महोत्तरीमा बोक्सीको आरोपमा देवरले भाउजूको हत्या गरेको खुलासा

महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर–३ डाम्ही मडईकी एक महिलाको हत्या भएको तीन दिनपछि प्रहरीले आरोपितलाई पक्राउ गरेको छ । 

४२ वर्षीया शिलादेवी झालाई बोक्सीको आरोप लगाउँदै उनका देवर संजय झाले हत्या गरेको महोत्तरी प्रहरीले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

भाउजूसँगको लेनदेन र अन्य समस्याका कारण उनले  बोक्सीको आरोप लगाई शिलादेवीको हत्या गरेको प्रहरीले पत्रकार सम्मेलनमा बतायो ।

शिलादेवीले दिएको केरा खाँदा संजयकी श्रीमती रिंकु झाको गर्भ तुहिएको र मुखबाट फिँज आउँदा अस्पतालमा उपचार गराएपनि ठीक नभएकाले उनी बोक्सी नै रहेको भन्दै  संजयले भाउजूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आर्चायले बताए । 

शिलादेवीको हत्या नगर्दा परिवार सुखसँग बस्न नसक्ने धार्मिक अन्धविश्वासको कारण देवर संजयले भाउजूको हत्या गरेको उनले जनाए । 

शिलालाई संजयले दिएको १२ लाख ३९ हजार सापटी फिर्ता नगरेकोले पनि उनको  हत्या भएको हुनुपर्ने भनाई महोत्तरी प्रहरीको छ । 



शिलादेवी घरमा सुतिरहेको अवस्थामा बिहीबार राति टाउकोमा हथौडा प्रहार गरी संजयले उनको हत्या गरेको स्वीकारे प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए । 

बिहिबार बिहान ३ बजेको समयमा शिलादेवीको टाउकोमा हथौडाले हानेर हत्या गरी संजय पुनः जनकपुर फर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी आचार्यले बताए । 



आरोपित संजय जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित सोनापाडामा बसेर मजदुरीको काम गर्दै आएका थिए । 

  • प्रकाशित मिति : असोज ३१, २०७८ आइतबार २०:२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया