झन्डै दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी छिन्नभिन्न हुँदा केपी शर्मा ओली नेतृत्वको एमालेले प्रदेश सरकारको नेतृत्वबाट पनि अब विस्तारै आफ्नो पकड गुमाउँदै छ ।
यसअघि गण्डकी र लुम्बिनी प्रदेशमा ओली नेतृत्वको एमालेको सरकार ढलिसकेको छ ।
अब यही क्रम प्रदेश १ र बागमती प्रदेशमा पनि हुने भएको छ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले अब विश्वासको मत लिनु पर्ने भएको छ ।
एमालेको विभाजनको पूर्वसन्ध्यामा प्रदेश १ को मुख्यमन्त्री बनेका भीम आचार्यले यही साताभित्र प्रदेश सभामा विश्वासको मत लिनु पर्ने हुन्छ । ५ कार्तिकका लागि प्रदेश सभा बैठक बोलाइएकाले त्यही दिन मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने सम्भावना पनि बढेको छ ।
तर, उनले विश्वासको मत नपाउने निश्चित छ ।
किनकि ९२ सदस्यीय प्रदेशसभामा उनका लागि विश्वासको मत पाउन ४७ सांसदको मत चाहिन्छ । तर, अहिले सत्तारुढ एमालेसँग ४१ सांसद मात्र रहेका छन् ।
प्रदेश १ मा विपक्षी गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाका प्रदेश सांसदको संख्या भने ४९ रहेको छ । त्यसैले अब यही गठबन्धनबाट प्रदेश १ मा मुख्यमन्त्री बन्ने निश्चित छ । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री बन्न सक्ने सम्भावना बढी रहेको छ ।
प्रदेशमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १० र जसपाका ३ प्रदेश सांसद रहेका हुन् ।
प्रदेश १ मा राप्रपा र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मन्चका एक एक जना सांसद पनि रहेका छन् । उनीहरुले मुख्यमन्त्री भीम आचार्यलाई नै मत दिए पनि आचार्यको मुख्यमन्त्री पद जोगिने सम्भावना छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।