अन्य समयको तुलनामा चाडपर्वमा सवारी साधन र यात्रुको चाप बढ्ने गर्दछ । विशेषगरी नेपालीहरुको ठुलो चाडको रुपमा रहेको दशैंमा राजधानीसहित सहरी क्षेत्र छाडेर आफ्नो घर जाने यात्रुको संख्या धेरै हुन्छ । ट्राफिक प्रहरीका अनुसार दशैंको बेला अन्य समयमा भन्दा धेरै सवारी दुर्घटना हुने गर्दछ ।
मकवानपुरमा यो वर्षको दशैंको फुलपातीको दिनदेखि ६ दिनको बिचमा २३ वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जानकारी दिएको छ । कार्यालयका अनुसार दुर्घटनामा परी ५ जनाको ज्यान गएको छ भने ४६ जना घाइते भएका छन् ।
ट्राफिक कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरिक्षक प्रकाश पाण्डेका अनुसार यो अवधीमा दुर्घटनामा पर्ने सवारीहरूमा सबैभन्दा बढी १२ वटा मोटरसाईकल छन् । यसैगरी सुमो/जिप र कार ४ वटा, बस र ट्याम्पो/अटो दुई/दुई वटा, ट्रक, ट्याक्टर र अन्य एक/एक गरी २३ वटा सवारी दुर्घटनामा परेका हुन् ।
जिल्लामा भएको सबैभन्दा ठूलो दुर्घटना गएको शनिबार साँझ हेटौंडा–भिमफेदी–कुलेखानी–काठमाडांै सडकखण्ड अन्तर्गत ईन्द्रसरोवर–२ लामिबगरमा भएको थियो । यात्रु लिएर काठमाडौंबाट हेटौंडा आउदै सुमो त्यहाँ दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा सुमो सडकबाट २ सय मिटर तल खस्दा २ जनाको मृत्यु र ८ जना घाइते भएका थिए ।
यसैगरि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातमाटेमा शुक्रबार राति यात्रु बाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको थियो । यसैगरी गएको बुधबार दिउँसो हेटौंडा–९ मा धान काट्ने मेसिन पल्टिदा एक जनाको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।