल्दिभ्सबीचको विजेताले फाइनलमा नेपालसँग खेल्नेछ । 

  • प्रकाशित मिति : असोज २७, २०७८ बुधबार १८:५१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया