साफ च्याम्पियनसिप: २८ वर्षपछि फाइनलमा नेपाल र भारत आमनेसामने, रच्ला त नेपालले इतिहास ?

माल्दिभ्समा जारी १३औँ संस्करणको साफ च्याम्पियनसिपमा फाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ । 

अक्टोबर १ देखि सिङ्गल राउन्ड रोबिनको आधारमा सञ्चालित लिगमा भारत शीर्ष तथा नेपाल दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेका हुन् । 

प्रतियोगिताको फाइनल खेल मालेस्थित नेशनल फुटबल मैदानमा अक्टोबर १६ (शनिबार) नेपाली समय अनुसार राति पौने ९ बजे हुनेछ । 

पहिलोपटक साफ च्याम्पियनसिपको फाइनल खेल्न लागेको नेपाल ऐतिहासिक सफलता हात पार्ने दाउमा छ ।  

नेपाललाई साफको सर्वाधिक सफल टोली भारतविरुद्ध जित निकाल्न त्यति सहज भने हुनेछैन । 



भारत जारी प्रतियोगितामा अपराजित रहँदै फाइनल पुग्दा नेपालले एक मात्र पराजय उही भारतसँग व्यहोरेको थियो ।  

फाइनलमा भारतसँग भिड्दा नेपाल पक्कै पनि केही दबाबमा हुनेछ । यी दुईले २८ वर्षपछि कुनै पनि प्रतियोगिताको फाइनलमा एक अर्काको सामना गर्दैछन् । 



नेपाल र भारतले पछिल्लोपटक सन् १९९३ मा बंगलादेशमा भएको छैटौं दक्षिण एसियाली महासंघिय खेलकुद (साफ, हालको सागमा) स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए । जसमा नेपाल टाइब्रेकरमा ४–३ ले विजयी भएको थियो । २–२ को बराबरीपछि टाइब्रेकरमा नेपालले बाजी मारेको थियो । 

त्यसयता नेपाली राष्ट्रिय सिनियर टोलीले दक्षिण एसियाली क्षेत्रीय स्तरको प्रतियोगिता जितेको छैन । सागमा पहिला सिनियर टोलीकै सहभागिता हुन्थ्यो तर नवौं साग देखि भने यू २३ टोलीले खेल्दै आएका छन् । 

इतिहास हेर्ने हो भने पनि नेपालमाथि भारत हाबी बन्दै आएको छ । यी दुई टोलीबीच हालसम्म २२ खेलमा प्रतिस्पर्धा हुँदा भारतले १५ र नेपालले मात्र २ खेल आफ्नो पक्षमा पारेको छ । ५ खेल बराबरीमा सकिएको छ ।

यी दुईले सन् १९८५ मा पहिलोपटक एक अर्काको सामना गरेका थिए । जसमा दुवै टोलीले गोल गर्न सकेनन् । 

नेपालले भारतविरुद्ध पछिल्लोपटक सन् २०१३ को साफ च्याम्पियनसिपमा २–१ को जित निकालेको थियो । त्यसयता भएका ८ खेलमा भारत ६ मा विजयी हुँदा ३ खेल बराबरीमा सकिएको छ । 

भारतविरुद्ध कमजोर देखिए पनि पछिल्ला समयको प्रदर्शनलाई आधार मान्ने हो भने नेपालले उसलाई हराउने क्षमता राख्छ । 

जारी साफको सुरुवाती २ खेलमा लय गुमाएको भारतले पछिल्ला २ खेलमा भने लय समात्यो । उ नेपालविरुद्धको फाइनलमा पनि त्यसलाई कायम राख्न चाहन्छ । 
नेपाल पनि समूह चरणमा व्यहोरेको हारको बदला लिँदै पहिलोपटक साफ च्याम्पियनसिपको उपाधि उचाल्ने प्रयासमा हुनेछ । 

यस्तो छ यी दुई टोलीको साफमा हालसम्मको प्रदर्शन:  

पहिलो संस्करण १९९३

साफ च्याम्पियनसिपको सुरुवात सन् १९९३ मा पाकिस्तानबाट भएको हो । 

पाकिस्तानको लाहोरमा भएको साफको पहिलो संस्करणमा पाकिस्तान, नेपाल, भारत र श्रीलङ्काको सहभागिता थियो । 

सिङ्गल राउन्ड रोबिनको आधारमा सञ्चालित प्रतियोगितामा भारतले ३ खेलमा २ जित र १ बराबरीको नतिजा सहित ७ अङ्क जोड्दै उपाधि उचाल्यो ।
२ बराबरी खेलेको नेपाल २ अङ्कका साथ तेस्रो स्थानमा रह्यो । 

दोस्रो संस्करण १९९५ 

श्रीलंकाको कोलम्बोमा भएको दोस्रो संस्करणमा सहभागी ५ टोलीलाई २ समूहमा विभाजन गरिएको थियो । 

समूह ‘ए’मा नेपाल, बङ्गलादेश र पाकिस्तान थिए । यो समूहबाट बङ्गलादेश विजेता तथा नेपाल उप विजेताका रुपमा सेमिफाइनल प्रवेश गरे । 

तीनवटै टोलीको समान अङ्क भए पनि गोल अन्तरमा अगाडी रहँदै बङ्गलादेश र नेपाल अघि बढेका थिए । 

अर्को समूहमा भारत र श्रीलंका मात्र भएकाले दुवै टोलीले सेमिफाइनलमा स्थान बनाए । यी दुईको खेल २–२ को बराबरीमा सकिएकाले श्रीलङ्कालाई विजेता तथा भारतलाई उप विजेता घोषणा गरियो । 

सेमिफाइनलमा नेपाल आयोजक श्रीलङ्कासँग पराजित भयो भने भारतले बङ्गलादेशलाई हरायो । 

फाइनलमा भारतलाई हराउँदै श्रीलंकाले साफ उपाधि घरमै राख्न सफल भयो । 

तेस्रो संस्करण १९९७

तेस्रो संस्करणको साफ आयोजना गर्ने जिम्मा नेपालले पायो । तर घरेलु टोलीको प्रदर्शन भने सम्झन लायक रहेन । 

सहभागी ६ टोलीलाई २ समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’मा नेपाल सहित पाकिस्तान र श्रीलंका थिए । 

काठमाडौँमा भएको प्रतियोगितामा नेपाल दुवै खेलमा हार बेहोर्दै समूह चरणबाटै बाहिरियो । 

यो समूहबाट श्रीलंकाले विजेता तथा पाकिस्तानले उप विजेताका रुपमा सेमिफाइनलमा स्थान बनाए । 

समूह ‘बी’मा भारत, बङ्गलादेश र माल्दिभ्स थिए । यो समूहबाट भारत विजेता तथा माल्दिभ्सले उप विजेताका रुपमा सेमिफाइनल प्रवेश गरे । 

सेमिफाइनलमा भारतले पाकिस्तान र माल्दिभ्सले श्रीलङ्कालाई पराजित गर्दै फाइनलमा स्थान बनाए । 

फाइनलमा माल्दिभ्सलाई हराउँदै भारतले दोस्रोपटक साफ च्याम्पियनसिपको उपाधि उचाल्यो । 

चौथो संस्करण १९९९

चौथो संस्करणको साफ भारतको गोवामा भएको थियो  । 

सहभागी ६ टोलीलाई २ समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’मा भारत सहित पाकिस्तान र बङ्गलादेश र समूह ‘बी’मा नेपाल श्रीलंका र माल्दिभ्स थिए । 

समूह ‘ए’बाट बङ्गलादेश र भारत तथा समूह ‘बी’ बाट माल्दिभ्स र नेपालले सेमिफाइनलमा स्थान बनाए । 

भारतले माल्दिभ्स र बङ्गलादेशले नेपाललाई पराजित गर्दै फाइनलमा स्थान बनाए । 

फाइनलमा बङ्गलादेशलाई हराउँदै भारतले तेस्रोपटक साफ च्याम्पियनसिपको उपाधि उचाल्यो । 

तेस्रो स्थानका लागि भएको खेलमा माल्दिभ्ससँग पराजित हुँदै नेपाल चौथो स्थानमा सिमित बन्यो । 

पाँचौ संस्करण २००३ 

पाँचौ संस्करणको साफ बङ्गलादेशको ढाकामा भएको थियो  । 

सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’ मा भारत, पाकिस्तान ,श्रीलंका र अफगानिस्तान थिए । 

समूह ‘बी’ मा बङ्गलादेश, नेपाल, माल्दिभ्स र भुटान थिए । 

समूह ‘ए’बाट पाकिस्तान र भारत तथा समूह ‘बी’बाट बङ्गलादेश र माल्दिभ्सले सेमिफाइनलमा स्थान बनाए । 

समूह चरणबाटै बाहिरिएको नेपालले ३ खेलमा २ हार र १ जित निकालेको थियो । 

सेमिफाइनलमा बङ्गलादेशले भारत तथा माल्दिभ्सले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा स्थान बनाए । 

फाइनलमा बङ्गलादेशले माल्दिभ्सलाई हराउँदै पहिलो र एक मात्र साफ च्याम्पियनसिपको उपाधि उचाल्यो । 

तेस्रो स्थानका लागि भएको खेलमा भारतले पाकिस्तानलाई पराजित गर्यो । भारतले फाइनल नखेलेको यो एक मात्र साफ च्याम्पियनसिप हो ।  

छैटौं संस्करण २००५ 

छैटौं संस्करणको साफ पाकिस्तानको इस्लामाबाद र कराँची भएको थियो । 

सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’मा पाकिस्तान,श्रीलंका, माल्दिभ्स र अफगानिस्तान थिए । 

समूह ‘बी’मा बङ्गलादेश, भारत, नेपाल माल्दिभ्स र भुटान थिए । 

समूह ‘ए’बाट पाकिस्तान र माल्दिभ्स तथा समूह ‘बी’बाट बङ्गलादेश र भारतले सेमिफाइनलमा स्थान बनाए । 

समूह चरणबाटै बाहिरिएको नेपालले ३ खेलमा २ हार र १ जितको नतिजा निकाल्यो । 

सेमिफाइनलमा बङ्गलादेशले पाकिस्तान तथा भारतले माल्दिभ्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाए । 

फाइनलमा बङ्गलादेशलाई पराजित गर्दै भारत चौथोपटक साफ विजेता बन्यो । 

सातौँ संस्करण २००८ 

सातौँ संस्करणको साफ माल्दिभ्सको माले र श्रीलंकाको कोलम्बोमा आयोजना भएको थियो । 

सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’मा भारत, पाकिस्तान, नेपाल र माल्दिभ्स थिए । 

समूह ‘बी’मा बङ्गलादेश, अफगानिस्तान, श्रीलंका र भुटान थिए । 
समूह ‘ए’बाट भारत र माल्दिभ्स तथा समूह ‘बी’बाट श्रीलङ्का र भुटानले सेमिफाइनलमा स्थान बनाए । 

यसपटक पनि नेपालको यात्रा समूह चरणबाट अघि बढ्न सकेन । नेपालले ३ खेलमा २ हार र १ जित निकालेको थियो ।  

सेमिफाइनलमा भारतले भुटान तथा माल्दिभ्सले श्रीलङ्कालाई पराजित गरे । 

फाइनलमा भारतलाई हराउँदै माल्दिभ्सले पहिलोपटक सफ च्याम्पियनसिपको उपाधि उचाल्यो । 

आठौँ संस्करण २००९ 

आयोजना गर्ने जिम्मा पाएको भारतले गर्न नसक्ने बताएपछि आठौँ संस्करणको साफ बङ्गलादेशको ढाकामा भएको थियो । 

सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’मा भारत, नेपाल, माल्दिभ्स र अफगानिस्तान थिए । 

समूह ‘बी’मा बङ्गलादेश,पाकिस्तान श्रीलंका र भुटान थिए । 

समूह ‘ए’बाट माल्दिभ्स र भारत तथा समूह ‘बी’बाट बङ्गलादेश र श्रीलंकाले सेमिफाइनलमा स्थान बनाए । 

नेपालको यात्रा समूह चरणमै सिमित बन्यो । उसले ३ खेलमा समान १ जित, हार र बराबरीको नतिजा निकाल्यो । 

भारतले बङ्गलादेश तथा माल्दिभ्सले श्रीलङ्कालाई पराजित गर्दै फाइनलमा स्थान बनाए । 

यसपटक बने अघिल्लो संस्करणको फाइनलमा बेहोरेको हारको बदला लिँदै  माल्दिभ्सलाई हराएर भारत पाँचौपटक साफ विजेता बन्यो । 

नवौँ संस्करण २०११ 

नवौँ संस्करणको साफ भारतको नयाँ दिल्लीमा आयोजना भएको थियो । 

सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’मा भारत, अफगानिस्तान, श्रीलंका र भुटान थिए । 

समूह ‘बी’मा बङ्गलादेश, पाकिस्तान माल्दिभ्स र नेपाल थिए । 

समूह ‘ए’बाट अफगानिस्तान र भारत तथा समूह ‘बी’बाट माल्दिभ्स र नेपालले सेमिफाइनलमा स्थान बनाए । 

समूह चरणमा नेपालले ३ खेलमा १ जित र २ बराबरीको नतिजा निकाल्यो । 

सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग पराजित हुँदा भारतले माल्दिभ्सलाई हरायो । 

फाइनलमा अफगानिस्तानलाई पराजित गर्दै भारतले छैटौं पटक साफ च्याम्पियनसिपको उपाधि उचाल्यो ।  

१०औँ संस्करण २०१३

१०औँ संस्करणको साफ आयोजना गर्ने जिम्मा नेपालले पाएको थियो ।  

सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’मा नेपाल सहित भारत, पाकिस्तान र बङ्गलादेश थिए । 

समूह ‘बी’मा अफगानिस्तान, श्रीलंका, माल्दिभ्स र भुटान थिए । 

काठमाडौँमा भएको प्रतियोगितामा समूह ‘ए’बाट नेपाल र भारत तथा समूह ‘बी’बाट माल्दिभ्स र अफगानिस्तानले सेमिफाइनलमा स्थान बनाए । 

समूह चरणमा नेपालले ३ खेलमा २ जित र १ बराबरीको नतिजा निकाल्यो । यही साफमा नेपालले भारतमाथि २–१ को जित हात पारेको थियो । त्यसयता नेपालले भारतलाई हराउन सकेको छैन ।  

सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग पराजित हुँदा भारतले माल्दिभ्सलाई हरायो । 

अघिल्लो संस्करण फाइनलमा बेहोरेको हारको बदला लिँदै भारतलाई हराएर अफगानिस्तानले पहिलोपटक साफ च्याम्पियनसिपको उपाधि उचाल्यो ।  

११ औँ संस्करण २०१५ ​

११ औँ संस्करणको साफ भारतको त्रिभुवननाथपुरममा आयोजना भएको थियो । 

सहभागी ७ टोलीलाई २ समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’मा भारत,  श्रीलंका र नेपाल थिए । 

समूह ‘बी’मा बङ्गलादेश, अफगानिस्तान, माल्दिभ्स र भुटान थिए । 

समूह‘ए’बाट भारत र श्रीलंका तथा समूह ‘बी’बाट अफगानिस्तान र माल्दिभ्सले सेमिफाइनलमा स्थान बनाए । 

समूह चरणबाट अघि बढ्न नसेकेको नेपालले दुवै खेलमा पराजय बेहोरेको थियो ।  

सेमिफाइनलमा अफगानिस्तानले श्रीलङ्का तथा भारतले माल्दिभ्सलाई हराए । 

फाइनलमा फेरी एकपटक भारत र अफगानिस्तान आमनेसामने भए जसमा बाजी मार्दै भारतले सातौँ पटक साफ च्याम्पियनसिपको उपाधि उचाल्यो । 

१२ औँ संस्करण २०१८ 

१२ औँ संस्करणको साफ बङ्गलादेशको ढाकामा आयोजना भएको थियो ।  सहभागी ७ टोलीलाई २ समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’मा बङ्गलादेश, पाकिस्तान, भुटान र नेपाल थिए । समूह ‘बी’मा भारत श्रीलंका र माल्दिभ्स थिए ।  

समूह ‘ए’बाट नेपाल र पाकिस्तान तथा समूह ‘बी’बाट भारत र माल्दिभ्सले सेमिफाइनलमा स्थान बनाए । 

सेमिफाइनलमा नेपाल माल्दिभ्ससँग पराजित हुँदा भारतले पाकिस्तानलाई हरायो । 

फाइनलमा भारतलाई पराजित गर्दै माल्दिभ्सले दोस्रोपटक साफ च्याम्पियनसिपको उपाधि उचाल्यो । 

१३ औँ संस्करण २०२१ 

माल्दिभ्सको मालेमा जारी १३ औँ संस्करणको साफ च्याम्पियनसिपमा आयोजक माल्दिभ्स सहित भारत, नेपाल, बङ्गलादेश र श्रीलङ्काको सहभागिता थियो । 

सिङ्गल राउन्ड रोबिनको आधारमा सञ्चालित प्रतियोगितामा भारत र नेपाले शीर्ष दुईमा रहँदै फाइनल खेल्ने पक्का भएको छ । 

नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनल पुग्दा भारत १२ औँ पटक फाइनल खेल्दैछ । 

यसअघिका ११ फाइनलमा भारतले ७ पटक जित र ४ पटक हारको सामना गरेका छ । 

साफ च्याम्पियनसिप १३ औँ सँस्करणसम्म आइपुग्दा भारत सन् २००३ मा मात्र फाइनलमा पुग्न सेकेको थिएन । यसअघि फाइनल पुग्न नसकेपनि नेपाल ६ पटक दोस्रो चरणको यात्रा तय गरेको छ । 

  • प्रकाशित मिति : असोज २८, २०७८ बिहीबार १३:५१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया