साफ च्याम्पियनसिपमा नेपाललाई ऐतिहासिक सफलता दिलाएका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । साफ च्याम्पियनसिपको फाइनलपछि आफुले राजीनामा दिने घोषणा गरेका हुन् ।
आज नेपाल र बंगलादेशबीच भएको खेलपछि पत्रकारहरूसँग कुरा गर्दै अल्मुताइरीले पद त्याग गर्ने घोषणा गरेका हुन् । साफ च्याम्पियनसिपपछि नेपाल नआएर सिधै कुवेत फर्किने बताएका हुन् । फाइनल खेल आफ्नो अन्तिम खेल हुने र त्यसपछि नेपाल नजाने बताए ।
‘मैले साफमा इतिहास बनाए । आज नेपालले मात्र हैन दक्षिण एसियाली क्षेत्रले नै नेपाली टोलीसँग गर्व गर्छ,’ प्रशिक्षक अल्मुताइरीले भने, ‘फाइनल खेल नेपाली राष्ट्रिय टिमसँग मेरो अन्तिम खेल हुनेछ । त्यसपछि म नेपाल फर्किन्न ।’
यसअघि पनि उनले एन्फा उपाध्यक्ष पंकज नेम्वाङसँगको विवादपछि सामाजिक सञ्जालमार्फत पद त्यागको घोषणा गरेका थिए । अल्मुताइरीले नेपाली टोली सम्हालेपछि नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।
समूह चरणको आफ्नो अन्तिम खेलमा बुधबार १० खेलाडीमा सिमित बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल पहिलोपटक साफको फाइनलमा पुगेको हो ।
अब नेपालले उपाधिका लागि अक्टोबर १६ मा भारत र माल्दिभ्स मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०७७ को चैतमा कुवेती प्रशिक्षक अल्मुताइरीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।
कोचिङ इन्सट्रक्टर बनेर नेपाल आएका अल्मुताइरीलाई राष्ट्रिय टिमको जिम्मेवारी दिइएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।