नेकपा एकीकृत समाजवादीकी नेतृ तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली असफल भएको टिप्पणी गरेकी छिन् । ओलीले जनताको पक्षमा काम गर्ने मौका पाएको तर त्यसमा उनी असफल भएको झाँक्रीले टिप्पणी गरेकी हुन् ।
नेपाल पत्रकार महासंघ पाल्पाले सोमबार तानसेनमा गरेको कार्यक्रममा बोल्दै झाँक्रीले ओली एक्लै हिँड्ने प्रयासमा लाग्दा नेकपा एमालेमा विद्रोह भएको र नेकपा एकीकृत समाजवादी पार्टी जन्मिएको पनि बताएकी छिन् ।
‘उहाँले सामान्य समन्वय गरेर हिँड्न खोज्नु भएन, एक्लै हिँड्ने प्रयास गर्नुभयो,’ उनले भनिन्, ‘यसले गर्दा विद्रोह जन्मियो, भत्किने प्रक्रिया सुरु भयो ।’
उनले ओली सुशासनमा नभएर कुशासनमा अगाडि बढ्न खोजेको आरोप पनि लगाएकी छिन् ।
आफूहरुले अलग पार्टी खोल्नुको कारक पनि केपी शर्मा ओली नै भएको उनले दाबी गरेकी छिन् । ‘हावादारी गफ गरेर समय खेर फालेका ओलीले पार्टीलाई पनि सही ढंगबाट चलाउनु भएन,’ उनले भनिन्, ‘उहाँले हावा गफ मात्र गर्नुभयो, जवाफदेही हुनु भएन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।