दशैंपछि तीन प्रदेशका मुख्यमन्त्री परिवर्तन हुने चर्चा

दशैं लगत्तै प्रदेश राजनीतिमा केही परिवर्तन हुने संकेत देखिएको छ । बागमती प्रदेश, प्रदेश १ र कर्णाली प्रदेशका मुख्यमन्त्री परिवर्तन हुने देखिएको हो । बागतमी र प्रदेश १ को मुख्यमन्त्री परिवर्तन हुने लगभग पक्कापक्की हो । कर्णाली प्रदेशको मुख्यमन्त्री परिवर्तन भने सत्तारूढ दल नेपाली कांग्रेसको हातमा छ । 
 

दशैंपछि कर्णाली प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुने विषयले चर्चा पनि चर्चा पाइरहेको छ । नेकपा (माओवादी केन्द्र) बाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले बैशाख ३ गते विश्वासको मत लिँदा ६ महिनापछि पदबाट राजीनामा दिने र नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउने सहमति गरेका थिए । त्यही सहमतिअनुसार नै मुख्यमन्त्री परिवर्तनको चर्चा चलेको हो । 

विश्वासको मत लिदाँ मुख्यमन्त्री शाहीले कांग्रेस नेता शाहीलाई ६ महिनापछि मुख्यमन्त्री छाड्ने र कांग्रेसलाई मुख्यमन्त्री दिने सहमति गरेका थिए । दशैंलगत्तै कर्णालीमा मुख्यमन्त्री परिवर्तन हुन सक्ने नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता एंव मुख्यमन्त्रीका आकांक्षी जीवनबहादुरले बताए । ‘मुख्यमन्त्री को हुने केन्द्रको राजनीतिमा भर पर्छ,’ उनले भने, ‘त्यो विषय कार्तिकको पाँच गते भित्र हुनु पर्ने हो । तर, प्रक्रिया पुरा गर्दा १० गते लाग्न सक्छ ।’ 

सरकार परिवर्तनका विषयमा कांग्रेस र मुख्यमन्त्री शाही नै बढी जानकार भएको माओवादी केन्द्रका कर्णाली संसदीय दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टले बताए । ‘उहाँहरूबीच के समझदारी भएको हो । मलाई जानकारी भएन्,’ उनले भने, ‘सबै प्रदेशमा भाग गर्दा कर्णालीमा पुरानै निरन्तरता पाउने सम्भावना छ ।’

मुख्यमन्त्री शाहीले आफु मुख्यमन्त्रीको विश्वासको मत लिँदा कांग्रेससँग गठबन्धन नबनेको बताए । अहिले कांग्रेससँग गठबन्धन बनेका कारणले आफु नै मुख्यमन्त्री हुने उनको दाबी छ । ‘मैले विश्वासको मत लिँदा कांग्रेससँग केन्द्रमा गठबन्धन बनेको थिएन्,’ उनले भने, ‘अहिले गठबन्धनको सरकार बनेको छ । गठबन्धन अनुसार म नै पुरा कार्यकाल खान्छु ।’

मुख्यमन्त्री शाही र कांग्रेस संसदीय दलका नेता शाहीबीच भएको सहमति अनुसार दशैंपछि सरकार परिवर्तन हुनसक्छ । तर, त्यसका लागि केन्द्रको राजनीतिले कस्तो निर्णय गर्न सक्छ त्यसमा भर पर्छ । 



केन्द्रमा अहिले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् । देउवाको नेतृत्वमा बनेको सरकारमा माओवादी केन्द्र, नेकपा ऐकिकृत समाजवादी, जसपा र जनमोर्चा गरी पाँच दल सरकार सहभागी छ । गठबन्धन नै बनाएर सत्ता सञ्चालन गरिरहेका उनीहरूले प्रदेश सरकार परिवर्तनका विषयमा अहिले नै निर्णय गर्न सकेका छैनन् । 
 

एकिकृत समाजवादीले प्रदेश १ र बागमती प्रदेशमा आफ्नो दाबी पेश गर्दै आएको छ । अब दशैं लगत्तै प्रदेश १ र बागमती प्रदेशमा समाजवादीले मुख्यमन्त्री पाउने सम्भावना छ ।



बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मतका लागि संसद्मा प्रस्ताव पेश गरेकी छिन् । प्रस्ताव पेश गरेसँगै दशैंका लागि संसद् अधिवेशन स्थगित भएको थियो । अब कात्तिक ४ गते बस्ने संसद् बैठकले मुख्यमन्त्री शाक्यको भाग्य निर्धारण गर्नेछ । 

उनले विश्वासको मत नपाएको खण्डमा समाजवादीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नेछन् । त्यस्तै प्रदेश १ मा मुख्यमन्त्री भीम आचार्यले दशैंपछि विश्वासको मत लिदैंछन् । 
 

दशैंपछि विश्वासको मत लिन लागेका मुख्यमन्त्री आचार्यको पद पनि धरापमै छ । प्रदेश १ नेकपा एसकै राजेन्द्र राई गठबन्धनका तर्फबाट मुख्यमन्त्रीका दाबेदार हुन् । गठबन्धनले सहयोग गरेको खण्डमा राई मुख्यमन्त्री हुनेछन् । 

  • प्रकाशित मिति : असोज २८, २०७८ बिहीबार १०:१५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया