आइसिसी टि–२० विश्वकप : ओमानको विजयी सुरुवात, पपुवा न्युगिनी १० विकेटले पराजित

आइसिसी टि–२० पुरुष विश्वकपमा घरेलु टोली ओमानले विजयी सुरुवात गरेको छ । उसले आइतबारको खेलमा पपुवा न्युगिनीमाथि १० विकेटको शानदार जित हात पारेको हो । 

प्रतियोगिताको पहिलो चरण अन्तर्गत भएको समूह ‘बी’को खेलमा पपुवा न्युगिनीले दिएको १३० रनको लक्ष्य ओमानले १३.४ ओभरमा विना कुनै विकेट गुमाउँदै पुरा गर्यो ।

पहिलो विकेटका लागि जतिन्दर सिंह र आकिब इलियासले अविजित १३१ रनको साझेदारी गर्दै ओमानलाई सहज जित दिलाए । 

जतिन्दरले अविजित ७३ रनको योगदान दिने क्रममा ४२ बलमा ७ चौका र ४ छक्का प्रहार गरे । आकिब ४३ बलमा ५ चौका र १ छक्काको मद्दतले ५० रनमा अविजित रहे । 

यसअघि ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रनको योगफल तयार पारेको थियो ।

ओमानका लागि कप्तान असाद भालाले अर्धशतकिय पारी खेले । १४.१ ओभरमा कालिमुल्लाहले जतिन्दर सिंहबाट क्याच गराउनुअघि उनले ४३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।



बिना कुनै रन २ विकेट गुमाएको अवस्थामा भाला र कार्लेस अमिनिले तेस्रो विकेटका लाथि ८१ रनको महत्वपूर्ण साझेदारी गर्दै न्युगिनीको पारी उकासेका थिए । 

११.३ ओभरमा रन आउट हुनुअघि अमिनीले ३७ रन बनाए । सिसे बाउले १३ रन जोड्दा अन्य कुनै ब्याट्सम्यानले ​दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 



ओमानका जिसन मक्सुदले ४, बिलाल खान र कालिमुल्लाहले २–२ विकेट हात पार्दा १ विकेट रन आउटका रुपमा प्राप्त भयो । 

जितसँगै ओमानले २ अङ्क जोड्दा पपुवा न्युगिनीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । 

अब दोस्रो आफ्नो खेलमा ओमानले बङ्गलादेशको सामना गर्दा पपुवा न्युगिनीले स्कटल्याण्डसँग खेल्ने छ । 

  • प्रकाशित मिति : असोज ३१, २०७८ आइतबार १९:२५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया